सामाजिक सुरक्षा कोषमा श्रमिक आबद्धता महत्वपूर्ण उपलब्धि : डिबी क्षेत्री, उपाध्यक्ष, एनआरएनए

सामाजिक सुरक्षा कोषमा श्रमिक आबद्धता महत्वपूर्ण उपलब्धि : डिबी क्षेत्री, उपाध्यक्ष, एनआरएनए
www.europenepalikhabar.com २०७९ पुष ६ गते बुधबार, 21-12-2022


युरोप । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डिबी क्षेत्रीले सामाजिक सुरक्षा कोषमा श्रमिक आबद्धता हुनु महत्वपूर्ण उपलब्धि भनेका छन् ।

सरकारले सामाजिक सुरक्षा कोषमा श्रमिकहरुलाई आबद्ध गर्न कार्यविधि सार्वजनिक गरे पछि क्षेत्रीले स्वागत गरेका हुन् ।

क्षेत्रीले भने ‘मध्यपूर्व र मलेसियालगायतका मुलुकमा रोजगारीमा रहेका नेपाली श्रमिक अत्यन्तै जोखिममा छन् । यस्तो जोखिममा पूर्ण रोजगारीमा पनि रहनु नेपालीका लागि बाध्यता हो ।’

क्षेत्रीले ‘एउटा कामदार जोखिममा पर्दा ऊ मात्रै होइन, उसको सिंगो परिवार पनि जोखिममा पर्छ । त्यसैले हामीले कामदारलाई आर्थिक सुरक्षा प्रदान गर्न सामाजिक सुरक्षा कोषमा जोड्नका लागि धेरैअघिदेखि प्रयास गरेका थियौँ । ढिलै भए पनि यो काम सफल भएको छ’ भने ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम योगदान गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ पारित गर्दै यस्तो व्यवस्था गरेको हो । यो योजना वैशाखदेखि पूर्ण रूपमा लागू हुनेछ ।

सरकारले औद्योगिक क्षेत्रको कामदारको न्यूनतम आधारभूत पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । यसर्थ, कोषमा जोडिन चाहने वैदेशिक रोजगारीमा रहेका श्रमिकले १५ हजारको २१.३३ प्रतिशतबराबर हुन आउने रकम मासिक रूपमा योगदान गर्नुपर्ने हुन्छ ।

मन्त्रालयले पारित गरेको कार्यविधिअनुसार श्रमिकले गर्ने योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाका लागि ७.४८ प्रतिशत रकम विनियोजन गरिनेछ । वृद्ध अवस्था सुरक्षा योजनामा १३.२५ प्रतिशत रकम विनियोजन गरिएको छ । कोषमा आबद्ध हुने योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना सुविधा प्राप्त गर्नेछन् ।

प्रेस नोट : 

२० डिसेम्बर २०२२ का दिन सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यविधि तयार गरी सार्वजनिक गरेको प्रति हार्दिक आभार प्रकट गर्दछौं । 

जब नेपालमा सामाजिक सुरक्षा कोषको स्थापना भयो त्यो भन्दा पहिले देखि नै गैरआवासीय नेपाली संघले यस कोषमा विदेशमा रहेका नेपालीलाई पनि समेटिनु पर्छ भनेर वकालत तथा पैरवी गर्दै आएको थियो । ओमानमा हजारे अभियानको प्रस्तावमाथि बृहत छलफल गर्दै यो अभियान प्रारम्भिक रुपमा सुरु भई पहिलो संविधानसभाबाट वैदेशिक रोजगारमा गएकाहरुलाई समेट्नेगरी प्रस्ताव पारित गराएका थियौ र यस कार्यका लागि तत्कालीन प्रधानमन्त्री र अर्थ मन्त्रीलाई संघको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।  

यस विषयमा संघले जिम्मै लिएर सरकारसंग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो । साथमा संघमा विशेषगरी भारतसहित, मध्य पूर्व अनि अन्य श्रम बजारमा रहेका रहेका नेपाली श्रमिकको आवाजको प्रतिनिधित्व संघले गरेको थियो । आज एक दशकभन्दा बढी समयपछि त्यो छलफल र संघको पहलले मूर्त रुप लिएको छ ।  

वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक पनि सामाजिक सुरक्षा कोषमा औपचारिक रुपमा जोडिन बाटो खुलेको छ । यो हाम्रो लागि गौरवको कुरा हो । त्यसो त, संघकै तर्फबाट पटकपटक सामाजिक सुरक्षा कोष हुनुपर्छ भन्ने विषयको उठान गर्दै आएको थियो । त्यसको सम्बोधन नेपाल सरकारले गरेको महसुस हामीले गरेका छौं ।   

सन् २०१३ गैरआवासीय नेपाली संघ ओमानमा हजारे अभियानको प्रस्तावनामाथि बृहत छलफल गर्दै यो अभियान प्रारम्भिक रुपमा सुरु भएको थियो । नेपाल सरकार र सरोकारवालाहरुसंग विभिन्न चरणमा छलफल भई सन् २०१६ मा सुरक्षाकोषमा सहकार्य गर्न संघ र सरकार बीच सम्झौता भयो । त्यही वर्ष कर्मचारी सञ्चय कोषसंग पनि सम्झौता भएको थियो ।   

क्रमश सन् २०१७ देखि २०२१ सम्म पनि नेपाल सरकारका प्रधानमन्त्रीज्यूहरुले यस अभियानमा सहमति जनाउनु भएको यति लामो पहल र प्रयासपछि अहिले २०२२ को अन्त्यमा आएर यो अभियानले सफलता पाएकोमा संघ नेपाल सरकार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।  

हाल, वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउदै यस प्रणालीलाई समतामूलक र समाजवाद उन्मुख अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नको लागि नेपाल सरकारसंग संघले सहकार्य समेत गरिरहेको छ ।   

आगामी दिनमा पनि नेपाल सरकारसंग सहकार्य र समन्वय गरि यो कार्यको प्रचार प्रसार, अभिमुखीकरण एवं समयसापेक्ष योजना बनाई त्यसको कार्यक्रम गर्ने लगायतका कार्यमा हामी नेपाल सरकारको सहयात्री बन्न चाहन्छौं र सरकारले संघप्रति गरेको विश्वास र हामीले सरकारमाथि गरेको भरोसा मिलाएर यो अभियानलाई सफल बनाउन संघ प्रतिबद्ध छ ।   

अन्त्यमा, एनआरएनएको लागि एउटा उपलब्धिको दिन र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्यायको सुरुवात पनि हो । यस महान कार्यलाई सफल बनाउन भूमिका खेल्नु हुने नेपाल सरकार, सरकारी अधिकारीहरु, सरोकारवालाहरु, सम्पुर्ण गैरआवासीय नेपाली अभियन्ता तथा अग्रजहरु, सञ्चारकर्मी एवं सम्बन्धित सबैलाई धन्यबाद दिन चहान्छौं । 

डि.बि क्षेत्री, 

उपाध्यक्ष तथा प्रमुख, वैदेशिक रोजगार विभाग 

गैरआवासीय नेपाली संघ । 

मितिः २१ डिसेम्बर २०२२


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित