युरोपनेपाली खबर, लिस्बन (पोर्चुगल) — तामाङ समुदायको महान् तथा ऐतिहासिक साँस्कृतिक पर्व सोनाम ल्होछार तथा मन्जुश्री संवत् २८६२ ता/घोडा वर्गको अवसरमा तामाङ जातिको साझा र छाता संस्था तामाङ समाज पोर्चुगलले लिस्बनमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति, परम्परा, भेषभुषा, भाषालाई जगेर्ना र संरक्षण गर्ने उद्देश्यले समाजले शुभकामना आदानप्रदान सहितको बृहत साँगीतिक प्रस्तुति सहितको कार्यक्रम गर्ने तयारी रहेको तामाङ समाज पोर्चुगलका अध्यक्ष कुमार सिंह बल तामाङले जानकारी दिए ।
उक्त कार्यक्रममा लामा गुरुहरुबाट साङ् सेर्केम गरिनेछ भने आमन्त्रित चर्चित गायक गायिकाहरुद्वारा सेलो तथा म्हेंदोमया साँगितिक प्रस्तुति रहनेछ । यसैगरी विभिन्न नृत्यकारहरूको सेलो नृत्य प्रस्तुति साथै चर्चित DJ FASTO साथमा डिजे कार्यक्रम गरिनेछ ।
खानपानको निशुल्क व्यवस्था रहेको सो कार्यक्रममा भाग्याशाली चिठ्ठा पनि खोलिने छ । चिठ्ठाका विजेतामा पहिलो हुनेलाइ आइफोन १७ प्रो म्याक्स, दोश्रोलाई एप्पल इयरपड्स र तेश्रो लाई JBL सानो स्पिकर प्रदान गरिने छ ।
उक्त कार्यक्रम पोर्चुगलबासी तामाङ जाति र गैर तामाङ समुदाय नेपालीहरूका लागि निकै विशेष हुने जनाइएको छ । कार्यक्रमममा कलाकारहरु अभिनास घिसिङ, रामबाबु योन्जन, कुङ्साङ वाइवा,रमित लामा, पुष्पा वाइवा, भारती तामाङ, बुद्ध योन्जन, रामकृष्ण तामाङ निङ्ग्मा शेर्पा, पारस योन्जन लगायतका ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलकारहरुको भव्य प्रस्तुति रहने आयोजकले बताएका छन् ।
कार्यक्रमले केवल मनोरञ्जन मात्र प्रदान नगरी, विदेशको भूमिमा तामाङ जातिको मौलिक कला, संस्कृति, भेषभूषा, भाषाको प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य राखेको छ । प्रवासमा बस्ने नयाँ पुरानो र नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्न यस्ता कार्यक्रमहरू कोसेढुङ्गा सावित हुने आयोजकहरुले विश्वास लिएका छन् ।
शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रम आगामी जनवरी २५ तारिख आइतबारका दिन आयोजना गरिनेछ । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित प्रसिद्ध कार्यक्रम स्थल LISBOA AO VIVO, Av.Mar. Gomes Da Costa 29 B1, 1800-255 Lisboa मा हुने तय भएको छ । कार्यक्रममा पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई सोनाम ल्होछारको शुभकामना आदानप्रदान गर्न र सांगीतिक माहोलमा रमाउन आयोजक संस्थाले हार्दिक अपिल समेत गरेको छ ।
FOUNDER/CHIEF EDITOR :