फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने, दोस्रो सेमिफाइनलमा फ्रान्ससँग मोरक्को २-० ले पराजित

फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने,  दोस्रो सेमिफाइनलमा फ्रान्ससँग मोरक्को २-० ले पराजित
www.europenepalikhabar.com २०७९ मंसीर २८ गते बुधबार, 14-12-2022


पोर्चुगल । मोरक्कोको स्वप्निल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको छ ।

विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम भए पनि मुख्य डिफण्डर नायेफ एग्यूर्ड चोटका कारण बाहिरिए । खेलको पाँचौं मिनेटनै थियो हर्नाण्डेजको गोलबाट फ्रान्सले अग्रता बनाइराख्न सक्याो ।

मोरक्को टिमको प्रयास र भावनाका बाबजुद फ्रान्सेली टिम अधिक प्राविधिक र सन्तुलित थियो । ७९औं मिनेटमा उस्मान डेम्बेलेलाई प्रतिस्थापन गरी मैदान छिरेको एक मिनेट नबित्दै कोलो मुआनीले गोल गरेपछि आगामी आइतबार दोहाको लुसेल रंगशालामा लियोनल मेस्सीको अर्जेन्टिनासँग फ्रान्सको् भेट निश्चित भयो ।

मोरक्कोले रोमन साइसलाई पनि चोटका कारण पहिलो हाफमै गुमायो । यद्यपी समर्थकको अटूट स्नेहका साथ उसले खेल बराबरीको नजिक पुर्याएको थियो । विशेष गरी जावद एल यामिकको प्रहार फ्रान्सेली कप्तान गोलकिपर ह्युगो लोरिसले बचाएका थिए ।

फ्रान्सका लागि लिभरपुलका डिफेण्डर इब्राहिम कोनाटेको प्रदर्शन शानदार थियो । अल बायेट रंगशालामा मोरक्कनको बाहुल्य रहेको माहोलमा फ्रान्सेली खेलाडीले आफ्नो संयमता कायम राखे । पहिलो हाफमा ओलिभर जिरोउडको एउटा प्रहार पोष्टमा लागेको थियो ।

सन् १९५८ र १९६२ मा पेले र ब्राजिलपछि ६० वर्षसम्म कुनै पनि टिमले लगातार दुईपल्ट विश्वकप जित्न सकेको छैन । फ्रान्सका लागि यसपल्ट त्यो अवसर हुनेछ । लगातार फाइनलमा पुगेको चाहीँ सन् २००२ मा ब्राजिलपछि पहिलो हो ।

साढे चार वर्षअघि रुसमा सम्पन्न विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई हराएर इतिहासमा दोस्रोपल्ट विश्वकप उपाधि उचालेको थियो ।

सेमिफाइनलमा पराजित भए पनि मोरक्कोले तेस्रो स्थानका लागि शनिबार हुने खेलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिनासँग पराजय ब्यहोेरेको थियो ।

मोरोक्कोको साहसिक प्रदर्शन तर २ गोल गर्दै फ्रान्स फाइनलमा

मोरक्कोविरुद्ध २ गोल गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे विश्वकप २०२२ को फाइनलमा आइतवार आमनेसामने हुने भएका छन् ।   शनिबार क्रोएसिया र मोरक्कोबीच तेश्रो स्थानका लागि खेल हुनेछ ।

खेलको पाँचौं मिनेटमा फ्रान्सले मोरक्कोविरुद्ध पहिलो गोल गरेको थियो भने ७९ औं मिनेटमा दोश्रो गोल गरेको थियो । सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र मोरक्कोले थप इतिहास बनाउन भने सकेन ।

मोरक्कोको फुटवल टिम एटलस लायन्स पहिले नै विश्वकप इतिहासमा सबैभन्दा सफल अफ्रिकी टोली हो । मोरक्कोले प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेर इतिहास रचेको छ ।

सेमिफाइनलमा पुग्न मोरक्कोले युरोपेली हेवीवेट्स बेल्जियम, स्पेन र पोर्चुगललाई हराएको थियो । मोरक्कोले पोर्चुगललाई हराएपछि, मुख्य प्रशिक्षक वालिद रेग्रागुईले आफ्नो टोलीलाई रकीसँग तुलना गरेका थिए ।

मोरक्को विश्वकपको क्वार्टरफाइनल र सेमिफाइनलमा पुग्ने पहिलो अरब राष्ट्र पनि हो । राष्ट्रहरू बीचको घनिष्ठ सम्बन्धको बाबजुद मोरक्को र फ्रान्सले यस अगाडि मात्र पाँच पटक खेलेका थिए । जसमा मोरक्कोले चार पटक हारेको थियो भने एक पटक बराबरी खेलेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित