गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलद्वारा उपप्रधानमन्त्रीद्वय गृहमन्त्री रवि लामिछाने, तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन र श्रममन्त्री डिपी अर्यालसंग भेटघाट र छलफल

गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलद्वारा उपप्रधानमन्त्रीद्वय गृहमन्त्री  रवि लामिछाने, तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन र श्रममन्त्री डिपी अर्यालसंग भेटघाट र छलफल
२०७९ माघ ४ गते बुधबार, 18-01-2023


गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ :  गृहमन्त्री

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र उपप्रधानमन्त्री एवं गृहमन्त्री  रवि लामिछानेलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । संघले हालसम्म गरिआएको काम,नेपाल सरकारको तर्फबाट सम्बोधन भई आएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा गृहमन्त्री लामिछानेलाई ज्ञापन पत्र  बुझाएको हो । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा संघका कार्यकारी अध्यक्ष रबिना थापाले संविधानले नै परिकल्पना गरेको गैरआवासीय नेपाली नागरिकतालाई तत्काल कार्यान्वयनमा ल्याउन संघको तर्फबाट गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराउनुभयो । बैदेशिक रोजगारीका नाममा टर्की, पूर्वी यूरोपका बुलगेरिया, क्रोएसिया, हंगेरी, रोमानिया,स्लोभाकिया लगायतका मुलुकमा बढ्दो मानव तस्करी अन्त्य गर्न ठोस् कदम चाल्न नेपाल सरकारले यथाशिघ्र पहल नगरेर भयावह स्थिति आउनेतर्फ सचेत गराउँदै अध्यक्ष थापाले सरकारले व्यवस्थित र प्रभावकारी रुपमा उक्त समस्याको हल गर्नुपर्नेमा जोड दिनुभयो।

यस्तै संघका अर्का अध्यक्ष डा बद्री केसीले संविधानको धारा २९१ ले विदेशमा रहेका नेपालीको मौलिक हक कुण्ठित गरेको भन्दै उक्त धारा हटाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष केसीले गैरआवासीय नेपालीलाई विदेशी सरहको व्यवहार गर्दा लाखौँ गैरआवासीय नेपालीले विभेदमा परेको महसुस गरेको भन्दै त्यस्तो विभेदकारी अवस्थाको अन्त्यका लागि सरकारसँग आग्रह गर्नुभयो । विदेशमा रहेका नेपालीले हवाई यात्रा गर्दा होस् वा लगानीका लागि ठाउँ खोज्दा पनि विदेशीलाई जस्तै व्यवहार गर्दा निराश हुनुपरेको भन्दै गृहमन्त्रीसमक्ष गुनासो गर्नुभयो । दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई अध्ययन, रोजगारी, खेलकुद तथा अन्य माध्यमबाट नेपालसँग आबद्ध गराउनका  आवश्यक व्यवस्था गर्न र विदेशबाट नेपाल पढ्न आउने गैरआवासीय नेपाली विद्यार्थीहरुलाई नेपाली विद्यार्थी सरह पाउने सुविधाको व्यवस्था र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारका लागि पहल गरिदिन समेत अध्यक्ष केसीले गृहमन्त्री लामिछानेलाई आग्रह गर्नुभयो ।

भेटका क्रममा संघका अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकतालाई तत्काल कार्यान्वयनमा ल्याउन यही संसदमार्फत प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । अध्यक्ष आचार्यले गैरआवासीय नेपालीले भिसा प्रक्रियामा भोग्नुपरेका समस्या, एयरपोर्टमा देखिएका समस्या लगायतका विषयमा गृहमन्त्री लामिछानेलाई जानकारी गराउनुभयो । अध्यक्ष आचार्यले त्रिभुवन विमानस्थपलमा यसअघि सञ्चालनमा ल्याएको एनआरएन हेल्प डेस्क हाल बन्द रहेकोप्रति ध्यानाकर्षण गराउँदै त्यसलाई निरन्तर रुपमा सञ्चालनमा ल्याउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

भेटका क्रममा उपस्थित संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाल सरकारसँग गैरआवासीय नेपालीहरु सबै क्षेत्रमा सहकार्य गर्न तयार रहेकोले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभयो । विदेशमा रहेका लाखौं नेपाली नेपालका लागि केही गर्न लालायित रहेको भन्दै महतोले त्यसलाई सरकारले प्रोत्साहन गर्न सके मुलुकको आर्थिक समृद्धिमा मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

संघका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दा यथाशक्य छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली संघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा थप  गिजोलिएको बताउनुभयो । उहाँले भन्नुभयो, Æनागरिकताको सवालमा सबै कुरा एकै ठाउँमा हालियो सायद त्यसले गर्दा यो गिजोलियो । एक एक गर्दै  ति गिजोलिएका विषयलाई केलाउँनु जरुरी छ ।  त्यसमा देखा परेका समस्या समाधानको जिम्मेवारी गृह मन्त्रालयको हो, र त्यो जिम्मेवारी पूरा गर्न मन्त्रालय सक्षम, सबल छ र प्रतिबद्ध छ ।

गृहमन्त्री लामिछानेले विदेशमा भएका नेपालीको लगानीलाई सुरक्षित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको  बताउनुभयो । गैर आवासिय नेपालीहरुले भोग्नुपरेको कानूनी र व्यवहारिक कठिनाइबारे सरकार जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने र नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि प्रक्रियागत रुपमा अघि बढ्ने उहाँको भनाई थियो । यस्तै, गैरआवासीय नेपालीको पैतृक सम्पतीको हकसम्बन्धी विषयलाई पनि क्रमशः टुंग्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । नेपाल विकासका सबै क्षेत्रमा सरकारले गैरआवासीय नेपालीसँग साझेदारी गर्ने भन्दै गृहमन्त्री लामिछानेले त्यसको लागि सबै मन्त्रालयगत सहकार्य र समन्वयसहित गृह मन्त्रालयले प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपालीका मागप्रति सकारात्मक छौँ : उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्रप्रसाद  लिङ्देन

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र उपप्रधानमन्त्री एवं उर्जा तथा सिँचाईमन्त्री राजेन्द्र प्रसाद लिङ्देनलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । संघले हालसम्म गरिआएको काम,नेपाल सरकारको तर्फबाट सम्बोधन भई आएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा उपप्रधान मन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री लिङ्देन लाई ज्ञापन पत्र  बुझाएको हो ।

भेटका क्रममा संघका कार्यकारी अध्यक्ष रबिना थापा, अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा  संघले लामो समयदेखि उठाउँदै आएका माग पूरा गर्न मन्त्री लिङ्देनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो  ।

जवाफमा मन्त्री लिङ्देनले गैरआवासीय नेपालीका मागप्रति सकारात्मक रहेको भन्दै तिनलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । नेपालको उर्जा आर्थिक तथा अन्य सबै क्षेत्रमा पनि गैरआवासीय नेपालीलाई सहभागी गराउँदै अघि बढ्ने उहाँको भनाई थियो ।

भेटका अवसरमा संघका अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका महिला सचिव राधिका गुरुङ,  सचिव खगेन्द्र न्यौपाने, प्रवक्ता सोम सापकोटा युवा संयोजक अब्दुल वसिद, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, एनसीसी टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

श्रम, रोजगार तथा सुरक्षा मन्त्री डिपी अर्याललाई गैरआवासीय नेपाली संघको आग्रह  : ‘युरोपियन देशमा बढ्दै गएको मानव तस्करी अन्त्यका लागि  तत्काल ठोस कदम चाल्नुस् नत्र अवस्था भयावह बन्न सक्छ ।’

अध्ययन र अन्तरमन्त्रालयगत सहकार्य र समन्वयबाट छिट्टै मानव तस्करी लगायत श्रमिकका सबै समस्या समाधान गर्न पहल गर्छु :  श्रम, रोजगार तथा सुरक्षा मन्त्री डिपी अर्याल

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद(डिपी) अर्याललाई वैदेशिक रोजगारीको बहानामा पछिल्लो समय यूरोपेली देशहरुमा बढ्दै गएको मानव तस्करी अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन् । संघका प्रतिनिधिहरुले मन्त्री अर्याललाई टर्की, पूर्वी यूरोपका बुलगेरिया, क्रोएसिया, हंगेरी, रोमानिया,स्लोभाकिया लगायतका मुलुकमा बढ्दो मानव तस्करीबारे जानकारी गराउँदै त्यसलाई रोक्न तत्काल पहल नगरे भयावह समस्या निम्तनेतर्फ ध्यानाकर्षण गराएका हुन् ।


सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा संघकी कार्यकारी अध्यक्ष रबिना थापासहित संघका दुई अध्यक्षद्वय डा बद्री केसी र कुल आचार्यले विभिन्न प्रलोभन देखाएका नेपालका श्रमिकलाई बिना कुनै सीप र अभिमुखीकरण यूरोप पुर्याउने आश्वासनमा मानव तस्करी बढीरहेकोले नेपाल सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । अध्यक्षत्रयले टर्कीमा पछिल्लो समय नेपालीले नेपालीलाई नै फिरौतीका लागि अपहरण गर्ने, ज्यान मार्ने धम्की दिने र डराउने  लगायतका आपराधिक गतिविधि समेत गरिरहेको भन्दै त्यसतर्फ नेपाल सरकारले ध्यान दिई तत्काल प्रक्रियागत रुपमा समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । अवैधानिक रुपमा युरोप छिर्न खोज्दा कयौँ नेपालीको ज्यान जाने गरेको जानकारी गराउँदै अध्यक्षत्रयले संयुक्त रुपमा समस्याग्रस्त देशमा सरकारको उपस्थिति र त्यहाँको सरकारसँग संवाद अघि बढाउन आग्रह गर्नुभयो । टर्की लगायतका कतिपय देशमा राजदूतास र कन्सुलर सेवा समेत नहुँदा त्यहाँका नेपालीहरुले ठूलो समस्या भोग्नुपरेकोले त्यसबारे पनि अध्यक्षत्रयले मन्त्री अर्याललाई जानकारी गराउनुभयो ।

गैरआवासीय नेपाली संघले लामो समयदेखि पहल गरिरहेका सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएकोप्रति खुशी व्यक्त गर्दै उक्त कोषमा विदेशमा रहेका सबै श्रमिकलाई आबद्ध गराउन सरकारले थप योजना बनाउनुपर्ने  र कोषमा सरकारको तर्फबाट पनि आर्थिक योगदान हुनुपर्नेमा संघले जोड दिएको छ ।

यस्तै, रेमिट्यान्टस्लाई वैधानिक मार्गबाट ल्याउन प्रोत्साहन गर्नुपर्ने, विदेशमा विभिन्न कारण ज्यान गुमाएका नेपालीको शव व्यवस्थापनमा ध्यान दिनुपर्ने, विदेशबाट फर्किएकालाई स्वरोजगार कार्यक्रम र पुर्नएकीकरण गर्नेपर्ने लगायतका विषयमा उहाँहरुले संयुक्त रुपमा मन्त्री अर्यालमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

संघका उपाध्यक्ष, राजेन्द्रकुमार शर्माले मध्यपूर्वमा रोजगारीमा जाने नेपाली श्रमिकहरु सधैँ सरकारको उपेक्षामा पर्ने गरेको भन्दै उनीहरुलाई सीपमुलक तालिमसहित गन्तव्य मुलुकको कानून, भाषा र त्यहाँका पालना गर्नुपर्ने न्यूनतम नीति नियमका सम्बन्धमा सचेत बनाउन मात्रै विदेश पठाउनुपर्ने भन्दै मन्त्री अर्यालको ध्यानाकर्षण गराउनुभयो । यस्तै, विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक रुपमा बैंकिङ च्यानलमार्फत ल्याउन श्रम मन्त्रालयले अन्तरमन्त्रालयगत सहकार्य र समन्वय गर्नुपर्ने, गन्तव्य मुलुकमा रहेका एनआरएनएका प्रतिनिधिहरुसँग सहकार्य गरी सचेतनामुलुक कार्यक्रम गर्नुपर्नेमा उपाध्यक्ष शर्माले जोड दिनुभयो । 

जवाफमा, मन्त्री अर्यालले मानव तस्करीको जालो पन्छाउन नेपाल सरकारले ठोस कदम चाल्ने  प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि अध्ययन आवश्यक भएकोले पहिले अध्ययन गर्ने र अन्तरमन्त्रालयगत रुपमा सहकार्य र समन्वय गरेर अघि बढ्ने मन्त्री अर्यालको भनाई थियो । उहाँले भन्नुभयो, “ तपाईहरुले भनेको सबै विषयमा अध्ययन र अन्तरमन्त्रालयगत सहकार्य र समन्वयबाट छिट्टै मानव तस्करी लगायत श्रमिकका सबै समस्या समाधान गर्न पहल गर्छु ।” अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौँ नेपाली श्रमिकहरुको समस्याबारे आफू जानकार रहेको र लामो समय विदेशमा रहँदा उनीहरुका समस्यालाई प्रत्यक्ष रुपमा देखेको, भोगेको भएकोले पनि उनीहरुको हक हितका लागि आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म पनि श्रमिक नै हुँ, श्रमिककै आवाज बोल्न र उहाँहरुकै काम गर्न यहाँ आएको हुँ, मैले आफ्नो र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै काम गर्न म प्रतिबद्ध छु ।”


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित