कस्तो थियो विपी र राजाको सम्बन्ध ?

कस्तो थियो विपी र राजाको सम्बन्ध ?
www.europenepalikhabar.com २०८० भाद्र ४ गते सोमबार, 21-08-2023


"त्यति राम्रो सम्बन्ध हुँदा हुँदै राजाले पछि किन त्यस्तो गरे ? सबैको जिज्ञासा यही छ । "

राजाका केही व्यक्तिगत प्रभावका कुराहरु म सम्झन्छु । बाहिर देखाउँदा जे गरे पनि राजाले जहिले पनि मलाई बडो सम्मान गर्थे ।

घरमा जाँदा बडो गर्वका साथ आफ्ना छोरा–छोरीहरु, जो दार्जीलिङमा पढ्थे, उनीहरु दार्जीलिङबाट छुट्टीमा आएको बखतमा मलाई बोलाउँथे र आफ्नो छोरा–छोरीहरुसँग मेरो परिचय हुन्थ्यो भने, चेतना थी, बिरामी परिराख्थी, ऊ त्यती जान सक्तिनथी । ऊ नगएमा गुनासो गर्थे, “खोइ सुशिलाजीलाई त तपाईंले ल्याउनु भएन ?” भनेर । कहिलेकाँही सुशिला जाँदाखेरी रानीले भन्थिन्, “आज कहाँबाट, पश्चिमबाट घाम झुल्केछ ।”

एउटा व्यक्तिगत किसिमको सम्बन्ध राखेका थिए । म एक–दुईओटा घटनाहरु बताउँछु । एकचोटी के भयो भने त्यस्तै भेटघाटको मौका थियो क्यार । छोरा–छोरीहरु आएका थिए । मलाई राजाको टेलिफोन आयो, “आउनूस् आज पार्टी छ म कहाँ । अरु कसैलाई बोलाएको होइन, घरैको मात्रै कुरा हो । तपाईं आउनूस् । श्रीमतीजीलाई पनि लिएर आउनूस् ।”

अनि बडामहारानीको पनि फोन आयो, “सुशिलाजीलाई पनि मेरो तर्फबाट बोलाउनू ।”

मैले सुशिलालाई भनें, “आज त तैंले पनि जानुपर्छ है ।” उसलाई ब्याङ्क्वेटहरुमा, ठूला पार्टीहरुमा जान मन हुँदैनथ्यो । आज बिसञ्चो छैन चेतनालाई, यहाँ हेरिहाल्छन् नि भनेर हामीहरु गयौं ।

माथि छतमा, गर्मीको बखत थियो । छतमा उनले बस्ने इन्तजाम गरेका थिए । आफ्नै परिवार । उनीहरु काउचमा बसेका थिए । मलाई लिन शेरबहादुर मल्ल गयो तल । अनि सिंढीबाट हामी माथि छतमा आयौं । छतमा प्रवेश गर्‍यौं हामी, सुशिला अगाडी गई, म पछि गएँ । अनि ती दुइटा खास–खुस गरे, अनि हाँसे मुसकुराए । म नजिकै गएँ, प्रणाम गरें । 

“अनि– किन सरकारहरु हाँसिबक्सेको हामीहरु आउँदा ?” भनेर मैले सोधें ।

महाराजधिराजले बडामहारानीलाई भने, “भन– न किन हो ।”

“सरकारबाटै हुकूम होस् ” उनले भनिन् ।

अनि राजाले भने, “हामीहरु अहिले कुरा गरिरहेका थियौं, तपाईंलाई देख्नेबित्तिकै, कि नेपालका प्रधानमन्त्री त यही मान्छे हुनसक्छ, जसले बाहिर पनि प्रतिष्ठा राख्नसक्छ । र, देखाउन पनि बाहिर सकिन्छ भने यही मान्छेलाई सकिन्छ भनेर हामीहरु दुईजना कुरा गरिरहेका थियौं । तपाईंलाई त्यो सिंढीमा देख्नेबित्तिकै हामीले त्यो कुरा गरेको ।”

त्यस्तो आत्मीय किमिको कुरा हुन्थ्यो ।

अर्को एउटा व्यक्तिगत सम्बन्धको कुरा भएको छ ।

“मेरो एउटा सानो घर बनेको छ, बंगलो छ, फेवातालको किनारामा । त्यहाँ तपाईं जानुपर्‍यो, मसँगै बस्नुपर्छ अलि दिन मेरो पाहुना भएर” भनेर राजाले भने । मैले भनें, “मलाई पनि सरकारसँग बस्न मन लागेको छ ।”

“तर उहाँलाई पनि,” सुशिलालाई, “लिएर आउनुहोला नि” भनेर उनी त पहिले नै गए । मेरो एउटा कुनै काम थियो, त्यो काम सिध्याएर म आउँला भनें । सुशिला जान सकिन, ममात्रै गएँ ।

कस्तो मान गरेका थिए राजा र रानीले मेरो । बंगला टाइपको घर छ, कटेज टाइपको । त्यसको फर्निसिंग पनि कटेजमा जस्तो हुन्छ, त्यस्तै किसिमको थियो । दक्षिण भारतबाट बेतका पलङ, कुर्सी र ड्रेसिङ टेबुलहरु सारा आएको थियो । त्यस किसिमको सादा । तर जति आवश्यकता हुनसक्छ एउटा पाहुनालाई, त्यो सबै कुरा थियो, आफ्नो निजी छनोटबाट । रानीले सबै ठीक गरेर राखेको थियो । म पोखरा पुगें । मलाई लिन एयरपोर्टमा राजाको मिलिटरी सेक्रेटरी गएको थियो । म बंगलाको पोर्टिकोमा पुग्दा राजा त्यहाँ उभिरहेका थिए । रानी पनि थिइन् उभिइरहेकी ।

“खोइत, सुशिलाजी त आउनु भएन छ । हामीलाई थाहा थियो” भनेर गुनासो गरिन रानीले । मैले भनें, “छोरी बिरामी परी, ऊ आउन सकिन ।”

“ल, तपाईंको कोठा देखाऊँ,” भनेर रानीले मलाई कोठा देखाइन्, सारा कुरा गरिन् । त्यसपछि अब खाना लगाउने कुरा भयो । त्यस बखतमा राजाको परिवार र सुरेन्द्रबहादुर शाहको भाइ थिए, जो रुज लगाएर, स्वास्नीमान्छे जस्तो अनुहार पारेर हिँड्थे, ती पनि थिए । एक–दुई जना राजाका नातेदार पनि थिए, मामाहरु । त्यहाँ मेरो विचार पुर्‍याएका राजा र रानीले । खाने बेलामा राजाले भने, “यो बडामहारानीले बनाएको तपाईंको निम्ती स्पेशल । यो त तपाईंले लिनु भएन ।”

त्यसपछि म पनि रानीले काम गरिरहेको बेलामा भन्सामा फुट्ट परिसदन्थें । “आ– यो स्वास्नीमान्छेहरुको ठाउँमा किन आएको नि” भन्थिन् रानी । ऊ पिर्कामा बसिकन एउटा मध्यम वर्गकी स्वास्नीमान्छेले, खोस्टो, त्यो पनि धेरै महँगो होइन, ओढीकन तरकारी काट्ने, तरकारी केलाउने गरेको मैले देखेको छु । मैले रानी रत्नलाई त्यस्तो काम गरेको देखेको छु । म बडो, अत्यन्त प्रभावित भएको छु । तिनी कुनै ठस्सावाला होइनन् । अनि, “तपाईंलाई कस्तो कुरो मिठो लाग्छ, तपाईं भन्नुहुन्न,” भनेर भन्थिन् ।

मैले भनें, “सरकारबाट जे बक्सिन्छ, त्यो सबै मिठो लाग्छ नि ।”

त्यसरी मलाई उनीहरुले सम्मान दिए । त्यतिमात्र होइन, स्नेह पनि दिए । त्यो एक किसिमको आदर पनि र माया पनि दिए ।

एकदिनको घटना । म त्यहाँ ६/७ दिन बसें । माथि छतमा बसेको बेला मैले भनें, “सरकार, सरकारले संगीतको ट्रेनिङ पनि लिएको छ, एकदिन गाना पनि सुन्न मन लागेको छ ।”

“होइन, त्यो मेरो केही होइन । मेरो त बडो–ल, हिँड्नुस् माथि” भनेर राजाले भने ।

माथि दुईओटा कोठाहरु थिए । एउटा कोठमा संगीतका सामानहरु थिए – हारमोनियम, तबला र अरु के–के ।

अर्को कोठमा के थियो कुन्नी । उनले महारानीलाई बोलाएर भने कि अलिकति ड्रिंकहरु राखिदेऊ र तिमीहरु अहिले जाऊ । बडामहारानलीले ड्रिंकहरु राखिदिइन् । बाहिर छतमा पनि बस्ने इन्तजाम थियो तर हामी कोठामै बस्यौं । अनि राजाले भने, “मेरो त बडो एक्लो जीवन थियो ।”

हामीहरु दुईजना मात्र बस्यौं त्यस कोठामा । राजाले, मलाई लाग्दछ, धेरै घनिष्ठ भएर मसँग कुरा गरे । उनले भने, “मेरो बाल्यकाल त बडो एक्लो बितेको हो । मेरो कोही मित्र थिएन । कसैसँग मेरो मित्रता भएन, नोक चारकहरुके बिचमा म हुर्कें, बुबुले मलाई कुर्काइन । दरबारमा गाउने मानिसहरु आउँथे । तिनीहरुबाट अलिकती मैले गाउन सिक्ने कोशिश गरें ।”

मैले सोधें, “होइन, सरकारको बारेमा सुन्दछु, पढ्नमा खूब अभिरुचि छ ।”

यो मैले किन सोधें भने नारायाण बाँस्कोटा भन्ने मान्छे थिए । तिनी धेरै कितावहरु पनि राख्दथे । उनी प्रगति भन्ने मासिक पत्रिका पनि निकाल्दथे, योग्य र विद्वान मान्छे थिए । तिनी कामुहरुका र अरु पनि धेरै गम्भीर आधुनिक कितावहरु मगाउँथे । म उनीहरुसँग कितावहरु लिएर पढ्थें । उनी कहिलेकाँही भन्थे, “त्यो किताव चाहियो, राजालाई पढ्न ।”

म भन्थें, “राजाले यो कामु बुझ्छन् र ?”

म प्रधानमन्त्री हुनु अघिका ती कुराहरु थिए । मैले त्यसो भन्दा, “होइन, बुझ्छन्, बडो अभिरुचि लिन्छन्” भनेका थिए उनले ।

त्यही कुरा मैले राजालाई भनें, उनले भने, “अहँ मैले कामु पढेको छैन । सास्त्र पढेको छैन । र, मैले अलिकति हिन्दीका साधारण कितावहरु हेरेको छु । त्यसो हुनाले, मैले पढ्ने मौका कहाँ पाएँ र ?”

उनको त्यो कुरा मलाई बडो इमान्दार जस्तो लाग्यो । र, मैले बडो अफ्ठ्यारो मानेर सोधें ।

अनि उनले मलाई संगीत सुनाए आफ्नो । गाए, हारमोनियम लिएर अलिकति गाए । मलाई धेरै प्रभावित गर्ने लागेन । उनले गलाको धेरै रियाज गरेको लागेन । उनले यो पनि भने, “मैले छोडेको धेरै भयो । अहिले तपाईंले आग्रह गरेको हुनाले धेरै दिनपछि गरेको हुँ ।”

मैले राजालाई भनें, “यत्रो एउटा सुगमता रहेछ सरकारलाई आत्माभिव्यक्तिको माध्यमबाट , यो त – सरकारले कविता पनि लेखिबक्सन्छ । यसलाई पनि सरकारले अघि बढाइबक्सनुपर्‍यो ।”

“त्यो गरुँ जस्तो लाग्छ,” उनले भने ।

“कुनै शिक्षक राखिकन यसलाई विकसित गर्नुपर्‍यो । सरकारलाई अभिरुचि छ । मलाई त उति छैन । संगीत मलाई मन पर्छ तर म संगीत बुझ्दिन ।”

मैले यहाँ के भन्न खोजेको भने त्यस स्तरमा कुरा हुन्थ्यो उनीसँग मेरो – व्यक्तिगत स्तरमा । उनले भने र यो कुरा त उनका बुबाले पनि भनेका थिए जब म नारायणहिटी दरबारमा पाहुना भएर बसेको थिएँ, “मेरो व्यक्तिग पाहुना पहिलो तपाईं नैं हो ।”

यिनले पनि त्यही भने, “मेरो निजी पाहुना तपाईंमात्रै हो, मेरो कोही निजी पाहुना भएनन् । अरु सबै सरकारी पाहुना भए ।”

मैले रानीको व्यवहार पनि माथि भनिसकेको छु । त्यहाँ म ५/६ दिन बसें । मसँग राम्रा, व्यक्तिगत किसिमको व्यवहार भएको थियो त्यहाँ । त्यही मलाई के लाग्दछ भने त्यति राम्रो व्यक्तिगत सम्बन्ध हुँदाहुँदै पनि राजाले पछि त्यस्तो किन गरे ? सबैले जिज्ञासा देखाउँछन्, – के हुन्थ्यो त्यसबेला मेरो र राजाको बीचमा ?

जब मैले उनीहरुलाई छोडे आएँ, र जब उनले कविता मेरो निम्ति बनाए दाङमा, कोही भन्दछन् त्यो देखावा हो । मलाई लाग्दैन त्यो देखावा थियो । किनभने मैले पनि राजाको मनस्थिती बुझेको थिएँ । त्यसमा केही अनुराग र द्वेषको मिश्रित सम्बन्ध थियो । कुनै एउटा तर्साउने तत्व पनि थियो त्यहाँ । बाहिरको कोही हुँदो होस्, हाम्रै पार्टीभित्रको पनि होला । उनलाई म एकदम टेर्दिनँ भन्ने पर्‍यो होला । उनलाई अलिकति मेरो अन्तर्राष्ट्रिय मान्यता मान्यता बढेको र बलियो हुन लागेकोबाट पनि डर हुँदो हो । यी सबै कारणहरु पनि थिए , उनको मप्रतिको दृष्टिकोढा कायम हुनुमा ।

हाम्रो संसद यति राम्रो चल्यो कि, मलाई लाग्दछ, सुरु सुरुको जवाहारलालजीको संसद भन्दा हाम्रो संसद कुनै हालतमा कम थिएन । त्यसमा सभामुख कृष्णप्रसाद भट्टराईको भुमिका कम थिएन । संसदमा राम्रै किसिमको बहस हुन्थ्यो ।

विश्वबन्धुलाई मुख्य सचेतक बनायौं । उसले त्यसबापत एउटा कार दिनुपर्छ भनेको थियो ।

अनि ऊ सदस्यहरुलाई उचालिराख्थ्यो । तर उसको केही चल्दैनथ्यो ।

साभार : विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित