२५ अप्रिल पोर्चुगलका लागि किन ऐतिहासिक र महत्त्वपूर्ण छ ?

२५ अप्रिल पोर्चुगलका लागि किन ऐतिहासिक र महत्त्वपूर्ण छ ?
www.europenepalikhabar.com २०८२ बैशाख १२ गते शुक्रबार, 25-04-2025

• राजकुमार थापा, युरोपनेपाली खबर, लिस्बन ।

२५ अप्रिल आधुनिक पोर्चुगलको लागि एउटा ऐतिहासिक र अत्यन्तै महत्त्वपूर्ण दिन हो। यस दिनलाई "Día da Liberdade"(Freedom Day अर्थात् स्वतन्त्रता दिवस) भनेर चिनिन्छ।

यो दिनलाई पोर्चुगलमा प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार, नागरिक अधिकार, महिला अधिकार, प्रेस स्वतन्त्रता, श्रमिक अधिकारको प्रतीकका रूपमा मनाइन्छ ।

सन् १९७४ मा भएको एउटा विशाल र मूलतः शान्तिपूर्ण क्रान्तिले ४८ बर्ष लामो  तत्कालीन निरकुंश र अधिनायकवादी शासन सत्तालाई ढालेको थियो, त्यो बेला सैनिकहरूले बन्दुकमा कार्नेसन फूल(लाँलीगुरास जस्तै) राखेर जनताको साथसाथमा क्रान्तिको बिगुल फुकेका थिए । त्यसकारण यो क्रान्ति "Carnation Revolution" (कार्नेसन क्रान्ति) को रूपमा पनि चिनिन्छ । सो युगान्तकारी परिवर्तनको घोषणा र  अहिलेको समृद्ध प्रजातन्त्र र गणतान्त्रिक प्रणाली आरम्भ भएको दिन २५ अप्रिललाई पोर्चुगलमा विजयोत्सवको रूपमा सम्झिने गरिन्छ ।

पोर्चुगल गणतन्त्रको प्रजातान्त्रिक प्रणालीमा राष्ट्रिय एकता, प्रजातन्त्र र स्वतन्त्रताको प्रतीकको रूपमा राष्ट्रप्रमुखमा राष्ट्रपति रहने व्यवस्था छ । हाल पोर्चुगलको महामहिम राष्ट्रपति मार्सेलो रेबेलो दि सौसा(Marcelo Rebelo de Sousa) हुनुहुन्छ ।

ऐतिहासिक पृष्ठभूमि :

१९२६ देखि पोर्चुगलमा सत्तामा रहेको अधिनायकवादी सरकार, विशेष गरी एन्तोनियो सालाजारको "एस्ताडो नोभो" (Estado Novo) प्रणालीले जनतामाथि कडा नियन्त्रण, प्रेसको स्वतन्त्रतामा अंकुश र उपनिवेशवादी युद्धहरूको कारण आलोचित हुँदै आएको थियो। खासगरी अफ्रिकामा चलिरहेका उपनिवेशवादी युद्धहरूले जनतामा असन्तुष्टि बढाएको थियो ।

अप्रिल क्रान्तिको प्रारम्भ :

२५ अप्रिल १९७४ मा, सैन्य अधिकारीहरूको एक समूह "आर्म्ड फोर्सेज मुभमेन्ट" (MFA) ले सरकारलाई अपदस्थ गर्न सैन्य कू गर्‍यो। यो क्रान्ति विशेषतः शान्तिपूर्ण थियो । सर्वसाधारण जनताले सेनालाई समर्थन गरे, र सेनाले बन्दुकको मुखमा फूल(विशेष गरी रातो लालीगुराँस-carnation)हालेर अहिंसात्मक परिवर्तनको सन्देश दिए। त्यसैले यस क्रान्तिलाई लालुप्रणाली क्रान्ति भनिएको हो ।

स्वतन्त्रता दिवसको महत्त्व :

२५ अप्रिल पोर्चुगलको लागि स्वतन्त्रता, लोकतन्त्र र मानव अधिकारको प्रतीक हो। यो दिनले पोर्चुगललाई लोकतान्त्रिक संविधान र स्वतन्त्र चुनावतर्फ डोर्‍यायो। साथै, उपनिवेशवादी शासनहरूको अन्त्य हुँदै देशले शान्ति र प्रगतिको यात्रा सुरु गर्‍यो ।

आजको दिनमा पोर्चुगलभरि परेड, साँस्कृतिक कार्यक्रम, संगीत, कविता वाचन र ऐतिहासिक स्मरण समारोहहरू आयोजना गरिन्छ।  सरकारले यो दिनमा देशभर सार्वजनिक विदा दिन्छ र यो दिनलाई राष्ट्रिय गौरवको रूपमा मनाइन्छ।२५ अप्रिलले पोर्चुगलका जनताको साहस, एकता, स्वतन्त्रता र अहिंसात्मक संघर्षद्वारा पनि परिवर्तन सम्भव छ सन्देश दिन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित