संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को बैठकमा सहभागी हुन जेनेभा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्यालको भ्रमण अन्तिम समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएका छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी पौड्याल जेनेभा जाने अनितम तयारीमा पुगेकी थिइन् । तर, प्रधानमन्त्रीको आदेश भन्दै मुख्यसचिवले परराष्ट्रमा खबर गरेर भ्रमण रोक्न भनेका थिए ।
“नजानू भन्दिनू भनेर खबर पठाएको रहेछ, खबर पाएपछि मैले भ्रमण रोकेकी छु,” मन्त्री पौड्यालले भनिन् ।
उनले भ्रमणको तयारी भने पूरा भइसकेपछि रोकिनुपरेको जानकारी दिइन् ।
“छ बजे उड्ने कार्यतालिका थियो । ३ बजे मात्र खबर आएको हो तयारी त पूरा भएकै थियो,” मन्त्री पौड्यालले भनिन्, “तर, प्रधानमन्त्रीले नै नजानू भनेपछि रोकिनुपर्यो ।”
उनले प्रधानमन्त्रीसँग किन भ्रमण रोक्नुपरेको हो भनेर सोध्ने प्रयास गरेपछि सम्पर्क हुन नसकेको बताइन् ।
“उहाँ गोरखामा हुनुहुँदो रहेछ, कुरा गर्न खोजेको पनि सम्भव भएन,” मन्त्री राईले भनिन्, “सुटकेससमेत तयार भइसकेको थियो । अब गएर खोल्छु ।”
FOUNDER/CHIEF EDITOR :