यसकारण अबरुद्ध बन्यो पोर्चुगल, स्पेन, फ्रान्स लगायतका देशहरूमा विद्युत आपूर्ति

यसकारण अबरुद्ध बन्यो पोर्चुगल, स्पेन, फ्रान्स लगायतका देशहरूमा विद्युत आपूर्ति
www.europenepalikhabar.com २०८२ बैशाख १५ गते सोमबार, 28-04-2025


युरोपनेपाली खबर ।

२८ अप्रिल, लिस्बन – आइतबार पोर्चुगल, स्पेन, अन्डोरा र फ्रान्सको केही दक्षिणी भागमा व्यापक रुपमा अचानक विद्युत आपूर्ति अवरुद्ध भयो । 

प्रारम्भिक अनुसन्धानका अनुसार प्राकृतिक तापमानको उच्च चाप र दवावको कारण प्रसारण लाईनको ग्रिडमा आएको उच्च कम्पनबाट सुरक्षात्मक विधी अनुसार स्वचालित रुपमा सबै सेवाहरु बन्दहुन गएको जानकारी गराईएको कारण यस्तो भयानक समस्या उत्पन्न भएको आंकलन गरिएको छ ।

यसाबाट लाखौँ मानिसहरूको जनजीवन अस्तव्यस्त बनेको थियो भने विद्युत, इन्टरनेट, टेलिफोन सेवा बन्द हुँदा एयरपोर्ट, रेल, सार्वजनिक सवारी साधन, कलकारखाना, शैक्षिक संस्थाहरु,  हस्पिटल, औषधी पसल, सुपरमार्केट, होटल रेस्टुरेन्ट लगायत अधिकांश क्षेत्र गम्भीर रूपमा प्रभावित बनेका छन् । 


विद्युत आपूर्तिको सञ्जाल व्यवस्थापन गर्ने पोर्तुगलको कम्पनी REN का अनुसार, स्पेनमा तापक्रममा आएको अचानक परिवर्तनका कारण उच्च भोल्टेज प्रसारण लाइनहरूमा अस्वाभाविक कम्पन उत्पन्न भयो। यसले युरोपेली ग्रिडमा समन्वय बिग्रिएर एकैसाथ ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द गराएको हो ।

अधिकारीहरूका अनुसार यो अवरोध कुनै साइबर आक्रमण वा आतंकवादी गतिविधिका कारण नभएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। साथै, फ्रान्सको विद्युत ट्रान्समिशन कम्पनी RTE ले आगलागीका कारण अवरोध भएको आशंकालाई समेत नकारेको छ।

विद्युत अवरोधका कारण स्पेनको म्याड्रिड, बार्सिलोना र भ्यालेन्सिया जस्ता प्रमुख शहरहरूमा मेट्रो सेवा ठप्प भएको थियो। ट्राफिक बत्तीहरू बन्द हुँदा सडक यातायात अव्यवस्थित बनेको छ। अस्पतालहरू आपतकालीन जनरेटरमार्फत सेवा दिइरहेका छन् भने मोबाइल नेटवर्क र डिजिटल भुक्तानी सेवा समेत प्रभावित भएका छन्।

पोर्तुगलको राजधानी लिस्बनमा पनि मेट्रो र रेल सेवा ठप्प रह्यो। विमानस्थलमा केही घण्टाका लागि उडानहरू अवरुद्ध भएका थिए भने राजधानीका विभिन्न स्थानमा ट्राफिक बत्ती बन्द हुँदा दैनिक जनजीवन प्रभावित भएको छ।

अन्डोरा र फ्रान्सको दक्षिणी क्षेत्रमा पनि केही घण्टाका लागि विद्युत आपूर्ति बन्द भएको थियो। यद्यपि, फ्रान्समा सेवा छिट्टै पुनःस्थापना गरिएको बताइएको छ।

विद्युत अवरोधपछि अधिकारीहरूको प्रयासमा क्रमशः सेवा पुनःस्थापना हुँदै गएको छ। पोर्तुगल र स्पेनका विद्युत प्राधिकरणका अनुसार स्थानीय समय अनुसार बेलुका लगभग ९:०० बजे विद्युत आपूर्ति अधिकांश क्षेत्रमा सुचारु भएको जानकारी दिइएको छ। यद्यपि, केही क्षेत्रमा अझै पूर्ण रूपमा सेवा बहाली हुन समय लाग्न सक्ने जनाइएको छ।

स्पेनको विद्युत कम्पनी Red Eléctrica का अनुसार, विद्युत आपूर्ति सामान्य अवस्थामा फर्काउन ६ देखि १० घण्टा लाग्न सक्नेछ। यद्यपि, पूर्णरूपमा प्रणाली स्थिर हुन केही दिन लाग्ने अनुमान गरिएको छ।

विद्युत अवरोधका कारण धेरै स्थानमा खानेपानी आपूर्ति, स्वास्थ्य सेवा र संचार सेवामा अस्थायी समस्या देखिएको छ। अधिकारीहरूले आम जनतालाई धैर्य रहन र अत्यावश्यक सेवाहरूको प्रयोगमा सजग रहन आग्रह गरेका छन्।

यस्तो प्रकृतिको घटना युरोपमा अत्यन्त दुर्लभ मानिन्छ। युरोपेली विद्युत प्रसारण नेटवर्क (ENTSO-E) ले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित