राजनीतिमा प्रियतावाद के हो र कति खतरनाक हुन्छ ?

राजनीतिमा प्रियतावाद के हो र कति खतरनाक हुन्छ ?
Picture : Google
www.europenepalikhabar.com २०८० बैशाख ८ गते शुक्रबार, 21-04-2023


प्रियतावाद एउटा राजनीतिक समस्या हो र यसलाई राजनीतिक रूपमै समाधान गर्नुपर्छ । मूलधारका राजनीतिक दलहरू विचार, संस्कार, पद्धति र मूल्यमान्यताले चल्नुपर्छ । लोकतन्त्रको सुन्दरता व्यक्तिवाद नभएर सामूहिक र संस्थागत वैचारिक पार्टी पद्धति नै हो ।

अहिले नेपालमा कुनै क्षेत्रमा नाम चलेका तथा बौद्धिक भनिने व्यक्तिहरू राजनीतिमा आउने र छिटोछिटो राजनीतिक दल परिवर्तन गर्ने लहरजस्तै चलेको छ । बौद्धिक व्यक्ति राजनीतिमा किन आउन खोज्छन् ? उनीहरूले किन तरल तथा अवसरवादी राजनीतिक चरित्र देखाउँछन् र छिट्टै पलायन हुन्छन् ?

यस्ता विषयमा धेरै अध्ययन पनि भएका छन् । यस आलेखमा नेपालमा उम्लिँदै गरेको प्रियतावाद र यसको चरित्रबारे चर्चा गर्न खोजिएको छ ।

प्रियतावाद के हो ?

प्रियतावाद संस्थारहित व्यक्तिगत नेतृत्व हो । कुनै एक क्षेत्रमा चर्चामा आएका तथा आफूलाई बौद्धिक ठान्ने व्यक्तिहरू राजनीतिक मूल नेतृत्वमा आउने चेस्टा हो । ‘म एक्लैले जनताको खास प्रत्यक्ष प्रतिनिधित्व गर्छु’ भन्ने प्रवृत्ति हो । ‘मैले मात्रै जनताका चाहना बुझ्छु, समस्या गहिरिएर बुझ्न सक्छु, जनताको आकांक्षाको जानकार छु, म एक्लैले ती सबै समस्या समाधान गर्न सक्छु’ भन्ने प्रवृत्ति हो । प्रियतावादीहरू बाहिरबाट हेर्दा प्रतिभाशाली देखिन्छन् । उनीहरू मुख्यत: चार प्रकारका हुन्छन्— १. अतिराष्ट्रवादी प्रियतावादी : जस्तै— डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन । २. धार्मिक प्रियतावादी : जस्तै— नरेन्द्र मोदी, राजेन्द्र लिङ्देन । ३. पहिचानवादी प्रियतावादी : जस्तै— सीके राउत, उपेन्द्र यादव । ४. स्टाइलिस्ट प्रियतावादी : जस्तै— रवि लामिछाने, रवीन्द्र मिश्र ।

प्रियतावादीसँग चारवटा चीज हुँदैनन्— १. खास राजनीतिक दल हुँदैन, भए पनि कमजोर हुन्छ र त्यो संस्थाभन्दा व्यक्तिप्रधान हुन्छ । जनतासँग सीधै जोडिन खोज्छन् । २. स्पष्ट विचारधारा हुँदैन । उदारवाद, समाजवादजस्ता राजनीतिक कथा हुँदैनन् ।

३. उत्तराधिकारी योजना हुँदैन । नेताले गलत गरेमा जनताले दण्ड दिने वा त्यसको जवाफ दिने अर्को कोही हुँदैन । ४. उनीहरूको ऐतिहासिक राजनीतिक विरासत हुँदैन जसका कारण राजनीतिक संस्कार सिक्न पाएका हुँदैनन् ।

उनीहरूसँग चारवटा विशेषता हुन्छन्— १. समस्यालाई नाटकीय रूपमा प्रस्तुत गर्ने कला, २. सामाजिक सञ्जाल तथा आफ्नै मिडियाबाट जनतासँग प्रत्यक्ष जोडिन सक्ने तागत, ३. चामत्कारिक नेतृत्व भएको स्वाङ पार्न सक्ने खुबी, ४. सूचनामा पहुँच ।

उनीहरूले मुख्यतया चारवटा काम गर्छन्— १. समस्याको

ढ्वाङ–पिटाइ, २. जुनसुकै विचारको विरोध, ३. संस्थाको विरोध, ४. स्थापित पार्टीहरूको विरोध ।

आधुनिक उदारवादका दार्शनिक फ्रान्सिस फुकुयामाले प्रियतावादलाई लोकतन्त्रको राजनीतिक रोग भनेका छन् । यसको मतलब यस्तो राजनीतिक रोग लाग्नुका निश्चित कारण हुन्छन् । मूलत: दुई वटा कारणले यस्तो रोग लाग्ने गर्छ—

१. स्थापित राजनीतिक दलहरूको अक्षमता : वैचारिक दलहरूले जनअपेक्षाअनुकूल डेलिभरी दिन सकेनन् भने जनतामा निराशा छाउँछ । आक्रोश बढ्छ । जनताले विकल्पको खोजी गर्दा त्यो आक्रोश बोकिदिने व्यक्ति भेट्टाउँछन् र त्यसैको पछि लाग्छन् । जनताले पुराना राजनीतिक दलहरूलाई दिएको यस्तो दण्डलाई प्रियतावादीहरूले आफ्नो पुरस्कारका रूपमा बुझ्छन् । यसको मतलब यस्तो भोट नयाँ व्यक्तिप्रतिको विश्वासले भन्दा पनि पुरानोको रिसले दिइएको हुन्छ । त्यसैले यो आन्तरिक कारणले पुराना पार्टीहरूले आफ्नो ‘इम्युनिटी पावर’ क्रमश: गुमाउँदै गएमा यस्तो रोगले संक्रमण गर्छ । यो रोगको आन्तरिक कारण हो ।

२. रिभोलुसनको परिणाम : अहिले प्रविधिको व्यापक विकासले समाजको जरासम्म परिवर्तन ल्याएको छ । समाजका प्राथमिकतामा बदलाव आएको छ । शोषणको प्रकृति फेरिएको छ । कामका दुनियाँ फेरिएका छन् । मानव अन्तरक्रियाका माध्यम फेरिएका छन् । आमसञ्चारभन्दा सामाजिक सञ्चार शक्तिशाली भएका छन् । यी यावत् कारण मानिसको चिन्तनमा प्रभाव परेको छ । मानिसमा छिटो नतिजा चाहिने प्रवृत्तिको विकास भएको छ । सामूहिकभन्दा व्यक्तिगत लाभ लिने प्रवृत्ति हावी भएको छ । यो रोगको बाह्य कारण हो । जहाँ आन्तरिक र बाह्य कारकबीच संगम हुन्छ, त्यहाँ रोग फैलन्छ ।

बौद्धिकहरू किन प्रियतावादी हुन्छन् ?

फ्रान्सिस फुकुयामाले सामाजिक स्वीकृति चाहने मनोविज्ञानका आधारमा मानिस दुई प्रकारका हुन्छन् भनेका छन्— १. समाजमा उनीहरूलाई सबैले सर्वोच्च ठानून् भन्ने चाहना (मेगालोथेमिया) भएका मानिसहरू, २. अरू मानिससरहको समानता चाहने (आइसोथेमिया) मानिसहरू । यी दुवै प्रकारका मानिसहरूका लागि सामाजिक पहिचान (रिकग्निसन) एक प्रकारको मनोवैज्ञानिक आवश्यकता हो । यो आवश्यकता पूरा गर्न उनीहरू उत्प्रेरित हुन्छन् । पहिलोवाला समाजमा ‘सुपेरियर’ देखिनका लागि शक्ति प्राप्त गर्न क्रियाशील रहिरहन्छन् । दोस्रो प्रकृतिका मानिसहरू समान अधिकारका लागि संघर्षरत रहन्छन् । समाजका बौद्धिक भनिने केही मानिस पहिलो कोटिमा पर्छन् जो समाजमा सधैं सुपेरियर भएर बाँच्न चाहन्छन् । अध्ययनबाट उनीहरूमा ऊर्जाको संग्रह हुन्छ, त्यो ऊर्जाले उनीहरूलाई उचालिरहेको हुन्छ । यस्ता व्यक्तिहरू यदि राजनीतिभन्दा प्राज्ञिक क्षेत्र बढी शक्तिशाली भएमा प्राज्ञिक क्षेत्रमा लाग्छन् । राजनीतिभन्दा सामाजिक अभियान शक्तिशाली भएमा त्यतै लाग्छन् । तर, नेपालमा अन्य क्षेत्रभन्दा राजनीति अलि शक्तिशाली, मिडिया कभरेज पाइने र स्वार्थ पूरा गर्ने मूल साधनका रूपमा प्रयोग हुने गरेका कारण केही बौद्धिक भनिएकाहरू राजनीतिमा आउँछन् । उनीहरूलाई सुपेरियर बन्ने महत्त्वाकांक्षी मनोविज्ञानले बेचैन बनाएका कारण धैर्य गर्ने शक्ति नै हुँदैन । यही मनोवैज्ञानिक तत्त्वका कारण उनीहरूले अरूलाई गँवार देख्छन्, ‘मैले सबै जानेको छु’ भन्छन् ।

बौद्धिक व्यक्ति मुख्यतया तीन प्रकारका हुन्छन्—

१. फिक्स माइन्डेड : उनीहरू बढी घमन्डी हुन्छन् । आफूले जे जानेको छ, त्यही नै सत्य हो भनी अडिग रहने खालका हुन्छन् । अरूको अस्तित्वलाई अस्वीकार गर्छन् । दुनीयाँ अनुसार आफू चल्ने होइन, आफू अनुसार दुनियाँ चलोस् भन्छन् ।

२. फ्लुड माइन्डेड : उनीहरू अस्थिर र तरल प्रकृतिका हुन्छन् । बौद्धिकताको उपयोग गर्ने नाममा अवसरको पछि कुद्ने हुन्छन् ।

३. ग्रोथ माइन्डेड : उनीहरू अलि लचक प्रकृतिका हुन्छन् । अरूको सम्मान गर्ने खालका हुन्छन् र निरन्तर बौद्धिक विकासमा लाग्ने हुन्छन् ।

उपर्युक्त तीनमध्ये तेस्रो प्रकृतिका बौद्धिकहरू राजनीतिमा भन्दा प्राज्ञिक काममा रमाउँछन् । अघिल्ला दुई प्रकृतिका मानिस राजनीतिमा आउन खोज्छन् । पहिलोवाला बढी बौद्धिक विलासमा रमाउने, सिद्धान्तको रटान दिने र दुनियाँ बदलिँदा पनि आफू नबदलिने हुन्छन् । नेपालका केही वामपन्थी नेता वा बुद्धिजीवीहरू यसका उदाहरण हुन् । त्यस्तै, दोस्रोवाला विचारभन्दा अवसरको पछि लाग्छन् पार्टी फेरिरहन्छन् ।

प्रियतावादीको वर्गीय पक्षधरता

नेपालमा विगतमा उचालिएर थेचारिएका र वर्तमानमा उक्सिँदै गरेकाहरूका चर्तिकला हेर्दा उनीहरूले मूलत: मध्यम वर्ग र पुँजीपति वर्गको पक्षपोषण गरेको देखिन्छ । उनीहरू हिजो शिक्षा र सुविधामा अवसर पाएकाहरू हुन् । अधिकांशत: सुविधा पाएर विदेशमा गएर पढेका, धनाढ्यका छोराछोरी हुन् । त्यसैले उनीहरूले नेपालमा संघर्ष गरेकाभन्दा आफूलाई सभ्य ठान्छन् । दार्शनिक इडमन्ड सैडले भनेजस्तो उनीहरूले गरिब र अनपढले केही बुझ्दैनन्, असभ्य छन् र सभ्य बनाउने जिम्मा आफ्नो हो भन्ठान्छन् ।

दार्शनिक एन्तोनियो ग्राम्सीका आँखाबाट हेर्दा, नेपालको प्रियतावादी राजनीतिमा लागेका बौद्धिकहरू परम्परावादी बौद्धिक हुन्, अर्गानिक होइनन् । किनकि उनीहरूले पुँजीवादी चिन्तन र मूल्यमान्याताको भाष्यलाई स्थापित गरी एक प्रकारको सांस्कृतिक आधिपत्य जमाउन खोज्दै छन् । चिन्तक नोम चोम्स्कीका अनुसार, ‘बुद्धिजीवीको काम शक्तिसँग सत्य बोल्नु होइन बरु शक्तिहीनहरूसँग बोल्नु र उनीहरूबाट सत्य सिक्ने प्रयास गर्नु हो ।’ प्रियतावादीहरू जहिले पनि शक्तिका लागि सत्य बोलेको अभिनय गर्छन् । त्यसैले उनीहरू मूलत: श्रमजीवी वर्गका खास प्रतिनिधि होइनन्, बरु अराजक उदारवादका पक्षपोषक हुन् ।

प्रियतावाद किन छिट्टै अवसान हुन्छ ?

प्रियतावादीहरू कहीँ पनि त्यही रूपमा टिकेका छैनन् । नेपालमा पनि निम्न कारणले टिक्ने सम्भावना छैन— १. फुकुयामाले भनेजस्तो, सुपेरियर बन्ने आकांक्षाबाट प्रेरित भएको हुँदा सबै अवस्थामा सुपेरियर बन्न सक्दैनन् र तुरुन्तै अर्को बाटो लिन्छन् । २. उनीहरूको पार्टी नै बन्न सक्दैन । ‘म बदल्छु, अरूले सक्दैनन्’ भनी कुर्लनेहरू सबैलाई एउटै कोठामा राखेर ‘अब तपाईंहरूले साझा नेता, उपनेता लगायत बनाएर आउनुहोस्’ भन्ने हो भने सक्दैनन् । किनकि त्यहाँ कसैले कसैको अस्तित्व स्वीकार गर्दैनन् । सुपेरियर बन्ने चाहनाले बन्देज गरेको हुन्छ । अरूलाई स्वीकार गर्नुपरे छोडेर भाग्छन् । ३. उनीहरू सत्ताबाहिर रहन सक्दैनन् । उनीहरूको राजनीति नै शक्ति हत्याउनु हो, अभियान होइन । पहिचानमा आधारित मधेशकेन्द्रित प्रियतावादीदेखि अहिलेका स्टन्ट प्रियतावादीहरूको सत्तालिप्साले त्यही पुष्टि गर्छ । सधैंभरि शक्ति प्राप्त हुँदैन, शक्ति नभए कुरेर बस्दैनन् । ४. विचारको दाम्लो नहुने हुँदा निरपेक्ष स्वतन्त्रता खोज्ने, जहाँ गए पनि केही हुँदैन भन्ने भाष्यको निर्माण गर्ने हुँदा मोबिलिटी बढी हुन्छ र जनताले पनि लामो समय साथ दिँदैनन् । ५. उनीहरूले सतही मुद्दा उठान गरेका हुन्छन् जुन लक्षण मात्रै हुन् । उनीहरूले कारण नबुझी लक्षणको उपचार गर्न खोज्छन् । गलत औषधिको प्रयोग हुन्छ । रोग निको हुँदैन अनि भाग्छन् । यसरी बौद्धिक मानिनेहरू पनि क्रमश: स्खलित हुँदै जाने, पेन्डुलम हुँदै जाने र अन्त्यमा बौद्धिक अवसान हुने खतरा हुन्छ ।

फ्रान्सिस फुकुयामाले प्रियतावाद एउटा राजनीतिक समस्या हो र यसलाई राजनीतिक रूपमा समाधान गर्नुपर्छ भनेका छन् । रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ । यसका लागि मूलधारका राजनीतिक दलहरू विचार, संस्कार, पद्धति र मूल्यमान्यताले चल्नुपर्छ । लोकतन्त्रको सुन्दरता व्यक्तिवाद नभएर सामूहिक र संस्थागत वैचारिक पार्टी पद्धति नै हो । खराब राजनीतिको विकल्प असल राजनीति हो । विचारविहीन राजनीतिको विकल्प वैचारिक राजनीति हो । अस्थिर राजनीतिको विकल्प स्थिर राजनीति हो । पत्रु राजनीतिको विकल्प अर्गानिक राजनीति हो ।

(वाईपी आचार्य, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित