• दीपक सापकोटा
सन् २०१५ देखि म गैरआवासीय नेपाली संघ (NRNA) पोर्तुगलअन्तर्गत विभिन्न भूमिकामा सक्रिय रहँदै आएको थिएँ। पछिल्ला दुई वर्षदेखि भने बेल्जियममा नेपाली समुदायसँग संस्थागत तथा सामाजिक समन्वयका क्षेत्रमा काम गर्दै आएको छु। पछिल्ला घटनाक्रमले NRNA केन्द्रमा देखिएको विभाजनको असर बेल्जियमस्थित नेपाली समुदायमा समेत परेको स्पष्ट देखिएको छ। केन्द्रमा भएको स्वार्थ र राजनीतिक एकताले किन सबै देश–देशमा एकता गराउन सकेन ? भन्ने प्रश्न गम्भीर बनेको छ।
विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै कर्मभूमिबाट जन्मभूमिमा आइपर्ने अप्ठ्यारोमा हातेमालो गर्ने, तथा विदेशमा आर्जित सीप, ज्ञान र पूँजी स्वदेशमा लगानी गराउने महान उद्देश्यका साथ स्थापना भएको गैरआवासीय नेपाली संघ आजको सन्दर्भमा अझै आवश्यक र सान्दर्भिक संस्था हो। यसको उद्देश्य पवित्र, दूरदर्शी र राष्ट्रहितसँग जोडिएको छ।
तर दुःखको कुरा के छ भने, यही संस्थाभित्र पछिल्लो समय राजनीतिक दल–निकट स्वार्थी व्यक्तिहरूको हस्तक्षेप अत्यधिक बढ्दै गएको छ। कार्यसमितिको नाममा दलगत स्वार्थ हाबी हुँदा संस्थाको मूल भावना ओझेलमा परेको छ। यहाँसम्म कि नेपालका ठूला राजनीतिक दलसँग निकट व्यक्तिहरूले आ–आफ्नो नाममा संघलाई विभाजन गर्दै एउटै लोगो, लेटरप्याड र झण्डा प्रयोग गरी विभिन्न देशमा समानान्तर कार्यसमिति गठन गरेका छन्।
यस विभाजनको प्रत्यक्ष असर विदेशमा रहेका लाखौँ गैरआवासीय नेपालीहरूले भोग्नुपरेको छ। हरेक देशमा नेपाली–नेपालीबीच आपसी विवाद, झगडा र कटुता बढेको छ। ‘को आधिकारिक हो’ भन्ने विवाद अदालतसम्म पुगेको छ भने कतिपय स्थानमा धम्की र चुनौतीको अवस्था पनि देखिएको छ। यसले नेपाली समुदाय मात्र होइन, बसोबास गरिरहेका देशका नागरिकलाई समेत वाक्क–दिक्क बनाउँदै नेपालीप्रति नकारात्मक धारणा निर्माण गरिरहेको छ।
यस्तो अन्योल र चिन्ताका बीच केन्द्रको एकता भएको भन्दै प्रचार गरियो। तर सतहमा देखिएको त्यो एकता वास्तविक संस्थागत एकता नभई दलगत स्वार्थमा आधारित सीमित एकता मात्र भएको तितो यथार्थ आज स्पष्ट भइसकेको छ। वास्तविक समस्या भने अझै प्रत्येक देशमा कायम रहेको विभाजन नै हो। सबै पक्ष आफूलाई मात्र आधिकारिक ठान्ने प्रवृत्तिले समस्या झन् जटिल बनाएको छ।
प्रश्न उठ्छ—यो अहंकार किन र कति दिनसम्म ? हरेक देशको विवाद समाधान गर्न सम्बन्धित राजनीतिक दलका शीर्ष नेताहरू आउनुपर्ने हो, कि हामी आफैंले आत्मसमीक्षा गर्ने साहस देखाउने हो ?
फुट्नै नहुने संस्था फुटिसकेको छ। अब ढिला नगरी मिल्नुको विकल्प छैन। र त्यो एकता कसैले बाहिरबाट आएर गराइदिने होइन—हामी आफैंले गर्ने हो। यसका लागि सबै पक्षले हठ, अहंकार र व्यक्तिगत स्वार्थ त्याग्दै आफ्नो–आफ्नो जिम्मेवारीबाट सम्मानपूर्वक अलग भई, समाजमा सबैको विश्वास जित्न सक्ने निष्पक्ष र सक्षम व्यक्तिलाई जिम्मेवारी सुम्पेर नयाँ, साझा समिति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो।
त्यसरी पुनर्संरचना नगरेसम्म कुनै पनि देशमा एक पक्षले अर्कोलाई स्वीकार्ने वातावरण बन्न सक्दैन। राजनीतिक झण्डा ओढेर बनाइएका कार्यसमितिलाई समाजले मान्यता दिनु संघको विधान र आत्माभन्दा बाहिरको विषय हो। त्यसैले अहिले जिम्मेवारीमा रहेका सबै पदाधिकारीहरूले गम्भीर आत्मसंयम र दायित्वबोध देखाउनु जरुरी छ।
“गल्ती उसले गर्यो, म मात्र पवित्र” भन्ने सोचले होइन, संवाद, सहकार्य र आपसी समझदारीबाट मात्र एकता सम्भव हुन्छ। विदेशमा हाम्रो आचरण, व्यवहार र पारस्परिक सद्भावले नै नेपाल र नेपालीको पहिचान निर्माण गर्छ। तसर्थ हामि एक हुनुको बिकल्पै छैन।
आज बेल्जियमस्थित नेपाली समुदायभित्र देखिएको विभाजन, अविश्वास र दल–निकट पहिचानका आधारमा बढ्दो ध्रुवीकरणले हाम्रो सामूहिक प्रतिष्ठा र NRNA को मूल मर्मलाई कमजोर बनाइरहेको छ। त्यसैले NRNA राजनीतिक प्रभावभन्दा माथि उठेर सबै नेपालीको साझा र निष्पक्ष संस्था बन्नु अपरिहार्य छ।
समाजलाई एकढिक्का बनाउने जिम्मेवारी हामी सबैको साझा कर्तव्य हो। “पहिले हामी नेपाली हौँ” भन्ने भावनालाई संस्थागत गर्न परिपक्व, निष्पक्ष र त्यागी नेतृत्वको खाँचो छ।
हालको परिस्थितिमा केही व्यावहारिक कदम आवश्यक देखिन्छन्—पद र स्वार्थभन्दा माथि उठेको निस्वार्थ नेतृत्व, सबैले विश्वास गर्न सक्ने निष्पक्ष अध्यक्षको सहमतिमा चयन, दुवै पक्षका नेतृत्वलाई संरक्षक एवम् निवर्तमान अध्यक्षका रूपमा सम्मानजनक मान्यता, समाज र दुवै पक्षको समान प्रतिनिधित्वसहित समावेशी कार्यसमिति गठन, इच्छुक तथा योग्य व्यक्तिका लागि ICC मनोनयन खुला, र एकतालाई दिगो बनाउने सहकार्यपूर्ण तथा दूरदृष्टियुक्त नेतृत्व।
यी कदमहरूबाट NRNA बेल्जियमलाई पुनः एकताबद्ध, समावेशी र सम्मानित संस्थाका रूपमा स्थापित गर्न सकिन्छ। हाम्रो साझा प्रयासले नेपाल बाहिरका अन्य नेपाली समुदायलाई पनि सकारात्मक एकताको सन्देश दिनेछ।
समाज, संस्था र समुदायको हितलाई सर्वोपरि राख्दै अघि बढ्ने समय यही हो। किनकि NRNA कुनै दलको होइन, सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा संस्था हो।
FOUNDER/CHIEF EDITOR :