लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी जुलाई २६ र २७ तारिख हुने निर्वाचनमा अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार साँझ लन्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत पुडासैनीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन् । वर्तमानमा एनआरएनए अन्तर्राष्ट्रिय समितिका केन्द्रीय सदस्य रहेका पुडासैनी लामो समयदेखि बेलायतमा सामाजिक, राजनीतिक तथा श्रमिक अधिकारका क्षेत्रहरूमा सक्रिय रहँदै आएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै उनले एनआरएन अभियानलाई थप एकीकृत, समावेशी र जिम्मेवार बनाउन अध्यक्ष पदमा उम्मेदवारी दिएको स्पष्ट पारे। पुडासैनीले प्रस्तुत गरेका प्रमुख प्रतिबद्धताहरूमा एकताबद्ध र एउटै एनआरएन निर्माण, नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्ने, नेपालमा रहेका गैरआवासीय नेपालीहरूको सम्पत्तिको सुरक्षा, पूर्व गोर्खाहरूको समानताको लडाइँमा ऐक्यबद्धता जनाउने, एनआरएनएमा नयाँ पुस्ताको सक्रिय सहभागिता बढाउने, नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धन तथा नेपाली विद्यार्थी र श्रमिकहरूको अधिकार एवं सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्नेजस्ता विषयहरू रहेका छन्।
बेलायतस्थित GMB National Union मा सचिव पदमा कार्यरत पुडासैनीले बेलायतमा श्रमिक हकहितका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। यसअघि उनले विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तथा सल्लाहकारको भूमिकासमेत सम्हालिसकेका छन्। अध्यक्ष पदमा उनको उम्मेदवारीसँगै आगामी एनआरएन यूके निर्वाचनमा प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।
पुडासैनीले एकतावद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाजको समानता लडाईंमा ऐेक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन एवं प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरुको अधिकार तथा सुरक्षा जस्ता विषय आफ्नो प्रमुख मुद्धा भएको उनले बताए ।
एनआरएनए अभियानमा एकतावद्ध भएर लागे सबै मुद्दा समाधान गर्न सकिने उनको आत्मविश्वास छ । एनआरएनए यूकेलाई नमुना संस्था बनाउने आफूसंग विशेष ‘रोडम्याप’ भएको उनको जिकिर थियो ।
अन्याय अत्याचारविरुद्ध लड्ने र अप्ठेरो परेका मानिसलाई सहयोग गर्ने आफ्नो स्वभाव रहेको बताउंदै पुडासैनीले समाजकै लागि काम गर्ने अठोट व्यक्त गरे ।
निर्वाचनका बेला आफैंले शुल्क तिरेर सदस्यता बनाइदिने, डेलिगेट्समा हानथाप गर्ने, केन्द्रमा नेतृत्व चुन्न ‘गुप्रिजम’ गर्ने प्रवृत्तिले संस्थामा विवाद र छवि बिग्रिएको पुडासैनीले जनाए ।
को हुन् पुडासैनी ?
नुवाकोटको साविक जिलिङ गाउंपालिका २, हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा पुडासैनी स्वर्गीय उपेन्द्र पुडासैनी तथा माता लोकमाया पुडासैनीको माइला सुपुत्र हुन् । उनी २५ वर्ष अगाडि बेलायत आएका थिए ।
पढाइकै क्रममा बेलायतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स उत्रिर्ण पश्चात विगत १५ वर्षदेखि स्वास्थ्य सेवा विभागमा कार्यरत छन् उनी । ३ छोरा, २ नाती, १ नातिनीका हजुरबुवा उनी विद्यार्थीकालदेखि नै सामाजिक रुपान्तरणमा क्रियाशील थिए ।
नेपालमा रहंदा त्यतिबेला प्रख्यात सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति समेत भएका पुडासैनी बेलायतको ट्रेड युनियन आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गरिरहेका छन् ।
बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थको सचिव पदमा रहि श्रमिकहरुको हकहितको पैरबी गर्दैछन् ।
सामाजिक अन्तरघुलनमा विश्वास गर्ने उनी सन् २०१४ मा लन्डन बरो अफ ह्यारोको ह्यारो अन द हिलबाट काउन्सिलर पदमा प्रत्यासी उनी राजनीति र समाजसेवालाई शुद्धीकरणमा विश्वास गर्छन् । हाल इसेक्सको हार्लो शहरका स्थायी बासिन्दा उनी बेलायतको विभिन्न सामाजिक संघसंस्था जस्तै यती नेपाली एसोसिएसन यूकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुंदै एनआरएनए अन्तराष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्य समेत थिए ।
नेपालमा महाभूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपदहरुमा बेलायती स्वास्थ्यकर्मीहरुको नेतृत्व गर्दै आफूले उल्लेख्य सहयोग गरेको उनले बताए ।
उक्त कार्यक्रम सञ्चालन गर्दै प्रवासी नेपाली मञ्च बेलायतका पूर्व अध्यक्ष दिनेश घिमिरेले संस्था वयस्क लेभलमा पुगेकाले जवानीको जोस भने जस्तै कहिलेकाहीं ठेलम ठेल हुनु स्वभाविक भएको बताए । अब सक्षम नेतृत्वका लागि पुडासैनी उपयुक्त उम्मेदवार भएको घिमिरेले बताए ।
सदस्यता लिने अन्तिम मिति २५ जुन
एनआरएनए यूके निर्वाचन समितिले एमआइएस प्रणालीमार्फत सदस्यता लिने अन्तिम मिति २५ जुन, २०२५, राती ११ः५९ सम्म भएको जनाएको छ । उक्त कार्यक्रमका वक्ताहरुले नयां सदस्यता लिन वा नवीकरण गर्न अपिल गरेका छन् ।
संघको मतदान अनलाइनमार्फत २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय छ ।
निर्वाचन समितिले आइओएस तथा एन्ड्रोयड स्मार्ट फोनमा स्मार्ट एनआरएनए एप डाउनलोड गरि सदस्यता बन्न सकिने जनाएको छ ।
नवीकरणका लागि अत्यावश्यक बाहेक कागजात पुनः दिइरहनु पर्ने झन्झट यसपटक नरहेको समितिको भनाइ छ । स्मार्ट एनआरएनए एपमार्फत सदस्यता शुल्क तिरेको प्रमाण राखे पञ्चात सदस्यता तत्कालै स्वीकृत हुने पनि समितिले जनाएको छ ।
FOUNDER/CHIEF EDITOR :