गैरआवासीय नेपालीको चाहना सम्बन्धी ऐन मार्फत छिट्टै सम्बोधन हुन्छ : पूर्व परराष्ट्र मन्त्री ज्ञवाली

गैरआवासीय नेपालीको चाहना सम्बन्धी ऐन मार्फत छिट्टै सम्बोधन हुन्छ : पूर्व परराष्ट्र मन्त्री  ज्ञवाली
www.europenepalikhabar.com २०७९ फागुन ७ गते आइतबार, 19-02-2023


पोर्चुगल । नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ६ महिना भित्रै गैर आवासीय नेपाली सम्बन्धी ऐन आउने र  गैरआवासीय नेपालीको चाहना पूरा हुने जनाएका छन् ।

गैर आवासीय नेपाली संघ अमेरिका र गैरआवासीय नेपाली संघ क्यानडाद्वारा आइतबार संयुक्तरुपमा भर्चुएल माध्यमबाट आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै ज्ञवालीले नयाँ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा ६ महिनाभित्र १२ वटा ऐन बनाउने कुरा रहेको र यसमा नागरिकता र गैरआवासीय नेपालीको विषय सम्बोधन हुने बताए । ‘हामीले यो आर्थिक वर्षभित्र यो समस्या समाधान गछौं । त्यसैगरी नेपालमा गैर आवासीय नेपालीहरुका विषयमापनि काम गर्छौं । अस्तिको फैसलाले केही त्रास भए पनि तपाईंहरु ढुक्क हुनुस रवि लामिछानेको जस्तै तपाईंहरुको पनि सम्पत्ति दायाँ बायाँ हुँदैन । हामी छौं,’ उनले भने।

‘अब विधेयक अघि बढ्छ । अहिले त ड्राफ्ट मात्रै भएको छ । संसदमा पुगेपछि घनिभूत छलफल हुने छ । संविधान प्रष्ट छ, ऐन बनाउने प्रक्रियामा छौं नियमावलीमा केही समस्या छ भने संविधान अनुसार समाधान गर्ने छौं । संविधानको स्प्रिट अनुसार गैर आवासीय नेपालीहरुले आफ्नो अधिकार निर्वाधरुपमा प्रयोग गर्न पाउनुहुन्छ । नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका अपरिहार्य छ । तपाईंहरुको समस्या समाधानका लागि एमाले र म व्यक्तिगतरुपमा सधैं साथ रहन्छौं,’ उनले भने ।

अन्तरक्रियालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता प्राध्यापक गान्धी पन्डितले रवि लामिछानेको नागरिकता प्रकरणले संशय उत्पन्न भएको बताए। ‘उहाँले अमेरिकाको लिएकाले नेपाली नागरिकता कायम रहेन । खारेज भएको होइन । उहाँ नेपाल आएपछि अमेरिकी पासपोर्ट त्याग्नु भयो । त्यो त्याग गरेको सूचना जिल्ला प्रशासन कार्यालयमा जानकारी नगराएकाले उहाँको विपक्षमा फैसला आएको हो,’ पण्डितले भने।

‘नागरिकता ऐनमा विदेशी नागरिकता प्राप्त गरेको खण्डमा नेपाली नागरिकता कायम हुने छैन भन्ने लेखेको छ। नेपाली नागरिकता छाडेर विदेशको नागरिकता लिएपछि उनीहरुको नेपालको सम्पत्ति के हुने भन्ने प्रश्न पनि गर्ने गरिन्छ । गैर आवासीय नेपालीले सम्पत्ति किन्न पनि सक्छन र पैतृक सम्पत्ति बेच्न पनि सक्छन् । त्यसरी बेचेको सम्पत्ति डलरमा परिवर्तन गरेर विदेश लैजान भने बन्देज लगाएको छ । एनआरएनको हिसावले गरेको लगानीबाट प्राप्त मुनाफा भने लैजान पाउनुहुन्छ । एनआरएनएहरुले नेपाल आउँदा, प्लेन चढ्दा र जग्गा पास गर्दा नेपालको नागरिकता प्रयोग गर्ने गरेको पनि देखिएको छ । यसले समस्या पार्छ,’ पण्डितले भने।

गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले अहिले विदेशमा बस्ने नेपालीहरु झस्किएको र तर्सिएको अवस्थामा रहेको बताइन्। ‘संविधान अनुसार राजनीतिक अधिकार बाहेक अन्य सुविधाहरुको कुराहरु प्रयोग गर्दा परिचय पत्रले प्रष्ट पार्नु पर्छ । अंश र अपुतालि सुरक्षित गरेको कुरा पनि छ, तर यहाँ प्रष्ट छैन । धेरै नेताहरुले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्नुस् भनेर मिठा कुराहरु गर्नुहुन्छ । यसमा अब हाम्रो लगानी र सम्पत्ति कसरी जोगिन्छ त ? यो पनि गम्भीर प्रश्न छ । गैर आवासीय नेपालीको नागरिकताको कुरा हाम्रै पालामै सम्भव छ । बंशजको आधारमा नागरिकता निरन्तरता भयो भने यसले पक्कै नेपालीहरुको भलो गर्छ,’ थापाले भनिन्।

गैर आवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकता सँगै एनआरएनए एक्ट पनि संगसँगै आउनु पर्ने बताए । त्यो आयो भने धेरै समस्या समाधान हुन्छ । एनआरएनएका विदेशी श्रीमान वा श्रीमतीलाई कुनै अधिकार छैन, एनआरएनकार्ड पनि पाउँदैनन् । गैरआवासीय नागरिकता बंशजका आधारमा निरन्तरता हुन्छ की हुँदैन त्यो विषय पनि गम्भीर छ,’ उनले भने।

गैर आवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले गैरआवासीय नेपालीहरु ८ प्रकारका रहेको बताए । दोहोरो नागरिकता प्रयोग नहुने देशमा रहेका एनआरएनएलाई अप्ठेरो हुन्थ्यो । पहिला राजनीतिक अधिकार नपाउने भनिएको थियो, अहिले प्रशासनिक अधिकार पनि नपाउने भन्ने कुरा छ । तर अहिले विदेशमा बसेर नेपालमा गएर काम गर्न नपाउने हो कि आर्थिक आवश्यकताका लागि मात्रै एनआरएनलाई प्रयोग गर्न खोजिएको हो ?’ उनले प्रश्न गरे।

आफ्नो स्वागत मन्तव्यमा एनआरएन एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले नागरिकताको सवाल अहिले पेचिलो बनेको बताए । सर्वोच्च अदालतको फैसलापछि विदेशमा बसेका नेपालीहरुको मनमा त्रास बढेको छ । विदेशमा बसे पनि पुरानै नागरिकताका आधारमा नेपालमा पनि धन सम्पत्तिहरु जोड्नु भएको छ, यो सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने विषयमा पनि कुराहरु आउनु पर्छ । गैर आवासीय नागरिकताको विषयमा ३ पुस्तासम्मको कुराहरुमात्रै उल्लेख गरिएको छ । यस्तो अवस्थामा ३ पुस्तापछि के हुने त्यो पनि प्रष्ट हुन जरुरी छ, उनले भने।

गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दीपक गौतमले कार्यक्रम संचालन गरेका थिए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित