पोर्चुगलमा कोरोनाको पाचौं लहरको चेतावनी, फेरि स्वस्थ्य संकटकालको संभावना

पोर्चुगलमा कोरोनाको पाचौं लहरको चेतावनी, फेरि स्वस्थ्य संकटकालको संभावना
युरोपनेपाली खबर २०७८ मंसीर ३ शुक्रबार, 19-11-2021


युरोपनेपाली खबर, लिस्बन । पोर्चुगलमा कोरोनाको पाँचौ लहरको चेतावनी दिइएको छ । यसअघि संक्रमणको चारवटा लहर गुजारिसकेको पोर्चुगलमा पुनः  अर्को लहर सुरु भएको देखिएको छ  ।

आज शुक्रबार पोर्चुगलमा २ हजार ३७१ जनामा कोरोनाको संक्रमण देखिदाँ उक्त दिन पाँच जनाको निधन भएको छ ।अघिल्लो दिन बिहीबार पोर्चुगलमा २ हजार ३९८ जनामा कोरोनाको संक्रमण देखिएको थियो भने १२ जनाको निधन भएको पाइन्छ । तथ्यांकहरुबाट युरोपभर नै कोरोनाको अर्को लहर प्रवेश गरेको देखिंदा पोर्चुगलमा संक्रमणको दर दिन प्रतिदिन उकालो लागेको हो । विशेष गरी अहिले खोप लगाउन बाँकी र साना बालबालिकाहरुमा संक्रमण देखिएको बताइएको छ । यस्तै २० देखि २९ र ३० देखि ३९ बर्ष उमेरसमुहका व्यक्तिमा पनि संक्रमण देखिएको छ ।

यसैबीच पोर्चुगलका राष्ट्रपति मार्सेलो रेवेलो दी सौजाले कोरोनाको संक्रमण दर बढ्दै गएकोले स्वास्थ्य संकटकालको संभावना बढेको बताएका छन् । स्पेनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकभित्र संक्रमणको पाँचौं लहर आएको भन्दै यस्तो संकेत गरेका हुन ।

कार्यक्रममा उनले पछिल्ला तथ्यांकहरुलाई आधार मान्दै भने, ‘संकटकालको संभावना मात्रै हो, हामी यो दरलाई कसरी घटाउने भन्ने योजनामा छौं ।’ सरकारले बढ्दो कोरोनाको संक्रमण दरलाई तत्काल घटाएन भने नजिकिदैं गरेको क्रिसमस र नयाँ बर्षमा हुने जमघटले झन जोखिम बढ्ने पक्का छ । यसैलाई आधार मानेर पनि राष्ट्रपति सौजाले स्वास्थ्य संकटकालको संभावना रहेको संकेत गरेका हुन् ।

तर राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयका भाइरोलोजिष्ट पेद्रो सिमासले थप प्रतिबन्ध आवश्यक नभएको र खोपको मात्रालाई बृद्धि गर्नुपर्नेमा जोड दिएका छन ।

सरकारले कोरोना बढेपछि सजग, संयमित  बन्न र स्वस्थ्य मापदण्डहरु पालन गर्न नागरिकहरुलाई आग्रह गरेको छ । लिस्वनमा आयोजित एक कार्यक्रमका जनस्वास्थ्य सम्बन्धि वक्ताहरुले अनिवार्य रूपमा माक्सको प्रयोग गर्न  र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित