मुलुक बाहिर रहेका नेपालीले कुनैपनि प्रकारको दु:ख पाउन हुँदैन : परराष्ट्रमन्त्री पौड्याल

मुलुक बाहिर रहेका नेपालीले कुनैपनि प्रकारको दु:ख पाउन हुँदैन : परराष्ट्रमन्त्री पौड्याल
www.europenepalikhabar.com २०७९ फागुन १२ गते शुक्रबार, 24-02-2023


परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीति नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन् ।

परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाल बाहिर रहेका नेपालीलाई आइपरेका समस्या तत्काल समाधान गर्न पनि आग्रह गरिन् ।

उनले दूतावासहरूलाई मित्रराष्ट्रसँग सम्बन्ध विस्तार गर्न, विकास सहयोग अभिवृद्धि गर्न, नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा  उपस्थित भई नेपालको छविलाई उकास्न निर्देशन दिइन् । 

विश्वमा छरिएर रहेका नेपालीको ज्ञान, सीप र क्षमताको पहिचान गरी आवश्यक पर्दा नेपालको विकासमा सदुपयोग गर्ने वातावरण बनाउन पनि परराष्ट्रमन्त्री पौड्यालले आग्रह गरिन्  ।

श्रमका लागि विभिन्न देशमा पुगेका नेपाली दाजुभाइ दिदीबहिनीलाई समस्या आइपर्दा प्रभावकारी सेवा दिन दूतावासहरूमा चौबिसै घण्टा सेवा दिने गरी संयन्त्र निर्माण गर्न पनि उनले विशेष जोड दिइन् । 

नेपालीले मुलुकबाहिर रहँदा कुनै पनि प्रकारका दुःख पाउन नहुने भन्दै उनले उनीहरूलाई आपत पर्दा तत्काल राहत र उद्धार गर्न कुनै कसर बाँकी नराख्न पनि उनीहरूलाई निर्देशन दिइन् ।

परराष्ट्रमन्त्री पौड्यालले सरकार परिवर्तन हुँदैमा परराष्ट्र नीति परिवर्तन नहुने बताएकी छन् । नीति अनुसन्धान प्रतिष्ठानद्वारा ‘नेपालको परराष्ट्र नीति–२०७७’ सम्बन्धी सार्वजनिक संवादमा बिहीबार मन्त्री पौड्यालले भनिन्, ‘जसरी सरकार परिवर्तन भएपिच्छे नै संविधान परिवर्तन हुँदैन । त्यसरी नै परराष्ट्र नीति पनि परिवर्तन हुँदैन ।’

मन्त्रालयले प्रतिष्ठानलाई उक्त नीतिमाथि समय सापेक्ष अनुसार पुनरावलोकन गर्नको लागि दिएको जिम्मेवारी अनुसार संवाद राखेको थियो । उक्त संवादमा पूर्व राजदूतहरु र परराष्ट्र मामिलाबारे जानकार तथा राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।

एमाले, रास्वपा र जसपाका नेताबाहेक अन्य दलका नेताहरुले भने कार्यक्रममा सहभागिता जनाएनन् । प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीले भने परराष्ट्र नीति जस्तो महत्त्वपूर्ण दस्तावेजको बारेमा छलफल गर्न बोलाउँदा समेत राजनीतिक दलका नेताहरु नभएकोमा दुःख व्यक्त गरे ।

पूर्वराजदूत रामभक्त पीबी ठाकुरले नेपालको परराष्ट्र नीति परिवर्तन नहुने उल्लेख गर्दै समय अनुसार रणनीति चाहिँ परिवर्तन हुनुपर्ने बताए । उनले आर्थिक कूटनीतिकभन्दा पनि नेपालको सवालमा विकास कूटनीति सही शब्द रहेको उल्लेख गरे ।

नेपालका लागि अमेरिकाका पूर्वराजदूत अर्जुन कार्कीले एउटा शक्ति राष्ट्रको नेपालमा चासो बढ्दो अन्य शक्ति मुलुकहरुको पनि उत्तिकै चासो रहने बताए । उनले राष्ट्रिय सुरक्षा भनेको सेना र प्रहरी मात्र नभएर खाद्य, पूर्वाधार लगायत विषय पनि हुने प्रष्ट पारे । उनले नेपालले क्षमता अभिवृद्धि गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा कम्तीमा १२ जना राजदूतहरुको उपस्थिति रहेको थियो ।

कार्यकारी अध्यक्ष उप्रेतीका अनुसार मन्त्रालयलाई प्रतिष्ठानले तीन साताभित्रमा आवश्यक गृहकार्य गरी सल्लाह र सुझावको साथ दस्तावेज पठाउने बताए । साथै, सोही अवसरमा मन्त्री पौड्यालले प्रतिष्ठानले निकालेका दुई पुस्तकहरु ‘चाइनिज पब्लिक डिप्लोमेसी इन नेपाल’ र 'इफेक्टिभ युज अफ पब्लिक डिप्लोमेसी इन द कन्टेस्ट अफ नेपाल’ सार्वजनिक गरेकी थिइन् । उक्त दुई अनुसन्धानात्मक पुस्तक पूर्वराजदूत खगराज अधिकारी र त्रिभुवन विश्वविद्यालयकी उपप्रध्यापक लिला न्याइच्याइले लेखेका हुन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित