यी प्रमाणले सन्दीप लामिछानेलाई हुनसक्छ १२ बर्षसम्म जेल

यी प्रमाणले सन्दीप लामिछानेलाई हुनसक्छ १२ बर्षसम्म जेल
www.europenepalikhabar.com २०७९ कार्तिक १४ गते सोमबार, 31-10-2022


नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेका चर्चित क्रिकेटर सन्दीप लामिछाने विरुद्ध काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयले १० देखि १२ वर्ष कैद सजाय माग्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

सन्दिपलाई पाँच लाख रुपैयाँ जरिवाना गर्न र पीडित बालिकालाई उचित क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ।  प्रहरीमा जाहेरी पर्दा क्रिकेट खेल्न क्यारेबियन मुलुकमा रहेका २२ वर्षे सन्दिप त्यसपछि फरार भएका थिए।

प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेपछि उनी २० असोजमा नेपाल फर्किएर आत्मसमर्पण गरेका हुन्। ५ भदौको राति नाबालिकालाई लामिछानेले गौशालास्थित होटल काठमाडौं इनमा पुर्याएर जबर्जस्ती करणी गरेको आरोप छ। उक्त राति सन्दिपले दुई पटक जबर्जस्ती करणी गरेको अभियोग छ।

यद्यपि अनुसन्धान अधिकृतसामु सन्दिपले त्यो कुरा नकारेका छन्। पीडितले प्रहरीमा गरेको कागजमा सन्दिपले ‘मानसिक ताजगी’ हुन्छ भन्दै घुम्न कर गरेपछि आफू गएको बताएकी छिन्। बेलुकी ७ बजे भेटेर उनीहरु सन्दिपको बा २६ च ४४४४ नम्बरको निशान एक्स ट्रेल मोडलको एसयुभी गाडीमा नगरकोटको बोजिनी रिसोर्टमा पुगेको दुवैले स्विकारेका छन्। तर सन्दिपले बालिकाको करबलमा आफू घुम्न निस्किएको जिकिर गरेका छन् भने बालिकाले सन्दिपले हत्ते गरेपछि जान बाध्य भएको बताएकी छिन्।

दुवैले घटनाका धेरैजसो तथ्यलाई भने अनुसन्धानकर्तासामु स्विकारेका छन्। जस्तोः उनीहरुबीच अर्का क्रिकेटर देव खनालमार्फत चिनजान भएको, त्यसपछि स्न्यापच्याटमा कुराकानी हुन थालेको, नगरकोट पुगेको र त्यहाँबाट फर्किएपछि गौशालाको होटलमा रात बिताएको। तर नगरकोट जान र गौशालामा रात बिताउने विषयमा भने उनीहरुले एकअर्कालाई दोषारोपण गरेका छन्। सन्दिपले गौशालाको होटलमा आफूहरुबीच बिहान पौने चार बजेसम्मै एकअर्काका व्यक्तिगत विषयमा गफगाफ मात्र भएको बताउँदै बलात्कारको आरोप मिथ्या भएको बताएका छन्। आफू पटकपटक क्रिकेट टिम बसेको होटल हायातमा जान खोज्दा बालिकाले रोकेको दाबी सन्दिपको छ।

आफूले कुर्सीमा बसेरै उक्त रात बिताएको पनि सन्दिपले प्रहरीसँग बताएका छन्। उनले भनेका छन्, ‘म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले (पीडित) मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा, होइन म यहीँ ठीक छु भन्दै निजको आग्रहलाई अस्विकार गरी कुर्सीमै बसेँ। मैले मेरो मोबाइलमा बिहान ६ बजेको घण्टी लगाई कुराकानी गर्दागर्दै कुर्सीमै निदाएँ।’

यसका साथै बालिकाले  आफू १९ वर्ष पुगेपनि भविष्यमा सजिलो हुन्छ भनी उमेर घटाउने कागजात बनाएको बताएको सन्दिपले दाबी गरेका छन्। सन्दिपका कानुनी प्रतिरक्षा गर्ने वकिलहरुले पनि सन्दिपलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्न अदालत पुर्याउन त्यही पुगेर यो विषयलाई जोड दिएर उठाएका थिए। तर नागरिकताबाट भने घटना हुँदा पीडित १७ वर्ष २ महिना १८ दिनको रहेको अभियोगमा उल्लेख छ।  

तर जाहेरीकर्ता बालिकाले भने सन्दिपले नगरकोटबाट फर्कँदैखेरी सन्दिपले आफ्ना संवेदनशील अंग छुन खोजेको बताएकी छिन्। गौशालाको होटलमा पुगेपछि आफू निदाएको बेला मध्यराति १२ बजेर २५ मिनेटमा सन्दिपले जर्बजस्ती करणी गरेको आरोप लगाएकी छिन्। त्यसको एक घण्टापछि पुनः जबर्जस्ती करणी गर्दा भने आफू रोएको र सन्दिपले नछोडेको पीडितले बताएकी छिन्।

बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनले पनि बालिकाको यो भनाईलाई पुष्टि गर्ने आधार दिन्छ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको स्वास्थ्य जाँच प्रतिवेदनबाट पीडितको यौन झिल्ली च्यातिएको पुरानो खत देखिएको उल्लेख छ। यसलाई सबैभन्दा बलियो प्रमाण मानिएको छ। त्यसबाहेक गौशालाको होटलका १२ वटा सीसीटीभी फुटेज पनि प्रमाणका रुपमा राखिएको छ। घटनास्थलमा दुवै जना उपस्थित भएको यसबाट पनि पुष्टि हुन्छ। सन्दिपले पीडित बालिकालाई ‘मायाको पहिलो स्वागत शुरु’ भनेर स्न्याप च्याटमा पठाएको भिडियो सन्देश, टेलिफोनको कल डिटेल रिपोर्ट (सीडीआर)लाई पनि प्रमाणको रुपमा मुद्दामा रमेटिएको छ।

सन्दिपले कसुर इन्कार गरेपनि भोलिपल्ट क्रिकेट खेल्न केन्या उड्ने निर्धारित हुँदाहुँदै पनि होटलमा अपरिचित बालिकासँग रातभर बस्नुजस्तो परिस्थितिले पनि उनको भनाई विश्वसनीय नभएको आरोप पत्रमा छ। अर्का क्रिकेटर देव खनालले केन्या जानुभन्दा १५ दिन अघिदेखि नै नेपाल क्रिकेट संघले खेलाडीलाई हायात होटलमा क्याम्प खडा गरी राखेको प्रहरीसँगको बयानमा बताएका छन्।

कप्तान सन्दिप भने ५ गते अपरान्हदेखि त्यहाँ नरहेको उनले खुलाएका छन्। यति महत्वपूर्ण घडीमा सन्दिप टिम छोडेर अपरिचित बालिकासँग रात बिताउनुलाई पनि प्रहरीले शंकास्पद मानेको छ। ‘जुन दिन, जुन समय र जसले जबर्जस्ती करणी गर्यो भन्ने पीडितको भनाई छ, त्यही दिन, त्यही ठाउँ र त्यही समयमा यी प्रतिवादी (सन्दिप) साथमा छन्। पीडितलाई लिएर आफूमात्र गएका छन्,’ अभियोग पत्रमा भनिएको छ, ‘स्न्याप च्याटमार्फत चिनजान भएको नाबालिकालाई रातको समयमा पीडितको मञ्जुरीबेगर होटल फेरीफेरी आफू अनुकूल परिस्थिति बनाई रातभर एउटै बेडमा राख्नु, पीडितको स्वास्थ्य जाँचबाट कसुर पुष्टि हुन आउँछ।’


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित