एनआरएनए पोर्चुगलद्वारा दूतावास समक्ष ज्ञापनपत्र, यस्ता छन् १२ बुँदे मागहरु

एनआरएनए पोर्चुगलद्वारा दूतावास समक्ष ज्ञापनपत्र, यस्ता छन् १२ बुँदे मागहरु
www.europenepalikhabar.com २०८२ असोज ७ गते मंगलबार, 23-09-2025


लिस्बन, २३ सेप्टेम्बर । गैरआवासीय नेपाली सघ पोर्चुगलले नेपाली राजदूतावास लिस्बन पोर्चुगल समक्ष १२ बुँदे माग र सुझावहरु राखेको छ । मगलबार सघका अध्यक्ष बमबहादुर जिसीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महामहिम राजदूत प्रकाशमणि पौडेल समक्ष ज्ञापन पत्र बुझाएको हो ।


गैरआवासीय नेपाली संघ पोर्चुगलको तर्फबाट पोर्चुगलका लागि महामहिम नेपाली राजदुतज्यू र नेपाली राजदूतावास पोर्चुगल समक्ष बुझाइएको ज्ञापनपत्र !


महामहिम राजदूतज्यू

नेपाल राजदूतावास, लिस्बन, पोर्चुगल ।

विषय : पोर्चुगलका नेपाली समुदायको समस्या समाधान लगायत अन्य महत्त्वपूर्ण सवालहरुको ज्ञापनपत्र ।

महोदय,

पोर्चुगलमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका साझा हकहित, अधिकार एवं सेवा सुविधा सहज बनाइ सहयोग पुर्‍याउने उदेश्यले सन् २००६ मा स्थापित गैरआवासीय नेपाली संघ राष्ट्रिय  समन्वय परिषद् (NRNA, Portugal) पोर्चुगल निरन्तर क्रियाशील रहँदै आएको छ साथै  मातृभूमि नेपालको समृद्धि र विकास पनि संघले यथाशक्य भूमिका खेल्दै आएको छ । र नेपाली नियोगहरुसंग सहकार्य पनि गर्दै आएको छ ।

यसै सन्दर्भमा नेपाली राजदूतावास लिस्बन मार्फत प्रवाह हुने सेवाहरूमा देखिएका केही कठिनाइ तथा नेपाली समुदायको आवश्यकतालाई सहज र सर्वसुलभ रूपमा सेवा प्रवाह, अन्य समसामयिक विषय र महत्त्वपूर्ण सवालहरुमा निम्न बमोजिम माग र सुझावहरू सहितको यो ज्ञापनपत्र पेश गर्दछौं ।

१) कागजी प्रक्रिया सरलीकरण तथा शुल्क न्यूनिकरण :

क) दूतावासमार्फत उपलब्ध हुने कागजी सेवाहरू (पासपोर्ट, नागरिकता, विभिन्न प्रमाणपत्र आदिमा) अहिले लिइरहेको पोर्चुगलको शुल्क आम्दानीको तुलनामा अत्यन्त महङ्गो भएकोले उक्त शुल्क न्यूनिकरण गरी पहिले जस्तै न्यूनतम १० यूरो कायम गरियोस् । 

ख) लिस्बनभन्दा बाहिर टाढा टाढाबाट आएका सेवाग्राहीलाई विशेष प्राथमिकता दिई शीघ्र सेवा प्रदान गर्ने व्यवस्था गरियोस् । भौतिक उपस्थिति विना सेवा (Remote Services) ईमेल, CTT वा अन्य डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने व्यवस्था सहज बनाउने प्रक्रिया थालनी गरियोस् । 

२) भुक्तानी प्रणाली :  सेवासम्बन्धी शुल्क भुक्तानीलाई बैंकिङ प्रणालीमार्फत अनिवार्य बनाउँदै र नगद कारोबारलाई निरुत्साहित गरियोस् । दूतावास नजिकै बैंकको एटियम(ATM) राख्न सम्बन्धित निकायमा पहल गरियोस् ।

३) नेपालमा पोर्चुगल सरकारको कुनै प्रकारको नियोग वा भिएफएस (VFS) कार्यलय खोल्नका लागि आवश्यक कुटनैतिक पहल गरियोस् ।

४) साँस्कृतिक,चाडपर्व, भाषा र पोशाकको संरक्षण : पोर्चुगलमा रहेका नेपालीहरूको पहिचान, भाषा, संस्कृति, चाडपर्व र भेषभूषाको सम्मान एवं प्रवर्द्धन गर्ने गरी दूतावासद्वारा नेतृत्वदायी र सक्रिय भूमिका निर्वाह गरियोस् ।

५) अहिले पोर्चुगलमा नेपालीहरुको असामयिक निधन हुने घटना विकराल बनेको छ । निधन पश्चात शव व्यवस्थापन समुदायको बीचमा एउटा मुख्य चुनौती  भएको छ । पोर्चुगलमा रहेका नेपालीको निधन भएमा दूतावासले शव व्यवस्थापनको संयोजन र आवश्यक सहयोग लगायत सबै प्रक्रियामा अभिभावकीय भूमिका निर्वाह गरियोस् । 

६) एनआरएनए–दूतावास सहकार्य : पोर्चुगलस्थित नेपाली समुदायका समस्या समाधान गर्न र अन्य विविध सवालमा  दूतावास र गैरआवासीय नेपाली संघ पोर्चुगल बीच नियमित समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइयोस् ।

७) पोर्चुगलमा रहेका नेपालीहरुलाई पर्ने विविध कानुनी समस्या समाधान र सहजीकरण गर्न दूतावासको तर्फबाट महिनाको कम्तीमा एक पटक कानुनी परामर्शको प्रवन्ध गर्ने व्यवस्था गरियोस् ।

८) सन् २०२६ मा नेपाल र पोर्चुगल दौत्य सम्बन्ध स्थापित भएको पचास बर्ष पुग्दैछ । उक्त अवसरमा पोर्चुगलका नागरिकहरुसम्म सम्बन्ध विस्तार गर्न नेपाल फेस्टिबल वा अन्य विविध बृहतस्तरका कार्यक्रमहरु आयोजना गर्न तयारी थालनी गरियोस् ।

९) पोर्चुगलमा रहेका नेपाली महिलाहरु माथि घरेलु हिंसा लगायत अनेकौं सामाजिक समस्याहरु परिरहेको पाइन्छ, यस बारेमा दूतावासको ध्यानाकर्षण होस् । 

१०) शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मजयन्तीका दिन दूतावासको प्रमुख आयोजना र यहाँस्थित संघसंस्थाहरुसंगको सहकार्यमा विगत बर्षहरुमा झैं गोष्टि, प्रवचन, प्रभातफेरि लगायत विविध कार्यक्रमको आयोजनालाई निरन्तरता दिइयोस् ।  

११) आगामी आम निर्वाचनमा प्रवासमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार र अवसर प्रदान गरियोस् भनी दूतावास मार्फत् नेपाल सरकारसंग आग्रह गर्दछौं ।

१२) राजदूतावासबाट जारी गरिने सूचना र जानकारीहरु समयमा नै नियमित रूपमा प्रकाशित गरियोस् ।  मातृभूमि नेपालको,  राजदूतावास र नेपाली समुदायको विरुद्ध गलत सूचना र अफावह फैलाउनेहरुलाई कानुनी दायरामा ल्याउन पहल गरियोस् ।

र अन्त्यमा सेप्टेम्बर ८ र ९ अर्थात् भदौ २३ र २४ गते भएको जेएनजी (gen Z) आन्दोलनबाट देशमा नयाँ परिस्थितिको सृजना भएको छ । उक्त आन्दोलनमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । उक्त आन्दोलनको क्रममा भएको भएको अकल्पनीय र अपुरणीय जनधन, भौतिक सम्पत्तिको क्षति र राष्ट्रका दस्तावेज तथा कागजात नष्ट भएकोप्रति गहिरो दु:ख व्यक्त गर्दै मातृभूमिलाई आइपरेको  यस्तो अकल्पनीय संकटमा पोर्चुगलको नेपाली समुदायको तर्फबाट एनआरएनए पोर्चुगल नेपाली राजदूतावास लिस्बन मार्फत् हातेमालो गर्दै सहयोग पुर्‍याउन तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दछौं । 

उपरोक्त विषयहरूमा दूतावासले तत्काल मनन गरी आवश्यक कदम चालियोस् भनी गैरआवासीय नेपाली संघ पोर्चुगलको तर्फबाट यो ज्ञापनपत्र प्रस्तुत गर्दछौं ।

बोधार्थ : नेपाल सरकार परराष्ट्र मन्त्रालय ।

बम बहादुर जि. सी.

अध्यक्ष 

गुरुपेमा तामाङ 

महासचिव

गैरआवासीय नेपाली संघ पोर्चुगल राष्ट्रिय समन्वय परिषद् पोर्चुगल

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित