के क्रिस्टियानो रोनाल्डोको फुटबल युग सकिएको हो ?

के  क्रिस्टियानो रोनाल्डोको फुटबल युग सकिएको हो ?
www.europenepalikhabar.com २०७९ मंसीर २८ गते बुधबार, 14-12-2022


आफ्ना प्रशिक्षकसँग विवाद भएपछि वैकल्पिक खेलाडीमा सीमित गरिएका क्रिस्टियानो रोनाल्डोको यो विश्वकप यात्राको सुखद अन्त्य हुने ठानिएको थिएन।

तर क्वार्टरफाइनलबाट पोर्चुगलको बहिर्गमनपछि उनको आँखामा देखिएको आँसुले उनको अहिलेको अवस्थाको संक्षिप्त चित्र दिन्छ।

मोरक्कोबाट बेहोरेको अप्रत्याशित हारको अर्थ ३७ वर्षका यी खेलाडीले अझै विश्वकप विजेताको पदकविहीन रहनुपर्नेछ। त्यो उनले हालसम्म हासिल गर्न बाँकी सबैभन्दा प्रमुख उपलब्धि हो।

अघिल्लो महिना आक्रोशित ढङ्गले म्यान्चेस्टर यूनाइटेड क्लब छाडेपछि अहिले विश्व फुटबलका यी चर्चित खेलाडीको आफ्नो टोली पनि छैन।

मानिसहरूले अब उनले कहाँ क्लब फुटबल खेल्नेछन् भनेर प्रश्न गरिरहेका छन्।

पोर्चुगलका आम नागरिकले अझै पनि उनको प्रशंसा गरिरहेको भए पनि आफ्नो देशमा उनको भविष्यलाई लिएर प्रश्नहरू उठ्ने देखिन्छ।

विश्वकप सुरु हुनुभन्दा अघि रोनाल्डोले म्यान्चेस्टर यूनाइटेड छाडेका थिए तर कतारमा उनले राम्रो सुरुवात गर्न सके।

घाना विरुद्धको पोर्चुगलको पहिलो खेलमा एउटा विवादास्पद पेनाल्टी प्रहार जित्न सफल उनको शैलीलाई फुटबलको सर्वोच्च निकाय फिफाले ‘पूर्ण रूपमा प्रतिभावान्’ भनेर टिप्पणी गर्‍यो।  

त्यसलाई गोलमा बदलेका उनी पाँचवटा विश्वकपमा गोल प्रहार गर्ने पहिलो खेलाडी बने।

तर त्यसपछि उनको ओरालो लाग्ने क्रम सुरु भयो। उनले त्यसपछिका दुई खेलमा गोल गर्न सकेनन्।

पाँचवटा विश्वकपमा गोल हान्ने पहिलो खेलाडी बनेपछि रोनाल्डोको प्रशंसा भएको छ ।

दक्षिण कोरिया विरुद्धको खेलको बीचमा नै आफूलाई मैदान बाहिर बोलाइएकोमा प्रशिक्षक फर्नान्डो सान्टोसविरुद्ध उनले आक्रोश व्यक्त गरेका थिए।

अन्तिम १६ को स्विट्जरल्याण्ड विरुद्धको खेलमा उनी टोलीमा नै परेनन्।

रोनाल्डोलाई वैकल्पिक खेलाडीमा राखिँदा उनको स्थानमा खेलेका गोनजालो रामोसले ह्याट्रिक प्रहार गरेका थिए।

मोरक्को विरुद्धको खेलमा पनि त्यही शैली अपनाइएको थियो।

तर उनलाई आफ्नो प्रभाव देखाउन दोस्रो हाफको अधिकांश समय दिइयो।

आफ्नो टोली १-० अन्तरले पछि परेको समयमा ५१ औँ मिनेटमा उनी मैदानमा प्रवेश गरेका थिए।

उनको उपस्थिति मात्रैले पनि अर्को कीर्तिमान बनाएको छ।

उनले आफ्नो राष्ट्रिय टोलीका लागि १९६ वटा अन्तर्राष्ट्रिय खेल खेलेका कुवेतका अग्रपङ्क्तिका खेलाडी बादर अल मुतुवाको कीर्तिमानसँग बराबरी गरेका छन्।

तर पटक पटक विशिष्ट उपलब्धि हासिल गरेका उनका लागि उक्त क्षण विशेष भने बन्न सकेन।

रोनाल्डोले जम्मा १० पटक बल छोए तर उनले ९१ औँ  मिनेटमा आएर मात्रै गोल पोस्टमा प्रहार गर्न सके।

उनको उक्त प्रहारमा पनि मोरक्कोका गोलरक्षक बोनलाई पार गर्न सक्ने शक्ति वा दिशा थिएन।

रोनाल्डो जतिबेला पनि सही बलको प्रतीक्षामा ‘बक्स’ मा रहेको देखिएको भए पनि त्यो समय आएन।

राफायल लेयोले ९७ औँ मिनेटमा प्रहार गरेको क्रस रोनाल्डोको टाउको माथि हुँदै पेपेसम्म पुग्यो जसलाई उनले धेरै बाहिर हान्न पुगेका थिए।

त्यसबेला मैदानको ‘सिक्स यार्ड बक्स’ मा घुँडा टेकेर बसेका रोनाल्डोले टाउकोमा हात राखेका थिए जसले अब आफ्नो समय सकिएको उनले थाहा पाएको आभास गराउँछ।

केही क्षणपछि अन्तिम सिट्ठी बज्दा उनले केही विपक्षी टोलीका खेलाडीहरूसँग हात मिलाए र सीधा मैदान बाहिर प्रस्थान गरे।

टनल भित्र प्रवेश गरिरहँदा उनको आँखाबाट झरेको आँसुको दृश्यले उनको यो विश्वकप यात्रा र प्रशिक्षकसँगको विवादलाई सम्झना गराइरहनेछ।

प्रशिक्षक सान्टोसले विवाद नरहेको जनाउ दिने प्रयास गरे।

उनले भने, “मलाई लाग्दैन क्रिस्टियानोलाई, आलोचनाले जे भयो, त्यसले खेलमा कुनै प्रभाव पार्‍यो। हामी एउटा एकताबद्ध टोली हौँ।”

उनले थपे, “यदि हामीले खेलबारे सबैभन्दा निराश दुई व्यक्ति लिनुपर्‍यो भने त्यो रोनाल्डो र स्वयम् म हुनेछौँ। यो प्रशिक्षक र खेलाडीको कामको हिस्सा हो।”

मोरक्को विरुद्धको खेलमा सुरुमा रोनाल्डो ‘बेन्च’ मा राखिएका थिए।

जस्तो सुकै एकताबद्ध भनिएको भए पनि पोर्चुगल अब घर जाँदैछ।

यो अवस्थामा आउनुअघि पोर्चुगल आफ्ना ओरालो लागिरहेका सबैभन्दा लोकप्रिय खेलाडी विना राम्रो टोली बन्न सक्छ कि सक्दैन भनेर धेरै बहस भइसकेको छ।  

कुनै पनि टोलीले प्रमुख खेलमा अप्रत्याशित हार बेहोरेपछि तुरुन्तै नयाँ युग वा चरणको सुरुवात हुने गरेको पाइन्छ।

अब सान्टोस राष्ट्रिय व्यवस्थापकमा रहे पनि या नरहे पनि उनीहरूले रोनाल्डोलाई बेवास्ता भने गर्ने छैनन्।

अझै पनि उनले दिलाएका उपलब्धिहरूको सूची लामो छ।

सन् २०१६ को युरो कपमा आफ्नो टोलीलाई जित दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

सो जित प्रमुख प्रतियोगितामा पोर्चुगलको पहिलो उपाधि हो।

पछिल्ला हप्ताहरूमा जे जस्ता विवाद भए पनि अल थुमामा रङ्गशालामा ‘रोनाल्डो ७’ लेखिएको जर्सी लगाएका पोर्चुगलका समर्थकहरूको सङ्ख्याले उनको विगतको उचाइलाई मानिसहरूले नभुलेको सङ्केतका रूपमा लिन सकिन्छ।

रोनाल्डोकी दिदी काटिया एभिइएरोले मोरक्कोसँगको पराजयपछि एउटा भावुक सन्देश इन्स्टाग्राममा पोस्ट गरेकी छन्।

उनले भनेकी छन्, “जब मेरा नातिनातिनाले सङ्घर्ष, सम्मान, प्रतिष्ठा, काम, प्रतिबद्धता, अवरोध, ईर्ष्याको सट्टामा मानवीय द्वेषको बारेमा बोल्न भन्नेछन्, जब उनीहरूले मलाई ट्रफिहरू, गोल, पुरस्कार र अभूतपूर्व विरासत सहितको कीर्तिमानको बारेमा प्रश्न गर्नेछन्, म उनीहरूलाई मेरो भाइ र तिनीहरूका अङ्कलका बारेमा भन्नेछु।”

उनको निचोड छ, “म तिमीहरूलाई उसले निर्माण गरेको साम्राज्यबारे भन्नेछु। म तिमीहरूलाई उसको सबल पक्ष, उसले के वाचा गर्‍यो र के पुरा गर्‍यो त्यो भन्नेछु, म तिमिहरूलाई उसको आचरणबारे भन्नेछु, म तिमीहरूलाई उसको चिहान खनिसक्दा पनि उसले हार खाएन भन्नेछु। म तिमीहरूको अङ्कलको जीवनको चलचित्र, वास्तविक चलचित्र देखाउनेछु।”

हामीलाई अझै पनि उक्त चलचित्रको अन्त्य कसरी हुन्छ भन्ने थाहा छैन तर छैटौँ विश्वकपमा उनको उपस्थिति भएको खण्डमा त्यसले पटकथामा नाटकीय मोड दिनेछ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित