एनआरएनएको सदस्यता वितरण र नवीकरण अभियान अझै व्यापक बनाउन उपाध्यक्ष डा. शर्माको आग्रह

एनआरएनएको सदस्यता वितरण र नवीकरण अभियान अझै व्यापक बनाउन उपाध्यक्ष डा. शर्माको आग्रह
www.europenepalikhabar.com २०८२ असार १० गते मंगलबार, 24-06-2025


लुभेन, बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले आगामी अक्टोबर ११ तारिखदेखि हुने संघको अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको तयारीमा जुट्न सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघ बेल्जियमद्वारा लुभेनमा आयोजित केन्द्रीय पदाधिकारी सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले सो आह्वान गरेका हुन्। कार्यक्रममा एनआरएनए बेल्जियमका कार्यवाहक अध्यक्ष लोकेन्द्र नेपालको अध्यक्षता रहेको थियो।

कार्यक्रममा बोल्दै डा. शर्माले "एकता अधिवेशन"का नाममा फैलिएको भ्रमप्रति सचेत रहन आग्रह गर्दै राष्ट्रिय समितिका निर्वाचन तथा महाधिवेशनमा नै ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताए। उनले गत मे महिनामा गरिएको भनिएको एकता अधिवेशन कानुनी रूपमा अमान्य भइसकेको स्पष्ट पारे।

"सर्वोच्च अदालतका दुई न्यायाधीशद्वारा दिइएको परमादेशको आधारमा गरिएको सो अधिवेशनलाई सोही अदालतको तीन न्यायाधीश सम्मिलित इजलासले पुनरावलोकन गर्न आदेश दिएकाले उक्त परमादेश स्वतः निष्क्रिय भइसकेको छ," डा. शर्माले प्रष्ट पारे।

उनले एनआरएनएका संस्थापक, वर्तमान कार्यसमिति तथा विभिन्न राष्ट्रिय समितिहरू सहभागी नभएको अधिवेशनलाई नै 'एकता अधिवेशन' भनी प्रचार गर्नु न त नैतिक रूपले उचित छ, न त कानुनी रूपमा वैध रहेको तर्क गरे।

डा. शर्माले संघलाई विधि र विधानको बाटोमा अघि बढाउन ‘मेम्बर इन्फरमेशन सिस्टम’ (MIS) लागू गरिएको उल्लेख गर्दै विश्वभरका राष्ट्रिय समितिहरूमा सदस्यता वितरण यही प्रणालीमार्फत भईरहेको बताए। उनले बेल्जियममा पनि एकताबद्ध भएर MIS प्रणालीअनुसार सदस्यता वितरणमा जुट्न आग्रह गरे।

कार्यक्रममा एनआरएनए बेल्जियमकी महासचिव रुबिना शर्माको सञ्चालनमा केन्द्रीय महिला संयोजक अनुजा प्रधान, केन्द्रीय प्रवक्ता फणिन्द्र पन्त, आइसीसी सदस्य अर्जुन गुरुङलगायतलाई सम्मान गरिएको थियो।

साथै, कार्यक्रममा एनआरएन बेल्जियमका पूर्वअध्यक्ष खड्क केसी, प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष विनोद न्यौपाने, एनआरएनए अभियन्ता तथा व्यवसायी तिर्थ धमलालगायतले संघको आगामी दिशा, सदस्यता वितरण प्रक्रिया, सर्वोच्च अदालतमा चलिरहेको मुद्दा लगायतका विषयमा महत्वपूर्ण प्रश्न र सुझावहरू राखेका थिए।

यसअघि डा. शर्मा अनेसासको अन्तर्राष्ट्रिय भेला तथा राष्ट्रिय स्वतन्त्र पार्टी बेल्जियम विभागले आयोजना गरेको समर आउटिङ कार्यक्रममा पनि सहभागी भएका थिए। हाल उनी अक्टोबरमा हुने एनआरएनए अन्तर्राष्ट्रिय महाधिवेशनको तयारी सुदृढ बनाउन युरोप भ्रमणमा छन्।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित