पोर्चुगलमा ट्रेड युनियनहरुद्वारा डिसेम्बर ११ र १२ गते दुई दिने आम हड्ताल हुने

पोर्चुगलमा ट्रेड युनियनहरुद्वारा डिसेम्बर ११ र १२ गते दुई दिने आम हड्ताल हुने
www.europenepalikhabar.com २०८२ मंसीर २२ गते सोनबार, 8-13-2025


लिस्बन पोर्चुगल — पोर्चुगलमा लामो समयपछि फेरि एकपटक ठूलो श्रमिक आन्दोलनको तयारी भइरहेको छ । सार्वजनिक क्षेत्रका युनियनहरूले सरकारको श्रम नीतिको विरोध गर्दै डिसेम्बर ११ र १२ गते दुई दिने कडा हड्तालको घोषणा गरेका छन् । यो हड्तालले देशका अत्यावश्यक सेवाहरूमा गम्भीर प्रभाव पार्ने देखिएको छ । विशेष गरी बिहीबार, डिसेम्बर ११ मा आयोजना गरिएको ‘आम हड्ताल’ को प्रभाव शुक्रबारसम्म लम्बिने निश्चित भएको छ ।

धेरैजसो सार्वजनिक क्षेत्रका युनियनहरूले बिहीबारको आम हड्ताल लगत्तै भोलिपल्ट अर्थात् डिसेम्बर १२ मा पनि काम ठप्प पार्ने निर्णय गरेका छन् । सार्वजनिक तथा सामाजिक सहयोगी कामदारहरूको स्वतन्त्र संघ र पोर्चुगलको डेमोक्र्याटिक युनियन अफ नर्सेस जस्ता प्रमुख संगठनहरूले लगातार दुई दिन हड्ताल गर्ने घोषणा गरेपछि स्थानीय प्रशासन, फोहोर सङ्कलन, सामाजिक सुरक्षा, वित्त, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रहरू नराम्ररी प्रभावित हुने भएका छन् ।

हड्तालको सबैभन्दा प्रत्यक्ष मार विद्यार्थी र अभिभावकहरूमा पर्ने देखिएको छ । लगातार दुई दिनको हड्तालको सम्भावनालाई मध्यनजर गर्दै विद्यालयहरूले अभिभावकहरूलाई पूर्वचेतावनी दिन थालेका छन् । धेरै विद्यालयहरूले अभिभावकहरूलाई सूचना पठाउँदै जनशक्ति अभावका कारण यो हप्ता दुई दिन विद्यालय बन्द हुन सक्ने बताएका छन् । यसबाहेक, नगरपालिकाका सेवाहरू, पेरिस काउन्सिलका प्रशासनिक कामहरू र सहरको सरसफाइमा समेत दुई दिनसम्म अवरोध आउने खतरा बढेको छ । यद्यपि, १२ तारिखका लागि स्वास्थ्य र न्याय क्षेत्रमा भने ‘न्यूनतम सेवाहरू’ सञ्चालन गर्ने सहमति भएको छ, जसले गर्दा आपतकालीन अवस्थामा नागरिकले केही राहत पाउनेछन् ।

यो विरोध प्रदर्शन सरकारले हालै ल्याएको ‘श्रम प्याकेज’ को कडा प्रतिक्रियाको रूपमा आएको हो । प्रस्तावित श्रम सुधारको आलोचना ट्रेड युनियनहरूले मात्र नभएर पूर्व PSD नेताहरूले समेत गरेका छन् ।

युनियनहरूले यसलाई श्रमिक विरोधी कदमको रूपमा व्याख्या गर्दै सडकमा उत्रिने निर्णय गरेका हुन् ।

बिहीबार हुने यो आम हड्ताल ऐतिहासिक रूपमा पनि निकै महत्त्वपूर्ण मानिएको छ, किनकि यो विगत १२ वर्षयताकै पहिलो आम हड्ताल हो । यसअघि सन् २०१३ को जुन २७ मा पोर्चुगलले गम्भीर आर्थिक संकट र वित्तीय उद्धारको सामना गरिरहेको समयमा दुई ठूला ट्रेड युनियन महासंघहरू (CGTP र UGT) ले अन्तिम पटक यस्तो हड्ताल गरेका थिए । यसपटकको हड्तालमा स्वास्थ्य, शिक्षा, उद्योग, बैंकिङ, मिडिया र यातायात लगायतका क्षेत्रका दुई दर्जनभन्दा बढी युनियनहरूले सहभागिता जनाउँदै छन्, जसले गर्दा पोर्चुगलको जनजीवन यो हप्ता निकै कष्टकर बन्ने अनुमान गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित