तामाङ समाज पोर्चुगलको आयोजनामा भव्य रूपमा सम्पन्न भयो सोनाम ल्होछार

तामाङ समाज पोर्चुगलको आयोजनामा भव्य रूपमा सम्पन्न भयो सोनाम ल्होछार
www.europenepalikhabar.com २०८२ माघ १३ गते मंगलबार, 27-01-2026

युरोपनेपाली खबर ।

लिस्बन (पोर्चुगल) — तामाङ जातिको महान् पर्व सोनाम ल्होछारको अवसरमा तामाङ समाज पोर्चुगलद्वारा आयोजित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमका भव्य रूपमा सम्पन्न भएको छ ।

२५ जनवरी २०२६ आइतबार, लिस्बनमा आयोजना भएको मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार (सर्प वर्ष) भव्य रूपमा मनाइएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति भेषभुषा,भाषा र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पोर्चुगलभर छरिएर रहेका तामाङ जाति तथा गैर तामाङ नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

तामाङ समाज पोर्चुगलका अध्यक्ष कुमारसिंह बल तामाङको सभापतित्व र महासचिव मीन तामाङको संचालनमा सम्पन्न उक्त समारोहको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगर  हुनुहुन्थ्यो । कार्यक्रममा पूर्व पर्यटनदुूत रमेशकुमार गुरुङ, तामाङ समाज पोर्चुगलका निवर्तमान अध्यक्ष तथा  संरक्षक गोपाल योन्जन तथा सोनाम योन्जन, सल्लाहकारहरु सनमान गोले, दावा लामा, गुरुपेमा तामाङ प्रकाश तामाङ, अनुप ब्लोन, एनआरएनए पोर्चुगलका अध्यक्ष बमबहादुर जिसी, पूर्व आइसीसी सदस्य राजकुमार थापा तथा धना शेर्पा, आइसीसी सदस्य पासाङ शेर्पा, प्रवासी नेपाली मंच पोर्चुगलका अध्यक्ष दीपक खत्री, उज्यालो नेपाल पोर्चुगलका अध्यक्ष कुमार योन्जन, शेर्पा किदुक पोर्चुगलका अध्यक्ष राजेन्द्र शेर्पा, तमु समाज पोर्चुगलका अध्यक्ष मिलन गुरुङ मगर संघ पोर्चुगलका कावा अध्यक्ष ... मगर, नेवा: खला पोर्चुगलका अध्यक्ष अमृतरत्न शाक्य, किरात याक्थुम चुम्लुङ्ग पोर्चुगलका अध्यक्ष रुकमान केरुङ लिम्बू, लगायतका मातृसंस्थाका अध्यक्षहरु सहित पोर्चुगलस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो । उक्त कार्यक्रममा लामा गुरुहरुद्वारा पूजा गरी प्रसाद वितरण गर्नु भएको थियो ।

औपचारिक कार्यक्रममा शुभकामना मन्तव्य दिने वक्ताहरूले प्रवासमा रहेर पनि आफ्नो चाडपर्व, कलासंस्कृति र पहिचान जोगाउन समाजले खेलेको भूमिकाको प्रशंसा गर्दै आपसी सद्भाव र सामाजिक एकतामा जोड दिएका थिए ।

औपचारिक सत्र पश्चात् लिस्बनको आओ भिभु हलमा बेलुका सात बजेदेखि राति दुई बजेसम्म चलेको भव्य र विशाल साँस्कृतिक कार्यक्रममा सहभागीहरु रमाउँदै भरपुर मनोरञ्जन लिएका थिए । सो सांगीतिक कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकार र स्थानीय कलाकारहरूले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । चर्चित सेलो, मेङ्ग्दोमाया गीतहरूले हल गुञ्जायमान बन्नुका साथै कलाकारको प्रस्तुतिमा दर्शकहरू झुमेका थिए । राष्ट्रिय कलाकारहरूसँगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो । तामाङ भेषभूषामा सजिएका महिला तथा पुरुष सहभागीहरूको पहिचानले मिनी नेपालको झल्को दिएको थियो । 

तामाङ सेलो तथा नेपाली गीत संगीत क्षेत्रमा चर्चित अतिथि कलाकारहरुमा नेपालमाबाट आमन्त्रित निर्मला घिसिङ र कर्मभूमि आयरल्यान्ड बस्नुहुने अभिनाश घिसिङ साथै राम बाबु योन्जन,कुन्साङ वाईबा,पुष्पा वाइबा,रमित लामा,भरती तामाङ,बुद्ध योन्जन, राम कृष्ण तामाङ, पारश लामा,निमा शेर्पा लगायत नृत्यका लागि मुख्य भूमिकामा बन्दना लामा र टुइङकल लामा,रोश्नी स्याङतान र गणेश तामाङ रहेको थियो ।

रोजगारी र अध्ययनका सिलसिलामा पोर्चुगलमा रहेका नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले विदेशमा नेपाली मौलिक संस्कृतिको प्रवर्द्धन मात्र नगरी समुदायबीचको भाइचारालाई समेत मजबुत बनाएको सहभागीहरुले अनुभव गरेको प्रतिक्रिया दिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित