लिस्वन – नेपाली नारी समाज पोर्तुगलले ११३औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ८ मार्चमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
भर्चुअल जुम मार्फत भएको कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पोर्तुगलका लागि अवैतानिक महावणिज्य दुत मकर हमालले महिलाहरुको सशक्तिकरणका लागि यस्ता किसिमका कार्यक्रमहरुले भुमिका खेल्ने बताए । उनले विगतमा पनि नेपाली नारी समाज पोर्तुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी पोर्तुगलमा रहेका नेपाली महिलाहरुको दक्षता अभिवृद्धि गर्न सहयोग गरेको बताए ।
समाजले विगतमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र तथा महिलाहरुका लागि सिपमुलक कार्यक्रमहरु संचालन गरी दक्ष बन्न प्रेरित गरिरहेको बताउँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्न सफल होस् भनी शुभकामना दिए ।
त्यस्तै कार्यक्रममा विशेष अतिथि गैर आवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष रविन अधिकारीले समाजले विगतमा महिला सशक्तिकरणमा खेलेको भुमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन संघको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ युरोपका सहसंयोजक तिलक गैरे, गैर आवासीय नेपाली संघ युरोपका युवा सह संयोजक रोवर्ट लिम्बु, नारी समाज पोर्तुगलकी संस्थापक अध्यक्ष सीता बराल, गैरआवासीय नेपाली संघ पोर्तुगलका महासचिव राजकुमार थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नारी समाजककी अध्यक्ष सीता श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने समाजकी महासचिव पुनम गौतमले कार्यक्रम संचालन गरेकी थिइन् ।
यसैवीच समाजले स्थापनाकाल देखि संचालन गर्दै आएकाे “नेपाली पाठशाला” कक्षालाइ पुनः संचालन गर्ने तयारी गरिरहेकाे पनि कार्यक्रममा जानकारी गराईयाे । नेपाली बालबालिका लक्षित, नेपाली भाषा तथा संस्कृतिलाई प्रर्वधन गर्ने उद्देश्यले संचालन हुँदै आएकाे “नेपाली पाठशाला” काेभिड महामारीकाे समयमा स्थगित गरिएकाे थियाे । आगामी नेपाली नयाँ बर्षदेखी पुनः उक्त कक्षा शुरु गरिने घाेषणा पनि कार्यक्रममा गरिएकाे थियाे ।
FOUNDER/CHIEF EDITOR :