एउटा कठिन प्रतिस्पर्धामा अर्जेन्टिना रोमान्चक जितसँगै विश्वकपको सेमिफाइनलमा

एउटा कठिन प्रतिस्पर्धामा अर्जेन्टिना रोमान्चक जितसँगै विश्वकपको सेमिफाइनलमा
www.europenepalikhabar.com २०७९ मंसीर २३ गते शुक्रबार, 9-12-2022


एजेन्सी – रोमान्चक र नाटकीय खेलमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ४-३ को जितका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना उपाधिनजिक पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । एक समय २-० को आरामदायी अग्रतामा रहेको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले नाटकीय पुनरागमन गरेको थियो । इन्ज्युरी समयको दशौं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको डच टोली टाइब्रेकरमा भने सफल हुन सकेन ।

टाइब्रेकरमा नेदरल्यान्ड्सका लागि कप्तान भर्जील भान डाइकले पहिलो प्रहारमा गोल गर्न सकेनन् । अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले आफ्नो दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै गोल बचाए । लगत्तै अर्जेन्टिनी कप्तान मेस्सीले सहजै गोल गरेर दक्षिण अमेरिकी टोलीलाई अघि राखे ।

मार्टिनेजले डच टोलीका लागि स्टिभन बर्घिअसले गरेको दोस्रो प्रहार पनि विफल पारे । यसपटक आफ्नो बायाँतर्फ डाइभ दिँदै उनले नेदरल्यान्ड्सलाई गोल गर्न दिएनन् । अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले दोस्रो प्रहारमा पनि गोल गर्दै २-० ले अघि बढाए । त्यसपछि डच टोलीका लागि तिउन कुपमेनर्स, अर्जेन्टिनाका गोन्जालो मोन्टिएल र नेदरल्यान्ड्सका वुट वेघर्स्टले गोल गरे ।

अर्जेन्टिनाको लागि एन्जो फर्नान्डेजको प्रहार बाहिर गएपछि नेदरल्यान्ड्सले खेलमा फर्कने अवसर पाएको थियो । लुक डे जोङले आफ्नो पाँचौ प्रहारमा गोल गर्दै खेललाई टाइब्रेकरको अन्तिम पेनाल्टीसम्म पुर्याए । तर लौटारो मार्टिनेजले अन्तिम पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।

पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा पकड जमाएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेपछि नेदरल्यान्ड्सले आक्रामक परिवर्तन गरेको थियो । वेघर्स्टलाई मैदान पठाएको ५ मिनेटमा गोल फर्काएको डच टोलीले इन्ज्युरी समयको दशौं मिनेटमा फ्रिकिकमा चलाखीपूर्ण गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेल्यो । अतिरिक्त समयमा पनि गोल नहुँदा खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।

मोलिनाले ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनले कप्तान लिओनेल मेस्सीको अविश्वसनीय पासलाई वन भर्सेस वनको स्थितिमा फिनिस गरेका थिए । मेस्सीले बल लिएर पेनाल्टी क्षेत्रको बायाँतर्फ बढ्न लागेको अवस्थामा नेदरल्यान्ड्सको पूरै डिफेन्स लाइन चिर्नेगरी अगाडि पास खेलेका थिए । मेस्सीले अगाडि नहेरी दिएको पास मोलिनाकै पथमा पुगेपछि उनले गोल गरे ।

७३ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए । मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई २-० ले अघि बढाए । उनले गोलरक्षकलाई विपरित दिशातर्फ पठाउँदै गोल गरेका थिए ।

८३ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । स्टिभन बर्घाउसको क्रसमा वुट वेघर्स्टले गोल गर्दै खेलमा अर्जेन्टिनाको अग्रता १ गोलमा घटाए । उनले क्रसमा गरेको हेडर गोलरक्षक एमिलियानो मार्टिनेजको हात मुनिबाट गोलमा परिणत भएको थियो ।

त्यसपछि इन्ज्युरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघर्स्टले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई बर्घिअसले सिधा छोटो पास खेलेका थिए । वेघर्स्टले त्यसलाई नियन्त्रणमा लिँदै गोल गरेपछि खेल बराबर भएको थियो ।

अतिरिक्त समयको दोस्रो हाफको इन्ज्युरी समयमा अर्जेन्टिनाको जितसामु पोस्ट बाधक बन्यो । एन्जो फर्नान्डेजको प्रहार पोस्टमा लागेर बाहिरिंदा अर्जेन्टिना अग्रता लिनबाट चुकेको थियो ।

अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । क्रोएसियाले आज सम्पन्न पहिलो क्वाटरफाइनलमा ब्राजिललाई टाइब्रेकरमा ४-२ ले पराजित गरेको थियो । निर्धारित समय गोलरहित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित