मेसीले बार्सिलोना छाड्ने

मेसीले बार्सिलोना छाड्ने
युरोपनेपाली खबर २०७८ साउन २० बिहीवार, 05-08-2021


अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फुटबल क्लब बार्सिलोनामा नबस्ने भएका छन् । बिहीबार क्लबले विज्ञप्ति जारी गर्दै मेसी बार्सिलोनामा नबस्ने जनाएको हो ।

क्लब र मेसीबीच नयाँ सम्झौतामा हस्ताक्षर गर्ने सहमति बने पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण मेसीले बार्सिलोनामा निरन्तरता दिन नसकेको विज्ञप्तिमा जनाइएको छ । ‘एफसी बार्सिलोना र लियोनल मेसी नयाँ सम्झौता हस्ताक्षर गर्ने सहमतिमा पुगे पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण सफल हुन सकेन । त्यसैले मेसी बार्सिलोनामा रहने छैनन् ।’

खेलाडी र क्लबको इच्छा पूरा नभएकोमा दुवै पक्षलाई दु:खी भएको पनि बार्सिलोनाले जनाएको छ । क्लबका लागि पुर्‍याएको योगदानका लागि मेसीलाई बार्सिलोनाले धन्यवाद दिँदै सुखद भविष्यको कामना गरेको छ ।

यसै महिनाको सुरुमा मेसी कुनै पनि अनुबन्धबाट स्वतन्त्र भएका थिए । बार्सिलोनासँग यसअघिको अनुबन्ध टुंगिएपछि अर्जेन्टिनी खेलाडी ‘फ्री ट्रान्सफर’ का लागि उपलब्ध भएका थिए । यसअघि उनी अन्यत्र जानसक्ने सम्भावना रहेको बताइए पनि पछि उनले बार्सिलोनामै रहने जनाएका थिए । म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि मेसीमा रुचि देखाएको थियो । बार्सिलोनामा नबस्ने भएपछि मेसी कहाँ जान्छन् भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।

करिब २१ वर्ष बार्सिलोनामा रहेर मेसीले कीर्तिमान ६ सय ७२ गोल गरिसकेका छन् । १३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका उनले ७७८ खेल खेलेका छन् । यसक्रममा १० ला लिगा, ४ युरोपेली च्याम्पियन्स लिग र ७ कोपा डेल रे उपाधि जितेका छन् । उनले कीर्तिमान छपल्ट बालोन डी’अर पनि जितिसकेका छन् । त्यसैले उनलाई बार्सिलोनाको इतिहासकै सर्वकालीन महान खेलाडी मानिन्छ । कोपामा अर्जेन्टिनाको जित र त्यसमा मेसीको उत्कृष्ट प्रदर्शनका कारण उनी फेरि एकपल्ट बालोन डी’अर उपाधिलाई बलियो प्रत्याशी भएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित