बाढीपहिरो र डुबानमा परी देशभर १ सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता, एकसयभन्दा बढी घाइते [अपडेट]

बाढीपहिरो र डुबानमा परी देशभर १ सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता, एकसयभन्दा बढी घाइते [अपडेट]
www.europenepalikhabar.com २०८१ असोज १३ गते आइतबार, 29-09-2024


२९ सेप्टेम्बर, काठमाडौं, युरोपनेपाली खबर —बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्‌मा परी एक सय एकजना घाइते भएका छन् ।

बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौंमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनकानुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए ।

यसैगरी बाढीपहिराले तीन सय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्यांकमा उल्लेख छ।

बागमतीमा सबैभन्दा ठूलो मा क्षति :

उपत्यकाबाहेक वाग्मतीमा १०२ जनाको मृत्यु,२२ जना बेपत्ता, ७४ जना घाइते

वाग्मती प्रदेशमा शुक्रबार र शनिबार आएको बाढीपहिरोमा परेर १०२ जनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उपत्यकाका तीन जिल्लाबाहेक पछिल्ला २ दिनमा बाढीपहिरोका कारण १०२ जनाको मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार अपरान्ह ६ बजेसम्म बाढीपहिरोका कारण सबैभन्दा धेरै धादिङमा ३९, काभ्रेमा ३८, सिन्धुपाल्चोकमा १०, मकवानपुरमा ७, दोलखामा ५, रामेछापमा १ र सिन्धुलीमा २ जनाले ज्यान गुमाएका छन् ।

बिहीबारदेखि भएको वर्षाका कारणले आएको बाढीपहिरो कारणमा प्रदेशको धादिङ, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, सिन्धुली र रामेछापमा मानवीय क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका डीएसपी जितेन्द्र बस्नेतले बताए ।

बाढीपहिरोबाट काभ्रेमा १८ जना बेपत्ता भएका छन् भने सिन्धुपाल्चोकमा २, र दोलखामा २ गरी २२ जना बेपत्ता भएका छन् । विभिन्न जिल्लामा ७४ जना घाइते भएका छन् ।

सबैभन्दा बढी काभ्रेमा ४२ जना घाइते भएका छन् भने सिन्धुपाल्चोकमा १६, धादिङमा ७, मकवानपुरमा ३, रामेछापमा २ र नुवाकोटमा एक जना घाइते भएको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण प्रदेशमा ९८ वटा भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ भने १० वटामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

मकवानपुरमा ३६, काभ्रेमा २३ र रामेछापमा २० वटा घर क्षति भएका छन् भने प्रदेशमा बाढीपहिरोले ९ वटा सवारी साधनमा क्षति पुर्‍याएको छ । प्रदेशमा बाढीपहिरोको जोखिममा रहेका २ सय ४१ परिवारलाई उद्धार गरेर स्थानान्तरण गरिएको छ ।

प्रदेशमा काभ्रे, दोलखा र मकवानपुरका गरी ८७ घर र कार्यालय उच्च जोखिममा छन् । प्रदेश प्रहरी कार्यालय हेटौडाका अनुसार प्रदेशमा बाढी पहिरोमा परेका र उच्च जोखिममा रहेको खोजी तथा उद्धारका लागि १० जिल्लामा ४ हजार १ सय ११ जना प्रहरी परिचालन गरिएको डीएसपी बस्नेतले बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित