पोर्चुगलको सरकारी हस्पिटलमा पहिलो नेपाली डाक्टर सोनिया

पोर्चुगलको सरकारी हस्पिटलमा पहिलो नेपाली डाक्टर सोनिया
www.europenepalikhabar.com २०८१ पुष २३ गते मंगलबार, 07-01-2025


• राजकुमार थापा, पोर्चुगल ।

विदेशमा विद्यार्थी जीवन र पढ्दाका संघर्षका कथाव्यथा भनिसाध्य हुँदैनन् । नेपालको मध्यम वर्गीय परिवारमा जन्मिएर  युरोपको कलेजबाट मेडिकल डाक्टर जस्तो संवेदनशील र कठिन पढाइ पार गरेर विदेश कै हस्पिटलमा काम सुरु गर्नु एउटी नेपाली चेलीको लागि चानचुने मेहनत र दृढ संकल्प विना सम्भव हुने कुरा होइन ।

आफ्नो निरन्तरको मेहनतले यही चुनौतीपूर्ण बाटो पार गरेर युरोपको एउटा समृद्ध मुलुक पोर्चुगलको सबैभन्दा ठूलो मध्येको एक सरकारी हस्पिटल शान्ता मारिया (Hospital de Santa Maria) मा न्युरो सर्जनको रूपमा कार्यरत पहिलो नेपाली मेडिकल डाक्टर बनेकी छन् नेपाली चेली सोनिया तामाङ ।

खासमा उनी एमबीबीएस पढ्न नेपालबाट ग्रीस गएकी थिइन् र १८ महिने इन्टर्नशीपको लागि पोर्चुगल आइपुगिन् । आफ्नो इन्टर्नशीप पछि अब उनले  यहीँको एउटा ठूलो सरकारी हस्पिटलमा आफ्नो भावी करियर सुरु गरेकी छन् । यसको साथसाथै उनले यतिबेला पाइलट कोर्स पनि गरिरहेको जानकारी दिइन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले उनलाई गरेको एउटा सम्मान कार्यक्रममा काठमाडौको बौद्ध स्थायी ठेगाना भएर हाल लिस्बनमा रहेकी सोनियाले आफुले पढ्दा र पोर्चुगल आएर सुरु गरेको संघर्ष र कामको बारेमा मार्मिक रुपले आफ्ना कुराहरु राख्दा दृढ इच्छाशक्ति र लगाव छ भने जस्तोसुकै कठिनाईलाई पनि छिचोल्न सकिन्छ भन्ने उनको प्रस्तुतिले अरुलाई पनि उत्प्रेरित गरेको थियो ।  

कामका लागि उनले किन पोर्चुगलकै हस्पिटल रोजिन् त ? यसबारेमा पनि उनले यसरी आफ्नो योजना र अनुभव सुनाइन् "म पैसा कमाउन वा व्यक्तिगत सफलताको लागि मात्र हिडेको होइन, विदेशमा रहेका हाम्रा नेपाली दिदीबहिनी, दाजुभाइलाई आफ्नो ज्ञान र सीपबाट केही न केही सेवा र सहयोग दिन सकियोस् भन्ने  मेरो तीब्र चाहना र इच्छा थियो र छ, त्यो कुरा पूरा गर्ने उपयुक्त स्थान युरोपमा मैले पोर्चुगल पाए र अरुअरु देशबाट अवसरहरु आउँदा पनि मैले पोर्चुगललाई नै कार्यक्षेत्र रोजे । पोर्चुगलको नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई मेरो क्षेत्रबाट सकेको सेवा र योगदान गर्न चाहन्छु ।"

पोर्चुगलका उच्च शिक्षा र दक्षता आर्जन गरी नेपाली महिलाहरुले प्राप्त गरेको सफलताबाट सिङ्गो नेपाली समुदाय उत्साहित बनेको पाइन्छ ।

(उहाँको संघर्ष र अनुभव समेटिएको भिडियो अन्तर्वार्ता हामी पछि प्रकाशित गर्नेछौं- सम्पादक)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित