युरोप । पश्चिम लन्डनमा आइतबार आयोजित एक धार्मिक तथा सांस्कृतिक भेलाले पश्चिम लन्डनमा नेपाल कल्चरल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। भेलाले आगामी सन् २०२७ मा लन्डनमा पहिलो पटक आध्यात्मिक महोत्सव आयोजना गर्ने घोषणा समेत गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै धर्म दर्शन सांस्कृतिक केन्द्रका संस्थापक तथा अठार पुराणका ज्ञाता गुरु पण्डित कुबेर सुवेदीले बेलायतमा सनातन धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा प्रवर्द्धनका लागि पश्चिम लन्डनमा एक बहुउद्देश्यीय सांस्कृतिक तथा आध्यात्मिक केन्द्र आवश्यक रहेको बताए।
उनले मन्दिर निर्माण मात्र नभई सांस्कृतिक जागरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भगवानको दिव्य मन्दिर र नेपाली सांस्कृतिक केन्द्रको स्थापना समुदायको साझा अभियान हुनुपर्ने बताए। “मन्दिर निजी होइन, सामुदायिक हुन्छ। सनातन धर्म र संस्कृतिको संरक्षण गर्नु सबैभन्दा ठूलो सम्पत्ति हो,” उनले भने।
सुवेदीले आगामी एक वर्षभित्र बेलायतमा भव्य आध्यात्मिक महोत्सव आयोजना गर्ने योजना रहेको जानकारी दिँदै तन, मन र धनले सहयोग गर्न समुदायलाई आह्वान गरे। उनले धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू एउटै स्थानबाट सञ्चालन गर्न सकिने बहुउद्देश्यीय भवन निर्माण गर्नुपर्ने सुझाव पनि दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले यस्तो केन्द्र निर्माणको अभियान सामूहिक प्रयासबाट अवश्य सफल हुने विश्वास व्यक्त गरे।
“यो कुनै एक व्यक्तिको परियोजना होइन, सम्पूर्ण समुदायको साझा सपना हो,” उनले भने, “मन्दिर केवल पूजा गर्ने स्थान मात्र होइन, संस्कार, ज्ञान, सामाजिक एकता र सामुदायिक विकासको केन्द्र पनि हो।”
दुवाडीले केन्द्रलाई सुरुदेखि नै बहुउद्देश्यीय बनाउने सुझाव दिँदै त्यहाँ धार्मिक अनुष्ठान, व्रतबन्ध, पास्नी, विवाह तथा अन्य सामुदायिक कार्यक्रम सञ्चालन गर्न सकिने बताए। नयाँ पुस्तालाई संस्कार, अनुशासन र सत्संगको शिक्षा दिन समेत यस्तो केन्द्र उपयोगी हुने उनको भनाइ थियो।
गुरु चिरञ्जीवी ढकालले समुदायको साथ र सहयोग प्राप्त भए पश्चिम लन्डनमा मन्दिर निर्माणको सपना अवश्य साकार हुने विश्वास व्यक्त गरे। उनले आगामी वर्ष धार्मिक महोत्सव आयोजना गरेर अभियानलाई थप सशक्त बनाउनुपर्ने बताए।
त्यसैगरी पण्डित नीलहरि घिमिरेले “धर्मो रक्षति रक्षितः” भन्ने वैदिक उक्ति उद्धृत गर्दै विदेशमा रहेका मन्दिरहरू विश्वविद्यालयसरह ज्ञान र संस्कृतिका केन्द्र हुने बताए। उनले मन्दिर कुनै एक व्यक्तिले नभई समाजले निर्माण गर्ने भएकाले सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिए। साथै, नियमित सत्संग सञ्चालन गर्दै अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिए।
कार्यक्रमका सभापति तथा धर्म दर्शन सांस्कृतिक केन्द्रका अध्यक्ष सहदेव गिरीले पश्चिम लन्डनमा मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणको अवधारणा पण्डित कुबेर सुवेदीको प्रेरणाबाट अघि बढाइएको बताए। उनले पश्चिम लन्डनमा यस्तो केन्द्रको आवश्यकता लामो समयदेखि महसुस गरिएको उल्लेख गर्दै अभियान अब नरोकिने र मन्दिर अवश्य निर्माण हुने विश्वास व्यक्त गरे।
दक्षिणपूर्वी लन्डनको प्लमस्टेडस्थित पशुपतिनाथ मन्दिर स्थापना गर्दाको अनुभव साझा गर्दै गिरीले आर्थिक स्रोत जुटाउनु मात्र नभई समुदाय परिचालन, स्थानीय निकायका नियमको पालना र सबैको सहयोग प्राप्त गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने बताए।
उनले प्रस्तावित केन्द्रमा पशुपति नाथ, साई, बुद्ध तथा प्रणामी परम्पराका आध्यात्मिक गतिविधिका साथै पुस्तकालय र क्यान्टिनको व्यवस्था गर्ने परिकल्पना रहेको जानकारी दिए। संस्थाको प्रारम्भिक चरणमा सहभागी संस्थापक सदस्यहरूलाई विशेष सुविधा प्रदान गरिने पनि उनले बताए। गिरीले आफु दक्षिण पूर्वी लन्डनमा बसोबास गर्ने भएकाले समय दिन गाह्रो भएको बताउंदै सेन्टरको नयाँ संयोजकमा चिरन शर्मालाई प्रस्ताव पनि गरे।
कार्यक्रममा नेपाल कल्चरल सेन्टरका संस्थापक सदस्यहरूलाई सम्मान गरिएको थियो। साथै, केन्द्र स्थापना सम्बन्धी सात बुँदे घोषणापत्र वाचन गरी सुनाइएको थियो। बेलायतमै हुर्की रहेकी किशोरी तिया आचार्यले नयाँ बन्ने केन्द्रले वयष्क मात्रै हैन बालबालिका र युवाहरुका लागि पनि विभिन्न गतिविधि संचालन गर्नु पर्ने सुझाव दिइन्।
भेलामा सहभागीहरूले पश्चिम लन्डनमा धार्मिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्न सक्ने बहुउद्देश्यीय नेपाल कल्चरल सेन्टरको स्थापना समयको आवश्यकता भएको निष्कर्ष निकाल्दै अभियानलाई सफल बनाउन सबै नेपाली समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा मोर्गेज एडभाइजर ऋषि खनालले नेपाली सांस्कृतिक केन्द्रको लागि भवन खरीद गर्न विभिन्न मोडेलहरु प्रस्तुत गर्दै बढी भन्दा बढी सदस्यहरुले नियमित रुपमा मासिक सहयोग (डाइरेक्ट डेबिट) गरेमा भवन खरीद गर्न वित्तिय संस्था बाट ऋण लिन सजिलो हुने सुझाव दिए।
कार्यक्रमको संचालन चिरन शर्माले गरेका थिए भने सुजन पराजुलीले राष्ट्रिय गीत तथा भजन गाएर भक्तजनहरुलाई नचाएका थिए। भेलाले नेपाली कल्चर सेन्टर यूकेको संयोजकको जिम्मा चिरन शर्मालाई दिएको छ ।
FOUNDER/CHIEF EDITOR :