मेस्सीले उचाले राष्ट्रको लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि

मेस्सीले उचाले राष्ट्रको लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि
युरोपनेपाली खबर २०७८ असार २७ आइतबार, 11-07-2021


अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले आफ्नो करिअरको पहिलो औपचारिक अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । राष्ट्रिय टोलीबाट पाँचौ फाइनल खेलेका मेस्सीले शनिबार कोपा अमेरिकाको उपाधि जित्न सफल भएका हुन् ।

व्यावसायिक फुटबलमा सफलता हासिल गरेको मेस्सीले राष्ट्रको लागि १५ वर्ष खेल्दा भने कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जित्न सकेका थिएनन् । यसपटक मेस्सीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । ३४ वर्षीय मेस्सीले अर्जेन्टिनाबाट १५१ खेलमा ७६ गोल गरेका छन् ।

मेस्सीकै कप्तानीमा अर्जेन्टिना २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा पुगेको थियो । त्यसअघि उनी टोलीमा रहँदा सन् २००७ मा पनि अर्जेन्टिना कोपाको फाइनलमा पुगेको थियो । तर, चारैपटक अर्जेन्टिना फाइनलमा निराश बन्दा मेस्सीले राष्ट्रबाट उपाधिको स्वाद चाख्न पाएनन् ।

अर्जेन्टिना २००७ मा ब्राजिलसँग ३–० ले तथा २०१५ र २०१६ मा चिलीसँग स्तब्ध भएको थियो । २०१४ को विश्वकपमा अर्जेन्टिना अतिरिक्त समयमा जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको थियो ।

यसपटक कप्तान मेस्सीले अर्जेन्टिनालाई उपाधि दिलाउन गजबको प्रदर्शन गरे । उनले ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका थिए । अर्जेन्टिनाले गरेको १२ मध्ये ९ गोलमा उनको प्रत्यक्ष भुमिका रहेको थियो ।

अर्जेन्टिना सन् १९९३ पछि चार पटक फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन । अर्जेन्टिनाले २८ वर्ष लामो उपाधिको खडेरी पनि तोडेको छ ।

यसअघिको फाइनल यात्रा :

सन् २००७ (कोपा अमेरिका कप)

मेस्सीले २०औं जन्मदिन मनाइरहँदा उनको टोलीले सन् २००७ को कोपा अमेरिका कपको फाइनलमा पुगेको थियो । अर्जेन्टिना समूह चरणमा शतप्रतिशत जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको थियो । प्रशिक्षक अल्फियो बासिलको प्रशिक्षणमा मेस्सीले जादुमयी प्रदर्शन गरिरहेको थियो ।

क्वाटरफाइनलमा उनले पेरुविरुद्ध गोल गर्दै कोपामा आफ्नो पहिलो गोल गरेका थिए । सेमिफाइनलमा मेक्सिकोको चुनौती पन्छाउदा फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको थियो । फाइनलमा जुलियो बापटिस्टा, रोबर्टाे एयाला र ड्यानी आल्भेसले गोल गरेपछि अर्जेन्टिना ३–० ले पराजित हुदा मेस्सी आफ्नो पहिलो र प्रमुख प्रतियोगिता जित्नबाट बञ्चित रहे ।

सन् २०१४ (विश्वकप)

अर्जेन्टिना २०१० को विश्वकपमा क्वाटरफाइनलमा जर्मनीसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरियो । २०११ को कोपा अमेरिकामा अर्जेन्टिना उरुग्वेसँग निराश हुदा मेस्सीको राष्ट्रिय टोलीबाट उपाधि जित्ने सपना पनि तुहिएको थियो । उनले यि दुवै प्रतियोगितामा कुनै पनि गोल गर्न सकेका थिएनन् ।

तर अर्जेन्टिनाले सन् २०१४ को विश्वकपमा उच्च प्रदर्शन गर्दै फाइनलसम्म पुग्न सफल भएको थियो । अर्जेन्टिनाले विश्वकपको फाइनल यात्रामा बोस्निया एन्ड हर्जगोभिना, इरान, नाइजेरिया, स्वीट्जरल्यान्ड, बेल्जियम र नेदरल्यान्ड्सलाई हराएको थियो । तर, फाइनलमा जर्मनीले पुन एकपटक मेस्सीलाई उपाधिबाट विमुख बनाइदियो ।

प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयको अन्त्यतिर मारियो गोट्जेले गोल गरेपछि जर्मनीले उपाधि जित्दा अर्जेन्टिना र मेस्सी निराश बन्न पुग्यो । विश्वकपमा चार गोल गरेका मेस्सीले गोल्डेन बल जितेका थिए ।

सन् २०१५ (कोपा अमेरिका)

सन् २०१५ को कोपा अमेरिकामा मेस्सीले १ गोल र ३ असिस्ट दिदा उनको टोली अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा चिली बाधक बन्दा मेस्सीले राष्ट्रबाट उपाधि जित्न सकेन । चिलीले पेनाल्टी सुटआउटमा अर्जेन्टिनालाई ४–१ ले निराश पारेको थियो ।

सन् २०१६ (कोपा अमेरिका)

अर्जेन्टिना कोपा अमेरिका कप १ सय वर्ष पुगेको उपलक्ष्यमा आयोजना भएको कोपा अमेरिका सेन्तानारियोको पनि फाइनलमा पुग्न सफल भएको थियो । यसपटक पनि अर्जेन्टिना र मेस्सीको उपाधि यात्रामा चिली नै बाधक बन्यो । अर्जेन्टिनाले चिलीलाई समूह चरणमा २–१ ले हराएपनि फाइनलमा पेनाल्टी सुटआउटमा ४–२ ले नतिजा सुम्पदा चिली लगातार दोस्रो सिजन कोपाको च्याम्पियन बनेको थियो ।

उनले उक्त कोपामा एक ह्याट्रिकसहित ५ गोल गरेका थिए । उनले पेनाल्टी सुटआउटमा गोल गर्न सकेका थिएनन् । लगातार फाइनल गुमाएपछि मेस्सीले आवेगमा आउँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।

तर, उनले आफ्नो निर्णय फिर्ता लिदै पुनः टोलीमा फर्किएका थिए । २०१८ को विश्वकपमा अर्जेन्टिना प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेन । सन् २०१९ को कोपा अमेरिकामा उनको टोलीले तेस्रो स्थान हासिल गरेको थियो । रेफ्रीको निर्णयमा प्रश्न उठाएपछि उनलाई तीन खेलको प्रतिबन्ध सुनाइदा चिली, मेक्सिको र जर्मनीविरुद्धको खेल गुमाएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित