विधान विपरीत भागबन्डाको प्रस्तावका कारण एनआरएनए विवाद समाधान समिति बैठक निष्कर्ष विहीन

विधान विपरीत भागबन्डाको प्रस्तावका कारण एनआरएनए विवाद समाधान समिति बैठक निष्कर्ष विहीन
युरोपनेपाली खबर २०७८ पुष ५ सोमबार, 20-12-202


 पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औं महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गरी महाधिवेशन सम्पन्न गर्न गठन गरिएको उच्चस्तरीय विवाद समाधान समितिका बैठकहरु निष्कर्ष विहीन भएका छन् ।

गत बुधबार गठित समितिको बिभिन्न भर्चअल बैठकहरु बसेपनि कुनै पनि मोडेलमा सहमत हुन नसकेपछि निष्कर्ष विहीन हुन पुगेका हुन् । यद्यपी, दुई पक्षीय र बहुपक्षीय बैठकहरु चलिरहेका छन । तर पनि उच्चस्तरीय समितिलाई निष्कर्ष निकाल्न मुस्किल परेको स्रोत बताउँछ ।

समितिमा संघका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री रहेका छन् ।

गत आइतबारको बैठकमा संघ भित्र देखिएको डेलिगेट्स विवाद समाधान गर्न विभिन्न मोडलहरुबारे छलफल भएको बुझिएको छ । स्रोतका अनुसार समितिमा संस्थालाई हित हुने भन्दा पनि  आफ्नो समूह अनुकूलको पद र कार्यकाल भागबन्डाका प्रस्ताबहरु आएकाले त्यस्ता प्रस्ताबहरुमा सहमति हुन नसकेको स्रोतले बताएको छ । विशेष महाअधिवेशन संशोधन गरिएका विधानका केही बुँदाहरु नै खारेज गर्ने प्रस्ताब पनि बैठकमा आएको स्रोतले बतायो । विगतमा पारित विधान विपरीत जाँदा संघभित्र थप अन्योल सिर्जना हुने भएकाले समिति भित्र न्युनतम सहमति भएका बुँदाहरु र सहमति हुन नसकेका बुदाहरु राखेर प्रतिवेदन अध्यक्ष कुमार पन्तलाई बुझाउने तयारी भैरहेको स्रोतले बतायो ।

अध्यक्ष कुमार पन्तद्वारा गत बुधबार जारी गरिएको वक्तव्यमा संघभित्र देखिएको विषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आइसीसी सदस्यहरुसँग सल्लाह जारी राखेको भन्दै संवाद र सहमतिका लागि समिति गठन गरेको जनाएका थिए ।

गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार कुमार पन्तको थपिएको कार्यकालभित्र कुनै पनि चुनावमा हुन नदिएर संरक्षक परिषद मार्फत संघ संचालन गर्न खोजिएको कारण समस्या सुल्झाउने भन्दा बल्झाउने तिर वातावरण गएको देखिन्छ । 

अध्यक्ष पन्तले  विद्यमान समस्या समाधानका लागि छलफल जारी राखेको बताउँदै समिति गठन गरिएको बताएका थिए । उनले सबै पक्षसँग संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न समितिलाई निर्देशन दिए पनि समितिको बैठक भने निष्कर्ष विहिन भएको छ ।

अध्यक्ष पन्तले विवाद मिलाउन समिति गठन गरे पछि गैर आवासीय नेपाली संघको यसअघि प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको थियो । संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले गत बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गरिएको हो ।

यसअघि यही डिसेम्बर २६ र २७ तारिखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । निर्वाचन समितिले मतदानको मिति परिवर्तन नगरिए पछि अन्य कार्यतालिका रोकिएको जनाएको छ । 

गैरआवासीय नेपाली संघभित्र यूके, अमेरिका र अष्ट्रेलियाका देशमा प्रतिनिधिको विवाद रहेको छ ।

प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले राजीनामा दिए पछि डिसेम्बर महिनामा गर्ने भनिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगन गरिएको जनाइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित