एनआरएनए युकेका उपाध्यक्ष सुनील बाबू खड्का र कोषाध्यक्ष बिष्णु खरेल भन्छन् : एनआरएनए युकेलाई पंजीकृत सदस्यहरुले बुझाएको पैसा रोक्ने अधिकार छैन, हामी केन्द्रमा पैसा पठाउँछौं

एनआरएनए युकेका उपाध्यक्ष सुनील बाबू खड्का र कोषाध्यक्ष बिष्णु खरेल भन्छन् : एनआरएनए युकेलाई पंजीकृत सदस्यहरुले बुझाएको पैसा रोक्ने अधिकार छैन, हामी केन्द्रमा पैसा पठाउँछौं
एनआरएनए युके उपाध्यक्ष खड्का र कोषाध्यक्ष खरेल
www.europenepalikhabar.com २०७८ फागुन २१ गते शनिबार, 5-03-2022


लन्डन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनमा हामी उत्रिदा राष्ट्रिय समन्वय समिति (एनसीसी) युके र अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)लाई रकम तिर्ने गरि पंजीकृत सदस्यहरुले अनलाइनमा फारम भरेका थिए । सदस्यता ड्राइभ गर्दा उम्मेदवार साथीहरुले उनीहरुबाट आइसीसी र एनसीसीलाई रकम हुने गरि एक कार्यकालको १० पाउण्ड लिएका हौ । अनलाइन फारम विवरण भर्दा बेलायतवासी नेपालीहरुले आइसीसीको वेभसाइडको ट्रम एण्ड कन्डिसनमा इलेक्ट्रिकल हस्ताक्षर गरेका थियौ ।

एनआरएनएको जन्मभुमि बेलायतबाटै पंजीकृत सदस्यहरुबाट उठेको रकम आइसीसीमा नपठाएको भन्दै मार्च ६ सम्मको समय सीमा तोकेर संघ अध्यक्ष कुमार पन्तले हाम्रो कार्यसमिति अध्यक्ष प्रेम गाहामगरलाई सम्बोधन गरेको चेतावनी पत्र सामाजिक संजाल मार्फत सार्वजनिक भएको छ । यो पत्रले मेरो मन छियाछिया हुने गरि फाटेको छ । सामाजिक कार्यमा दिनरात खटिरहेका हामी माथि सार्वजनिक रुपमा पंजीकृत सदस्यहरुको रकम अवैधानिक राखेको आरोप लागिसकेको छ । यो रकम जुन प्रयोजनका लागि लिइएको थियो, त्यही प्रयोजनमा प्रयोग गर्न हामीले तत्काल आइसीसीमा पैसा पठाउने व्यवस्था गर्ने वातावरण बनाउन सम्पुर्ण कार्यसमितिका साथीहरु तथा अभियन्ताहरुलाई अनुरोध गर्दछु ।

झण्डै १२ हजार पंजीकृत सदस्यहरुबाट निर्वाचित उपाध्यक्ष हुं । यसरी जनताद्वारा निर्वाचित कार्यसमितिले आइसीसीमा पठाउनु पर्ने रकम होल्ड गरेर राखेको खबर र संघका अध्यक्ष कुमार पन्तको चेतावनी पत्रले एनआरएनएको जन्मथलोलाई लज्जित बनाउँदा म निकै दुखी छु । जनताको पैसा रोक्ने अधिकार अध्यक्ष गाहामगर, म उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेललाई छैन । यो सरासर गैरकानुनी कार्य हो । हामी यो आइसीसीलाई मान्दैनौ भन्ने हो भने हामी स्वयंम पनि अवैधानिक हुन्छौ । हामी सँग जनताको पैसा रोक्ने र चलाउने अधिकार छैन । न त कसैलाई निर्वाचनमा लड्न पाउने अधिकारबाट बंचित गर्न पाउने अधिकार नै छ ।

त्यसैले संघको माथिल्लो निकायमा अमुक व्यक्तिको पक्ष वा विपक्षमा लागेर पंजीकृत सदस्यहरुले आइसीसी सचिवालयमा बुझाउने रकम रोक्नु हुदैन । हामी कस-कसलाई हराउने वा जिताउने हो भनेर भोट दिन स्वतन्त्र छौ ।

कार्यसमितिले सिफारिस गरेका २५ प्रतिशत र १० प्रतिशतमा हाम्रा सबै प्रतिनिधि (डेलिगेट्स)लाई सचिवालयले स्वीकार गरेको छ । त्यो अन्त्यन्तै सकारात्मक कुरा हो । एनआरएनए अन्तर्गत बसेको विश्वभरका शाखाहरु मध्ये यो पनि एक शाखा हो । एनसीसी युकेले पंजीकृत सदस्यबाट रकम उठाउन आइसीसी सँग एमओयु गरेको थिएन् । अहिले पंजीकृत सदस्यहरुको रकम आइसीसीमा दाखिला गर्ने बेलामा एमओयुको बिषय उठाउनु उचित होइन ।

एनआरएनए भित्रका विवादको कारण कदापी बेलायत बन्नु हुदैन भन्ने मेरो मान्यता छ । बेलायतबासी पंजीकृत सदस्यहरुबाट म सुनिल बावु खड्का, कोषाध्यक्ष विष्णु खरेलसहित धेरै कार्यसमितिका साथीहलाई दैनिक रुपमा मोवाइलमा (आइसीसीलाई बुझाउने रकम दाखिला नभएका बारेमा) प्रश्नसहितका म्यासेज आइरहेका छन् । पंजीकृत सदस्यहरुको पैसाको तिमिहरुलाई राख्ने अधिकार कसले दियो ? भनेर सयौ प्रश्न तेर्सिएका छन । त्यसैले अव त्यो रकम एक मिनट पनि ढिला नगरि हामीले आइसीसीमा पठाउनु पर्छ । सदस्यहरुको पैसा रोक्ने अधिकार हामी सँग छैन र हामीले रोक्नु पनि हुदैन । तुरुन्त पठाउनु पर्छ ।

कार्यसमितिका बैठकमा यस्ता बिषयहरुले कहिले प्रवेश पाएनन् । हामीले एनआरएनए युकेले पंजीकृत सदस्यहरुको पैसा रोकेर राख्छ भन्ने परिकल्पना पनि गरेका थिएनौ । युकेबाट एनआरएनएमा कोही उम्मेदवार बन्छ भने हामीले अवश्य त्यसलाई सहयोग गर्नु पर्छ । तर, कसैको इसारामा यस्तो कार्य गर्नु हुदैन । पंजीकृत सदस्यहरुबाट सदस्यता बापत उठाइएको रकम कानुनअनुसार नै आइसीसीको हो । जसरी कुनै व्यक्ति विशेष सँग पैसा सापट लिएपछि उक्त रकम तिर्नु पर्छ । त्यसैगरी आइसीसीकै विधानमा रहेर उठाएको रकम आइसीसीको खातामा जम्मा गरिनु पर्छ । विधानले नै अटोमेटिक आइसीसीमा जाने संरचना बनाएको छ ।

एनआरएनए युके अध्यक्ष गाहामगरले कहाँ गएर कस्को पक्षमा भाषण गर्नु भयो त्यो बारेमा हामीलाई थाहा छैन । सिंगो कार्यसमिति कुनै व्यक्तिलाई जिताउनु पर्छ भनेर लागेको छैन । गाहामगर व्यक्तिगत रुपमा कोसँग नजिक हुनुहुन्छ त्यो गौण बिषय हो । कार्यसमितिले निर्णय नगरि अन्य मुलुकका आइसीसी सँग उहाँले गरेका संयुक्त हस्ताक्षर वा निर्णयहरु व्यक्तिगत हुन्, त्यसको जिम्मा कार्यसमितिले लिदैन् । कार्यसमितिले उहाँलाई यस्तो अधिकार दिएको छैन । गाहामगर जसरी पंजीकृत सदस्यहरुको भोटबाट निर्वाचित भए हामीहरु पनि त्यसैगरी निर्वाचित भएका हौ । पद फरक भएपनि जनताले हामीलाई सामुहिक रुपमा म्यान्डेट दिएका छन् ।

एनआरएनए भित्रका विवादका बिषयमा एनआरएनए युकेको आधिकारिक धारणा सार्वजनिक गर्नुपरे आपतकालिन बैठक डाक्ने अधिकार गाहामगरलाई छ । हामीले पनि इमरजेन्सी बैठक डाक्ने अनुरोध गरेका छौ । तर, त्यस्तो आपतकालिन बैठक डाकिएको मलाई थाहा छैन । एनआरएनए विवादका बारेमा कार्यसमितिले निर्णय नगरि अध्यक्ष गाहामगरले गर्ने कार्य व्यक्तिगत हुनेछन् । उहाँले जे वोले पनि कार्यसमितिका झण्डै दुई तिहाइ साथीहरु एनआरएनए युकेले पंजीकृत सदस्यहरुबाट उठेको पैसा दिनु पर्छ, दिनु पर्छ भन्नेमा छौ ।

एनआरएनए यूकेले केन्द्रमा सदस्यता शुल्क पठाउँछः कोषाध्यक्ष बिष्णु खरेल

गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का कोषाध्यक्ष विष्णु खरेलले केन्द्रलाई पञ्जिकृत सदस्यता शुल्क समयसीमा (६ मार्च) भित्रै बुझाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पञ्जिकृत सदस्यहरुले तिरेको शुल्क विधानतः केन्द्रलाई बुझाउनुपर्नेमा एनआरएनए यूके अध्यक्षले केही व्यक्तिको स्वार्थपूर्तिका लागि ‘होल्ड’ गरिदिएपछि व्यापक असन्तुष्टि बढिरहंदा कोषाध्यक्षको धारणा आएको हो ।

‘मलाई कयौं सदस्यहरुले फोन र म्यासेज लेखेर निकै चासो व्यक्त गर्नुभएको छ । तपाईंहरुको पैसा सुरक्षित छ । हामी समयमै केन्द्रमा बुझाएर मतदान र उम्मेदवार हुने अधिकारबाट वञ्चित गर्दैनौं’, खरेलले प्रष्टयाए ।

कोषाध्यक्ष खरेलले कार्यसमितिका वहुमत सदस्य केन्द्रलाई शुल्क बुझाउनुपर्ने पक्षमा रहेको जनाउंदै अध्यक्षले ‘होल्ड’ गर्नु उनको आफ्नो एकल व्यक्तिगत निर्णय भएको दावी गरे ।

‘हामी विकसित र सभ्य देशमा बस्ने नागरिकले उदाहरणीय काम गरेर देखाउनुपर्नेमा उल्टै अरुबाट उठाएको सदस्यता शुल्क तिर्दिन भन्नु गैर कानूनी र निन्दनीय कार्य हो । यही कारण हाम्रो कार्यसमिति भंग हुनेमात्र होइन्, विश्वभरका नेपाली समुदायमाझ हामी नांगिने चिन्ता बढेको छ’, खरेलले भने, ‘अहिले म आफैं लज्जित भइरहेको छु, व्यक्तिगत स्वार्थ, नकारात्मक सोच र पदीय लोलुपतामा साथीहरु कतिसम्म गिर्ने रहेछन् छर्लंग देखियो ।’

एनआरएनए यूकेले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदलाई बुझाउनुपर्ने ११ हजार ३ सय ६३ जना सदस्यको ५ डलरका दरले ५६ हजार ८ सय १५ डलर अहिलेसम्म नपठाएपछि संघ खारेजीको चरणमा छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिइ उक्त मितिभित्र शुल्क भुक्तानी नगरे विधानको दफा १७.७ अनुसार उल्लेखित एनसीसीहरुको मान्यता स्वतः समाप्त हुने चेतावनी दिइसकेको छ ।

केन्द्रले एनसीसीको नयां निर्वाचन गर्न एक तदर्थ समिति गठन र संघका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्ने स्पष्ट पारिसकेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित