बेलायतको राजनीतिमा उथलपुथल, को बन्ला नयाँ प्रधानमन्त्री ? ४५ दिनमै प्रधानमन्त्री लिज ट्रसको राजीनामा

बेलायतको राजनीतिमा उथलपुथल, को बन्ला नयाँ प्रधानमन्त्री ? ४५ दिनमै प्रधानमन्त्री लिज ट्रसको राजीनामा
www.europenepalikhabar.com २०७९ कार्तिक ४ गते शुक्रबार, 21-10-2022


यूकेकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेपछि अब नयाँ प्रधानमन्त्री को बन्ला भन्ने व्यापक चासो रहेको छ ।

प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्।

बिहीवार एउटा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्।

नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरिन्।

ट्रसले नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी साताबाटै सुरु हुने बताएकी छन्।

सबैभन्दा थोरै समय प्रधानमन्त्री लिज ट्रस

पैँतालीस दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन्।

उनीपछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए।

तत्कालीन अर्थमन्त्री कवासी क्वारटेङले गत २३ सेप्टेम्बरमा मिनी बजेट भनेर ल्याएको सरकारको योजनाले वित्तिय बजारमा उथलपुथल ल्याइदिएपछि नै लिज ट्रसको राजनीतिक समस्याहरू सुरु भएका थिए।

त्यसबेला यता उनको कन्जरभेटिभ पार्टी भित्र उत्पन्न असन्तोषले पार्टीभरि नै आक्रोशको रूप लिएको थियो।

बुधवार राति संसद्को तल्लो सदन हाउस अफ कमन्समा फ्र्याकिङ भनिने तेल उत्खनन प्रक्रियासम्बन्धी मतदानको क्रममा देखिएका नाटकीय दृश्यहरू पछि नै उनको राजीनामाको चर्चा उठेको थियो। त्यसपछि त्यस्तो माग झन् चर्को हुँदै गएको थियो।

प्रमुख विपक्षी दल लेबरका नेता कीअर स्टारमरले अब लिज ट्रसले राजीनामा दिएपछि देशमा नयाँ आम निर्वाचन हुनुपर्ने माग गरेका छन्।

"हिजो मात्र उनले आफू एक लडाकु भएको बताएकी थिइन्। तर सरकार, संसद् र कन्जरभेटिभ पार्टीमा यस्तो भद्रगोल खडा भयो कि उनले अब योभन्दा अघि बढ्न नसक्ने अवस्थामा आफूलाई पाएको हुनुपर्छ। अब जे हुन्छ त्यो आधुनिक समयमा ब्रिटेनमा देखिएको सबैभन्दा तीव्र गतिको सत्ता फेरबदलको घटना हुनेछ। यो अभूतपूर्व परिस्थिति हो र ब्रिटिश राजनीतिको एउटा अभूतपूर्व सङ्कट।"

उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन्। लिज ट्रसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे यूकेको प्रधानमन्त्री बनेका थिए।

कन्जर्भेटिभ पार्टीमा उनीसँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनकलाई पछि पार्दै डेढ महिना अघि लिज ट्रस प्रधानमन्त्री बनेकी थिइन्।

उनले ५७ प्रतिशत मत पाउँदा सुनकले ४३ प्रतिशत मात्र मत पाएका थिए।

लिज ट्रसको सामान्य परिचय

उमेर: ४७ वर्ष

जन्मस्थान: अक्सफर्ड

घर: लन्डन र नोर्फक

शिक्षा: राउन्डहे स्कूल लीड्स, अक्सफर्ड यूनिभर्सिटी

परिवार: पति ह्यू ओ'लेरी, दुई छोरी

संसदीय निर्वाचन क्षेत्र: दक्षिण-पश्चिम नोर्फक


- बिबिसी नेपाली

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित