एनआरएनए आइसीसीद्वारा वैधानिकता बारे स्पष्ट पार्दै संसारभरिका नेपाली दूतावास र नियोगलाई पत्राचार

एनआरएनए आइसीसीद्वारा वैधानिकता बारे स्पष्ट पार्दै संसारभरिका नेपाली दूतावास र नियोगलाई पत्राचार
www.europenepalikhabar.com २०८२ जेठ २८ गते बुधबार, 11-06-2025


Ref. N-412/023-25                                                                                                                                  मितिः २०८२/०२/२८

महामहिम राजदूत तथा नियोग प्रमुखज्यू

नेपाली दूतावास तथा नियोग सबै ।

विषय: गैरआवासीय नेपाली संघको आधिकारिक कार्यसमितिको सम्बन्धमा ।

महोदय,

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधानविपरीत ढंगले तथाकथित "एकता महाधिवेशन" को नाममा कार्यसमिति गठन गरिएको घोषणा गर्दै विभिन्न भेटघाट तथा गतिविधिहरू सञ्चालन   भैरहेको पाइएको छ। यस सन्दर्भमा स्पष्ट जानकारी गराइन्छ कि, संघको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट विधिसम्मत रूपमा निर्वाचित सन् २०२३-२०२५ कार्यकालको डा. बद्री केसी अध्यक्षतामा गठित अन्तर्राष्ट्रिय समन्वय परिषद् ("कार्यसमिति") नै हाल विधिसम्मत र वैध कार्यकारी निकायका रूपमा क्रियाशील रहेको छ। मिति २०८२ बैशाख २३ (तदनुसार सन् २०२५ मे ६) मा सम्मानित सर्वोच्च अदालतबाट निवेदन नं ०८०-WO- ११५७  मा सुनुवाई हुँदा डा. बद्री केसी नेतृत्वको कार्यसमितिको पदावधि २०८२ कार्तिक ४ (सन् २०२५ अक्टोबर २१) सम्म रहेको भनेर उल्लेख गरिएको समेत जानकारी मै रहेको छ । उक्त आदेशले उच्चस्तरीय समितिको नाममा सम्पन्न भएको भनिएको 'एकता अधिवेशन' सम्बन्धमै प्रश्न उठाउँदै त्यस विषयमा निर्णय गर्न पूर्ण इजलासमा पठाइसकेको  पुन: स्मरण गराइन्छ।

सम्मानित सर्वोच्च अदालतमा विचाराधीन विषयमा परराष्ट्र मन्त्रालयले कुनै कानुनी आधारबिना 'निर्णयकर्ता' झैं व्यवहार गर्दै कथित एकता महाधिवेशन सम्पन्न भएको र नयाँ कार्यसमिति गठन भएको भनी देखाउने प्रकारको पत्राचार तहाँ यसअघि पनि गरिएकोमा संघले  मिति २०८२/०२/२१ (सन् २०२५ जुन ४) मा परिपत्र गरि  उक्त पत्राचार कानुनसम्मत नभएको भनि ध्यानाकर्षण गराइसकेको जानकारी गराइन्छ । उक्त पत्र यसै पत्रसाथ संलग्न गरिएको छ । 

लोकतान्त्रिक विधि तथा पद्धत्तिबाट निर्वाचित भई विधिसम्मत रुपमा कार्यरत डा. बद्री केसीको अध्यक्षतामा रहेको कार्यसमितिद्वारा आयोजित विभिन्न कार्यक्रमहरूमा स्वयं प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारका सम्माननीय मन्त्रीज्यूहरूले सक्रिय सहभागिता जनाउँदै आइरहनु भएको र  उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद् लगायतका विभिन्न सरकारी समितिहरूमा संघको अध्यक्षको हैसियतमा डा. केसीले निरन्तर समन्वय र सक्रिय सहभागिता जनाउँदै आउनु भएको समेत यहाँहरुको जानकारीका लागि अनुरोध गरिन्छ । 

यसर्थ, संघको विधानविपरीत ढंगले सञ्चालन गरिने यस्ता कार्यहरूले डायस्पोरामा सामाजिक सद्भाव विथोलिने र अनावश्यक विभाजनको स्थिति सृजना हुनसक्ने भएकाले पनि संघको नाममा हुने विधानविपरीतका कुनै पनि गतिविधिमा सहयोग, समर्थन नगर्नुहुन अनुरोध गरिन्छ।

अन्त्यमा, संघले लामो समयदेखि जारी राखेको सहकार्य, समन्वय र सकारात्मक भूमिकालाई सदा कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै तहाँबाट सदाझै पाइरहेको सहयोग र समर्थनको अपेक्षाका साथ,

भवदीय,

गौरी राज जोशी

महासचिव

अन्तर्राष्ट्रिय समन्वय परिषद्

(सन् २०२३-२०२५ कार्यकाल)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित