बेलायतका एमाले नेता लामाको असामयिक निधन

बेलायतका एमाले नेता लामाको असामयिक निधन
www.europenepalikhabar.com २०८१ जेठ १ गते मंगलबार, 14-05-2024


युरोप – बेलायतको नेपाली समुदायका एक अग्रज अभियन्ता आङ कलजंग लामाको असामयिक निधन भएको छ ।

नेकपा एमाले सम्बद्ध प्रवास संगठन प्रवासी नेपाली मञ्च (तत्कालिन नेपाली लोकतान्त्रिक मञ्च) यूकेका संस्थापक अध्यक्ष ५७ वर्षीय लामाको मंगलबार काठमाडौंमा निधन भएको हो ।

काठमाडौं बौद्धमा मर्निङ वाकमा निस्किएका बेला ढलेर बेहोस भएका लामालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको पारिवारिक स्रोतलाई उल्लेख गर्दै मञ्चका नेता भक्त गुरुङले नेपाली लिंकलाई बताए ।

आधिकारिक रिपोर्ट प्राप्त नभइसकेपनि लामालाई ह्दयघात भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

एनआरएनए यूकेका पूर्व उपाध्यक्ष एवं संस्थापक सदस्य स्वर्गीय लामा प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीको सल्लाहकार परिषदका वर्तमान सदस्य हुन् ।

केही समयदेखि नेपालमा रहेर प्रपर्टी व्यवसायमा सक्रिय उनी विगत तीन महिनादेखि नेपालमै थिए ।

स्वर्गीग लामा तीन दशकभन्दा अघि बेलायत आइसकेका यहाँको नेपाली समुदायका एक अग्रज हुन् । उनका श्रीमती र दुई छोरा बेलायतमै बस्दै आएका छन् ।

उनको असामयिक निधनले बेलायतको नेपाली समुदाय मर्माहत बनेको छ ।

प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुषालले संगठनका संस्थापक अध्यक्षको असामयिक निधनमा दुख व्यक्त गरेका छन् । उनले बेलायतमा संगठन निर्माणमा लामाले निर्वाह गरेको भूमिका सदैव स्मरणीय रहने उल्लेख गरे ।

त्यस्तै, मञ्चको अन्तरराष्ट्रिय कमिटीका  अध्यक्ष सजय थापा र सचिव हेम शेर्पाले एक शोक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय लामा प्रति श्रद्धाञ्जली दिएका छन् ।  लामा बैचारिक र संगठनात्मक खुबी भएका मिलनसार र इमान्दार अभियन्ता भन्दै बेलायतको नेपाली समुदायमा उनले पुर्याएको योगदान प्रशंसनीय रहेको जनाइएको छ ।

उनको अन्त्येष्टि काठमाडौँमै गरिने बताइएको छ। उनको अन्त्येष्टिमा भाग लिन उनकी श्रीमती तथा छोरा छोरी मंगलबार बेलुकी नेपाल जान लागेको उनका एकजना मित्रले बताए।

स्वर्गीय लामा एक मिलनसार, सहृदयी र  समाजसेवी व्यक्तित्व भन्दै सामाजिक संजालमा श्रद्धान्जली दिने क्रम जारी छ। 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित