क्रोएसियाका किपर लिभाकोभिचले ३ पेनाल्टी राेकेपछि जापान घर फर्कियो

क्रोएसियाका किपर लिभाकोभिचले ३ पेनाल्टी राेकेपछि जापान घर फर्कियो
www.europenepalikhabar.com २०७९ मंसीर १९ गते सोमबार, 5-12-2022


युरोपनेपाली खबर ।

गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । जारी विश्वकपमा नकआउट चरण सुरु भएसँगै पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो भएको यो पहिलो खेल हो ।

जहाँ लिभाकोभिच नायक बन्दा क्रोएसियाले सहज जित निकाल्यो ।

लिभाकोभिचले जापानका ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका ताकुमा असानोले मात्र गोल गर्न सफल भए ।

क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्राजोभिक र मारियो मलासिकले गोल गरे । क्रोएसियाका मार्को लिभाजाको प्रहार भने पोष्टमा लागेको थियो ।

जापान विरुद्ध पेनाल्टीमा जितपछि क्रोएसियाले विश्वकपमा पेनाल्टी सुटआउटमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ । २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसियाले अतिरिक्त समयमा पुगेको तीनमध्ये दुई खेल पेनाल्टीमार्फत जितेको थियो ।

समूह चरणमा पूर्व विजेता जर्मनी र स्पेनलाई हराउँदै सनसनी मच्चाएको जापाले अन्तिम १६ को खेलमा पनि पहिले गोल गर्दै क्रोएसियाविरुद्ध अग्रता लिएको थियो । तर त्यसलाई कायम राख्न नसक्दा बराबरी गोल बेहोर्‍यो ।

४४औं मिनेटमा दाइजेन माएदाले रित्सु दोअनको क्रसमा प्राप्त बलमा सिक्स यार्ड बक्सबाट गोल गरे । पहिलो हाफमा पछि परेको क्रोएसियाले ५५औं मिनेटमा बराबरी गोल फर्कायो । इभान पेरिसिकले डेजान लोभरेनको पासमा गोल गरे ।

त्यसपछि खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि सफल भएनन् । दुवै टिमका गोलकिपरले केही राम्रा बचाउ पनि गरे । क्रोएसियाले अब ब्राजिल र दक्षिण कोरियाबीच आजै मध्यरातमा हुने खेलको विजेतासँग खेल्नेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित