१६ लाखमा पोर्चुगल लैजाने भन्दै नेपालमा गजुरेल सक्रिय, सचेत रहन विभागद्वारा सूचित

१६ लाखमा पोर्चुगल लैजाने भन्दै नेपालमा गजुरेल सक्रिय, सचेत रहन विभागद्वारा सूचित
www.europenepalikhabar.com २०७९ कार्तिक १५ गते मंगलबार, 1-11-2022

 

काठमाडौ । गजुरेल थर भएका एकजना व्यक्ति  दुई  दिनअघि सामाजिक सञ्जालमा एउटा ‘स्टाटस पोस्ट’ गरे । ट्विटरमा उनले लेखेका छन्, ‘वर्किङ भिसामा पोर्चुगल जान इच्छुक कोही हुनुहुन्छ भने ९८४८५..४७२ मा वाट्सएप गर्नुहोला । लागत महँगो छ ।’

यो स्टाटस देखिसकेपछि धेरैलाई शंका लाग्नु स्वाभाविक हो । पछिल्लो समय युरोपेली मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै रकम उठाउने र बिचौलिया सम्पर्कविहीन हुने गरेका खबरहरु बाहिरिएकाले आशंका लाग्नु स्वाभाविक पनि हो ।

सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर ठग्ने क्रम बढेपछि काजी नामका सामाजिक सञ्जालकर्ता पनि शंकाको घेरामा तानिएका छन् । वैदेशिक रोजगार विभागले पनि बेलाबखत यस्ता विज्ञापनको पछाडि नलाग्न सूचित गराउँदै आएको छ । विदेशमा राम्रो कमाइ हुने आश्वासन देखाएर गिरोहले ठगी गर्दै आएको बताइन्छ ।

तर कुनै पनि व्यक्तिको माध्यमबाट विदेश जाने कार्य असुरक्षित र अवैध रहेको विभागको भनाइ छ । नेपाली दलालहरुले युवायुवतीलाई एउटा कामको लागि भनेर अर्कै काममा लगाई बिल्लीबाठ बनाएका घटना पनि थुप्रै छन् । विकसित मुलुकमा लैजाने भन्दै दलालले धेरैलाई ठगेर घरको न घाटको बनाइदिएका छन् ।

उक्त नम्बरमा सम्पर्कमा आएका ... गजुरेलले आफन्तहरु मिलेर बाहिर जान लागेको स्वीकारे । पोर्चुगलमा रहेका एक जना आफन्तले ४५ जनाको भीसा पठाइदिएको उनको भनाइ छ । भीसा बराबर मान्छे नभएकाले इच्छुक कोही भए सम्पर्क गर्न सामाजिक सञ्जालमा लेखिएको उनी बताउँछन् ।

कृषि कार्यका लागि कामदार चाहिएको उल्लेख गर्दै उनले भने,‘म कुनै एजेण्ट होइन । म कुनै म्यानपावर कम्पनीको मान्छे पनि होइन । पोर्चुगल जानेको संख्या नपुगेर विज्ञापन गरेका हौं ।’

दशैंअगाडि नै सात जना पोर्चुगल पठाइसकेको उनले जानकारी दिए । उनीहरु उता पुगेर काममा लागिसकेको र आफूहरु पनि जाने तयारीमा रहेको गजुरेल बताउँछन् । श्रम स्वीकृतिलगायत सम्पूर्ण प्रक्रिया पूरा गरेर वैध माध्यमबाट पोर्चुगल पुर्याउने गजुरेलको दाबी छ ।

पोर्चुगल जान कम्तिमा १६ लाख रुपैयाँ लाग्ने र भारत पुगेर अन्तरवार्ता दिनुपर्ने उनले बताए । ‘छनौट भएपछि एक महिनाको तालिम दिइन्छ । बाँकी अन्यलाई पनि आफूसँगै पोर्चुगल लगिनेछ,’ गजुरेलले भने ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित