युरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) ले बेल्जियमस्थित राष्ट्रिय समन्वय परिषद् (NCC Belgium) लाई भङ्ग गरेको छ । २०२५ जुन २८ मा सम्पन्न १०५औं बैठकको निर्णयअनुसार, विभिन्न कानुनी तथा संस्थागत कमजोरीका कारण उक्त निर्णय लिइएको हो।
एनआरएनएको विधान २००३ (२०२२ मा संशोधित) को धारा १७ उपधारा १७.७ अन्तर्गत अन्तर्राष्ट्रिय परिषद्लाई आवश्यक परेमा राष्ट्रिय समन्वय परिषद् गठन, विघटन वा मान्यता खारेज गर्न सक्ने अधिकार दिइएको छ। यसकै आधारमा NCC बेल्जियमलाई दिइएको मान्यता खारेज गरिएको पत्रमा उल्लेख गरिएको छ।
पत्रअनुसार, NCC बेल्जियमले अन्तर्राष्ट्रिय परिषद्का निर्देशनहरू पालना नगरेको पुष्टि भएको छ। यसले विधानको धारा १७.७.२ को उल्लंघन मानिएको छ। यस्तै अन्य कानुनी कमजोरीहरूमा निम्न बुँदाहरू रहेका छन्:
सदस्यता व्यवस्थापनमा लापरवाही – सदस्यताको प्रक्रिया एनआरएनएले तोकेको ‘Membership Information System’ मार्फत औपचारिक रूपमा नगरेको पाइयो।
सदस्य शुल्क संकलन र विवरण अपडेट नगरेको – प्रणालीमा सदस्यताको प्रमाणीकरण नदिएको पाइयो।
निर्धारित मापदण्ड नपुगेको – संघले तोकेको न्यूनतम मापदण्डहरू (अनुसूची ८) पूरा नगरेको देखियो ।
हेर्नुहोस् पत्र जस्ताको तस्तै :
Ref. N-427/023-25
मिति: २०८२/०३/१४
श्री सीता सापकोटा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,
बेल्जियम ईमेल belgiumnrna@gmail.com ।
विषयः मान्यता (recognize) फिर्ता लिएको बारे ।
महोदय, उपरोक्त विषयमा सम्बन्धमा गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन सहित) (“विधान”) को दफा १७ को उपदफा १७.७ मा देहायको कानूनी व्यवस्था रहेको तहाँ समक्ष अवगत नै छ: दफा १७ को उपदफा १७.७ - आवश्यकता अनुसार राष्ट्रिय समन्वय परिषद्को गठन र देहायको अवस्थामा विघटन गर्न वा मान्यता (recognize) फिर्ता गर्ने अधिकार अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई हुनेछ । १७.७.१ स्थानीय कानूनले वर्जित गरेको हद बाहेक यस संघको उदेश्य अनुरुप अगाडि वढ्न अस्वीकार गरेमा । १७.७.२ अन्तर्राष्ट्रिय समन्वय परिषद्का निर्देशनहरु पालना नगरेमा । १७.७.३ तदर्थ समिति गठन भएको बढीमा एक वर्ष भित्र राष्ट्रिय अधिवेशनको आयोजना गर्न नसकेमा । १७.७.४ अनुसूची - ८ मा दिईएको न्यूनतम मापदण्ड पुरा नगरेमा । तहाँ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, बेल्जियम (“एनसीसी बेल्जियम”)बाट अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट निम्नानुसारको कानूनी व्यवस्थाको अधिनमा रहि पटक पटक दिईएका निर्देशनहरु पालना गरेको नपाईएको हुँदा विधानको दफा १७ को उपदफा १७.७ को खण्ड १७.७.२ अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद्को सन् २०२५ जुन २८ (मिति २०८२/०३/१४) मा सम्पन्न १०५ औं बैठकको निर्णयानुसार तहाँ एनसीसी बेल्जियमलाई दिईएको मान्यता (recognize) फिर्ता लिईएको जानकारी गराउँदछौं ।
१) विधानको अनुसूची - ८ को दफा ख) मा “संघले निर्धारण गरेको मापदण्ड अनुरुप सदस्यहरुको सदस्यता विवरण जारी गर्नु पर्नेछ” भन्ने कानूनी व्यवस्था ।
२) गैरआवासीय नेपाली संघ राष्ट्रिय महाधिवेशन सञ्चालन तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धित नियमावली, २०२१ को नियम ४ को उपनियम ४.१(ग) मा “राष्ट्रिय समन्वय परिषद्ले सदस्यता खुल्ला गर्दा सदस्यता शुल्क समेत तोक्नु पर्नेछ । संघले सदस्यको अभिलेख गर्न बनाएको एकिकृत प्रणाली Membership Information System मा प्रविष्ट गर्नु पर्नेछ । संघले सदस्य शुल्क प्राप्त गरे पश्चात् मात्र प्रविष्ट गरिएको सदस्यहरुको मान्यता पञ्जिकृत सदस्यतामा कायम गरिनेछ ।” भन्ने कानूनी व्यवस्था ।
३) गैरआवासीय नेपाली संघ राष्ट्रिय महाधिवेशन सञ्चालन तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धित नियमावली, २०२१ को नियम ४ को उपनियम ४.५ मा “संघले निर्धारण गरेको Membership Information System बाट पञ्जिकृत सदस्यता वितरण गर्नु पर्नेछ । पञ्जिकृत सदस्यताका लागि आवेदन दिदा फेसियल भेरिफिकेशन दिनु पर्नेछ ।” भन्ने कानूनी व्यवस्था । अन्त्यमा, यस संघको विधानको दफा २४ को उपदफा २४.१ को निम्नानुसारको कानूनी व्यवस्थाको अधिनमा रहि एनसीसी बेल्जियमको राष्ट्रिय महाधिवेशन गर्नका लागि तपसिल अनुसार वर्तमान कार्यसमितिका निम्नलिखित पदाधिकारीहरूलाई जिम्मेवारी र अधिकार प्रदान गरिएको समेत जानकारी गराउँदछौं: विधानको दफा २४ को उपदफा २४.१ - “प्रत्येक राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशन अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना हुने वर्षको जुलाई महिनाको १ देखि ३१ तारिख सम्ममा अनिवार्य रुपमा सम्पन्न गर्नु पर्नेछ । दफा १३.७ मा उल्लेखित अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको तोकिएको विवरण अगष्ट ३१ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा पेश गर्नु पर्नेछ ।
तपसिल
संयोजक:
१. लोकेन्द्र नेपाल - उपाध्यक्ष
सदस्यहरू:
२. रुबिना शर्मा - महासचिव
३. शारदा धिताल - महिला संयोजक
४. इश्वरा शर्मा - सचिव
५. सुदिप चौधरी - युवा संयोजक
६. सुरज खरेल - लुभेन संयोजक
७. रस्मी निरौला - कार्यसमिति सदस्य
८. बिनोद शाही - कार्यसमिति सदस्य
९. सरोज आचार्य - कार्यसमिति सदस्य
१०. आशोका के.सी. दहाल - महिला कार्यसमिति सदस्य
११. जानु नेपाल - कार्यसमिति सदस्य
१२. रमेश पौडेल - कार्यसमिति सदस्य
१३. पूजा थापा - कार्यसमिति सदस्य
भवदीय,
डा बद्री केसी
अध्यक्ष गौरीराज जोशी
महासचिव
अन्तर्राष्ट्रिय समन्वय परिषद
गैरआवासीय नेपाली संघ
FOUNDER/CHIEF EDITOR :