युरोपनेपाली खबर, लिस्बन(पोर्चुगल) । पोर्चुगलको राजधानी लिस्बनमा गोर्खा-११ क्रिकेट क्लबले आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ । क्लबले यसपटक पनि पोर्चुगल राष्ट्रिय क्रिकेट लिगमा प्रतिस्पर्धा गर्ने तयारी स्वरुप नयाँ जर्सी सार्वजनिक गरेको हो । यो राष्ट्रिय लिग आगामी अप्रिल १८ तारिखबाट लिस्बनमा सुरु हुँदैछ ।
क्रिकेट खेलाडी मधुकर थापाको अगुवाईमा गोर्खा-११ क्रिकेट क्लब पोर्चुगलमा सन् २०१६ मा स्थापना भएको हो । नेपाली क्रिकेटका चर्चित खेलाडी संलग्न उक्त टीमले यस अघि पोर्चुगल राष्ट्रिय क्रिकेट लिगमा भाग लिइ उपविजेता समेत बनिसकेको छ ।
यसपटक टीमको क्याप्टेन मन्जित सिंह रहेका छन् । आज लिस्बनमा आयोजना भएको खेलाडी बीचको परिचयात्मक र जर्सी सार्वजनिक समारोहमा खेलाडीहरुले आफ्नो खेल अनुभव साटासाट गर्दै टीमले आगामी लिगमा विजयी हुने विश्वास व्यक्त गरे । कार्यक्रम ओला नेपाल हाउस रेस्टुरेन्ट लिस्बनमा भएको थियो ।
टीमको जर्सीलाई ब्रीज इन्टरन्यानल र बृटिस गोर्खाली क्रिकेट लीग (BGCL)ले स्पोन्सर गरेको छ । टीमलाई आर्थिक रूपमा पोर्चुगलस्थित दर्शन नेपाल स्टोर, दियालो रेस्टुरेन्ट र ओभन रेस्टुरेन्टले सहयोग पुर्याएको टीमका संस्थापक मधुकर थापाले जानकारी दिए ।
जर्सी सार्वजनिक कार्यक्रममा नेपालको राष्ट्रिय टीमबाट विश्वकप खेलिसकेका खेलाडी राहुल विश्वकर्मा, गोर्खा-११ का संस्थापक मधुकर थापा, ब्रीज इन्टरन्यानलका सिइयो गाम गुरुङ, पोर्चुगल राष्ट्रिय क्रिकेट टीमका सैदुर रहमान, एनआरएनए पूर्व आइसीसी सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सुरज बिष्ट लगायतले टीमलाई शुभकामना दिएका थिए । कार्यक्रममा खेलाडीहरुले आ-आफ्नो परिचय दिएका थिए । गोर्खा-११ क्रिकेट क्लबमा पोर्चुगलमा रहेका नेपाल, बंगलादेश, इन्डिया, पाकिस्तान लगायतका खेलाडीहरु संलग्न छन् ।
FOUNDER/CHIEF EDITOR :