क्रिस्टियानो रोनाल्डो अब त्यस्ता ‘सुपरस्टार’ भएका छन्, जसको आवश्यकता कसैलाई भएन । आखिर पोर्चुगलले पनि त्यही बाटो रोजेको छ, जुन यसअघि म्यानचेस्टर युनाइटेडले अपनाएको थियो । त्यो हो, रोनाल्डोविना खेल्ने अनि नतिजा राम्रो निकाल्ने । उनीविनाको पोर्चुगल साँच्चै राम्रो देखियो, विश्वकप २०२२ को अन्तिम १६ को खेलमा ।
स्विट्रजरल्यान्डविरुद्ध रोनाल्डोलाई ‘ड्रप’ गर्ने प्रशिक्षक फर्नान्डो सान्तोसको निर्णय सही नै साबित भयो ।
टिमको प्रदर्शन आफैंमा उम्दा रह्यो । त्यसैले त पोर्चुगल यो खेलमा स्विट्जरल्यान्डविरुद्ध मज्जाले ६–१ ले विजयी रह्यो । अब क्वाटरफाइनलमा उसको सामना मोरक्कोविरुद्ध हुँदै छ । भन्न सकिन्छ, सायद यो खेल जित्न पोर्चुगललाई गाह्रो हुने छैन, यदि रोनाल्डोले खेलेनन् भने । यसपल्ट सान्तोसले रोनाल्डोलाई टिमबाट हटाउने बहादुरीपूर्ण निर्णयमात्र गरेका छैनन्, दक्षिण कोरियाविरुद्ध रोनाल्डोले देखाएको व्यवहारको खुलेरै आलोचना गरेका छन् ।
त्यस खेलमा आफू सब्स्टिच्युट हुँदा रोनाल्डोले नमीठो ढंगले असन्तुष्टि पोखेका थिए । त्यसै कारण उनको स्थानमा युवा खेलाडी गोन्सालो रोमासले मौका पाए । उनले मौकामात्र पाएनन्, त्यसमा आफूलाई सिद्ध गरे । उत्कृष्ट र जारी विश्वकपकै पहिलो ह्याट्रिक गरे । अहिले ३७ वर्षीय रोनाल्डोका लागि ठीक दिन चलिरहेको छैन । उनको घमण्ड र दम्भका कारण म्यानचेस्टरसँगको सम्बन्ध सधैंका लागि टुटिसकेको छ । उनले इंग्लिस प्रिमियर लिग क्लबको खुबै आलोचना गरेका थिए । अब यस्तै अवस्था आफ्नै राष्ट्रिय टिमबाट आइपरेको छ । केही समयअघिसम्म पनि धेरैका लागि अकल्पनीय अवस्था बनेको छ, पोर्चुगली टिममा रोनाल्डो ‘ड्रप’ गर्दा, त्यो पनि विश्वकप जत्तिको ठूलो प्रतियोगितामा । अझ त्यो पनि नकआउट चरणमा । सान्तोसले पोर्चुगाली टिम सम्हालेको पनि ८ वर्ष भयो । यसबीच उनले गरेको सबैभन्दा ठूलो र बहादुरीपूर्ण मात्र होइन, सही निर्णय भनेकै यही भएको छ, रोनाल्डोलाई नखेलाउने निर्णय ।
पोर्चुगलका लागि सन् २०१६ को युरो जितेका सान्तोस बिरलै मात्र ठुल्ठूला निर्णय गर्ने प्रशिक्षकका रूपमा लिइन्छ । यदि पोर्चुगल अन्तिम १६ मै रोकिएको भए विश्वकपबाट बाहिरिनुको सबै दोष उनीमाथि नै हुन्थ्यो न कि रोनाल्डोमाथि । तर सान्तोसले यसपल्ट के बहादुरीपूर्ण निर्णय गरे, पोर्चुगलको प्रदर्शन निकै आक्रामक रह्यो । स्विस टिममाथि पोर्चुगल पूर्णतः छाएको थियो । कुनै त्यस्तो समय आएन, जतिबेला रोनाल्डोको आवश्यकता महसुस भयो ।
मिडफिल्डःमा बर्नान्डो सिल्भा र ब्रुनो फर्नान्डेसले खेल पूर्णतः आफ्नो नियन्त्रणमा राखेका थिए । अगाडि २१ वर्षीय रामोस थिए । यसअघि उनीबारे धेरै सुन्न पाइएको थिएन । तर, २१ वर्षीय स्ट्राइकरले आफूमाथि गरेको विश्वासको पूर्ण न्याय दिलाए । स्विट्जरल्यान्डसँगको खेलअघिसम्म रोनाल्डोले विश्वकपको नकआउट चरणमा गोल नगरेको ५ सय १४ मिनेट पुगिसकेको छ । जबकि रामोसले ६७ मिनेटमात्र खेलेर तीन गोल गरे ।
रोनाल्डोको मनमा लागेको हुनसक्छ, जसरी म्यानचेस्टरमा उनको खेलजीवन सकिएको थियो, त्यसैगरी पोर्चुगलका लागि हुनसक्छ । त्यसैले बेञ्चमा रहेका बेला उनको अनुहारमा कुनै प्रकारको खुसी देखिएको थिएन ।
पोर्चुगलको राष्ट्रिय गीत बजिसकेपछि सबैको ध्यान उनमै थियो, रोनाल्डोको प्रतिक्रिया कस्तो हुन्छ भनेर । खेल सकिन १६ मिनेटअघि सान्तोसले रोनाल्डोलाई मैदानमा छिराए । तर, यो उनको व्यक्तिगत उपलब्धिमात्र रह्यो । रोनाल्डोले खेलमा कुनै छाप छाड्न सकेनन् ।
FOUNDER/CHIEF EDITOR :