लिस्बन(पोर्चुगल) — नेपालका चर्चित पण्डित दिनबन्धु पोखरेलद्वारा पोर्चुगलको राजधानी लिस्बनमा कथा बाचन हुने भएको छ । पण्डित पोखरेल कथा बाचन र प्रवचनमा लोकप्रिय छन् ।
युरोप आध्यात्मिक यात्रा–२०२६ को अभियान अन्तर्गत पोर्चुगलको राजधानी लिस्बनमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलकोकथा वाचन तथा प्रवचन कार्यक्रम आयोजना हुन लागेको हो ।
दीपा काफ्ले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको मुख्य आयोजनामा आगामी १२ अप्रिल २०२६ का दिन उक्त आध्यात्मिक कार्यक्रम सञ्चालन हुन लागेको हो । रोजगारी तथा विभिन्न सिलसिलामा पोर्चुगलमा बसोबास गर्दै आएका नेपाली समुदायलाई लक्षित गर्दै उनीहरूमाझ आध्यात्मिक जागरण ल्याउने उद्देश्यले यस कार्यक्रमको तय गरिएको आयोजकले जनाएको छ ।
कलश यात्रा सहित हुने कार्यक्रम लिस्बनस्थित ‘शिव मन्दिर’मा बिहान १० बजेदेखि सुरु भई बेलुकीसम्म निरन्तर चल्नेछ । प्रवासको व्यस्त जीवनशैलीमा रहेका नेपालीहरूलाई लक्षित गरिएको यस सत्संगले मानसिक शान्ति, भक्ति, ज्ञान र आध्यात्मिक चेतनाको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ । पण्डित पोखरेलको मुखारविन्दबाट वाचन हुने कथा तथा प्रवचन श्रवण गर्नाले वैदेशिक भूमिमा रहेका नेपालीहरूलाई आफ्नै माटो र संस्कृतिको सामीप्यता महसुस गराउनेछ ।
यस प्रकारको धार्मिक तथा सांस्कृतिक कार्यक्रमले नेपाली समुदायबीचको आपसी एकता, भाइचारा र सद्भावलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । एनआरएनए पोर्चुगलले यस पुण्य कार्यमा सहभागी भई आध्यात्मिक लाभ लिनका लागि पोर्चुगलमा रहेको आम नेपाली समुदायलाई आग्रह गरेको छ ।
FOUNDER/CHIEF EDITOR :