आज शुक्रवार ब्रजिल, क्रोएशिया, नेदरल्यान्ड्स र आर्जेन्टिनाका भिडन्त अहिलेसम्म कै रोमाञ्चक हुने अपेक्षा

आज शुक्रवार ब्रजिल, क्रोएशिया, नेदरल्यान्ड्स र आर्जेन्टिनाका भिडन्त अहिलेसम्म कै रोमाञ्चक हुने अपेक्षा
तस्बिर : मोड्रिच नेयमार मेस्सी र भान गाल
२०७९ मंसीर २३ गते शुक्रबार, 9-12-2022


९ डिसेम्बर २०२२, शुक्रबार । फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल दुई रोचक भिडन्तबाट सुरु हुँदैछ जसले तपाईँको शुक्रवारे सप्ताहान्तको रमाइलो अर्को चरणमा पुर्‍याइदिने पक्का छ।  

एउटा खेलमा धेरैले यो विश्वकपको सम्भावित विजेता ठानेको टोली र सन् २०१८ का उपविजेता भिड्दैछन्।

अर्को खेल चाहिँ सन् १९७८ को विश्वकप फाइनल कै झल्को दिने खालको छ।

के क्रोएशियाले रोक्न सक्ला ब्रजिललाई ?

विश्वभरिका फुटबल प्रशंसकहरूका निम्ति ब्रजिल सदा आकर्षणको केन्द्रबिन्दु रहँदै आएको छ।

वास्तवमा ब्रजिलले कतारमा उसले प्रदर्शन गरेको खेलका कारण आफ्ना समर्थकहरूको मात्र होइन तटस्थ दर्शकहरूको पनि मन जितिरहेको छ।

प्रि-क्वार्टरफाइनल खेलमा ब्रजिलले दक्षिण कोरियाविरुद्ध आक्रामक खेललाई निरन्तरता दिँदै जित हासिल गर्‍यो।

यो प्रतियोगिताको उपाधिको उसको दाबेदारी त्यस खेलमा भएको ४-१ को विजयले झन् सशक्त बन्यो।

ब्रजिली टोली अब शुक्रवार दर्शकहरूलाई थप मनोरञ्जन गराउने सुरमा देखिन्छन्।

“अहिलेसम्मका खेलमा उनीहरूका खेलाडी, तिनको स्तर र सीप हेर्दा साँच्चिकै डरलाग्दो देखिन्छ,” क्रोएशियाका प्रशिक्षक ज्लात्को डालिचले भने।

“हामीले खेलमा अत्यन्तै आत्मविश्वास र भरोसा लिएर जाने पर्नेछ। मौकाको ताकमा रहँदै ब्रजिलसँगको खेलको मज्जा लिनुछ। त्यत्ति हो।”

सन् २०१८ को विश्वकप फाइनलमा क्रोएशिया फ्रान्ससँग हारेको थियो।

पाँच पटक उपाधि जितिसकेको ब्रजिलको निम्ति उसले अहिलेसम्मकै कडा चुनौती सामना गर्नेछ।

क्रोएशियाको गतिलो प्रदर्शनका लागि रेआल मड्रिड क्लबबाट खेल्दै आएका ३७ वर्षीय लुका मोड्रिचको ठूलो भूमिका छ। सम्भवतः यो उनको अन्तिम विश्वकप प्रतियोगिता हो।

के मेस्सीले चमत्कार गर्न सक्लान् त?

द नेदरल्यान्ड्स र आर्जेन्टिनाबीच हुने खेलले मात्रै पनि विभिन्न पुस्ताका मानिसहरूमा विभिन्न स्मृतिहरू ताजा भएर आउँछन्।

सन् १९७८ मा आर्जेन्टिनाका मारियो केम्पेजले फाइनलमा हराएर उपाधि जितेको स्मरण होस् वा सन् १९९८ मा डेनिस बर्गक्याम्पको उत्कृष्ट प्रदर्शनले आर्जेन्टिनालाई पन्छाउँदै द नेदरल्यान्ड्स सेमिफाइनल पुगेको घटना होस्। वा सन् २०१४ को त्यो नीरस भेट जसमा पेनाल्टी शूटआउटका बेला आर्जेन्टिनाका गोलरक्षक सर्जियो रोमेरो नायक भएका थिए।

जेहोस् यी दुई टोलीको प्रतिस्पर्धाको लामो इतिहास छ। यस पटक पनि त्यो इतिहास कम रोचक हुनेछैन।

यसपालि आर्जेन्टिनाका लियोनेल मेस्सीलाई हामी विश्वकपमा हामी सम्भवतः अन्तिम पटक देख्न पाउँदैछौँ। उनलाई धेरैले सबैभन्दा महान् फुटबल खेलाडी मान्छन्।

अनि नेदरल्यान्ड्सका व्यवस्थापक लुइ भान गालको पनि यो अन्तिम प्रतियोगिता हुन सक्छ।

पैँतीस वर्षका मेस्सीको काँधमा उनको पूरै देशको आशा टिकेको छ। साथै व्यक्तिगत रूपमा देशको लागि विश्वकपको उपाधि उचाल्ने उनको रहर पनि बाँकी नै छ।

एकहत्तर वर्षका भान गाल – जो यसै वर्ष प्रोस्टेट क्यान्सर रोगबाट निको भए र जसले यो प्रतियोगितापश्चात् पद त्याग्ने ठानिएको छ – को काँधमा चाहिँ तीन पटक दोस्रो स्थानमा चित्त बुझाउन बाध्य टोलीलाई उपाधि दिलाउने जिम्मेदारी छ।

उनको रणनीतिमा मेस्सीलाई रोक्ने अनि सन् २०१४ को सेमिफाइनलमा भएको हारको बदला लिने योजना पर्छन्।

“हामी हाम्रा योजनाबाट अरू टोलीहरूलाई आश्चर्यचकित पारिदिन सक्छौँ। त्यतिखेर पनि हाम्रो टोली राम्रो थियो र मेस्सीलाई बल धेरै छुन दिएका थिएनौँ,” भान गालले भनेका छन्।

तपाईँ जहाँसुकै हुनुहोस् यो शुक्रवारका विश्वकपका खेलहरू छुटाउने पक्कै मन छैन होला।

बिबिसी न्युज ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित