पोर्चुगलमा सोनाम ल्होछार भव्य रूपमा सम्पन्न

पोर्चुगलमा सोनाम ल्होछार भव्य रूपमा सम्पन्न
www.europenepalikhabar.com २०७९ माघ ८ गते आइतबार, 22-01-2023


लिस्वन । पोर्चुगलस्थित तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात नयाँ वर्ष पर्व शनिबार विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि बाघ बर्गलाई विदाई गरी बिरालो वर्ष प्रवेश भएको छ ।  यो २८५९औँ सोनाम ल्होछार हो ।

मञ्जुश्री पात्रो शुरु भएको २८५९औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिका संयोजक समेत रहेका तामाङ समाज पोर्चुगलका अध्यक्ष सुुजन तामाङले बताए । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।

ल्होछारको अवसरमा समाजले साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रममा तामाङ समुदायका महिला र पुरुष आ–आफ्नो जातीय पोशाक र साँस्कृतिक झाँकीसहित सहभागी भएका थिए ।

कार्यक्रम पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूत मकर हमालको प्रमुख आतित्थ्यतामा भएको थियो । सो अवसरममा उनले शुभकामना दिदैं ल्होछारले सबैै नेपालीमाा उर्जा प्रदान गर्नेमा विश्वास व्यक्त गरे । उनले यस पर्वले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकास गर्न प्रेरणा प्रदान गर्ने बताए । ‘एकातिर नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भने अर्कोतिर हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको पुष्टि गरेको छ । यही विविधताले नै विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ ।’ उनले भने ।

कार्यक्रममा पोर्चुगलका लागि पर्यटनदूत रमेश गुरुङ, जनजाति महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, तमु समाजका अध्यक्ष विकास गुरुङ, नारी समाजकी महासचिव पुनम गौतम लगायतले धारणा राख्दै नेपाली लोक संस्कृतिको गरिमा र मौलिकतालाई बचाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति पोर्चुुगलका अध्यक्षद्धय रविन अधिकारी र सोमफुरी शेर्पा, नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष राजकुमार थापा, शेर्पा समाजका सल्लाहकार धन शेर्पा लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सोनाम ल्होछार के हो र कस्तो छ महत्त्व ?

नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन् । यहाँ बसोबास गर्ने सबै जाति/जातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो ।

नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति पनि हो । यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो । यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होछार पनि भन्दछन् ।

नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाईल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल—चिनिया सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ । 

वर्ष–वर्षलाई प्रतिनिधित्व गर्ने १२ जीवजन्तुका नाम

तिब्बती संस्कृति परम्परामा सामिप्य राख्ने तामाङ समुदायमा पनि १२ वर्षका प्रत्येक वर्षलाई १२ जीवजन्तुका नाममा सम्बोधन हुने वर्ष चक्र प्रणाली चलिरहेको हुन्छ । १२ वर्ष पूरा भएपछि फेरि उनै जीवजन्तुका नाममा वर्ष दोहोरिइरहने क्रम देखिन्छ । अधिक मासको अवस्थामा भने १३ महिनालाई गणना गरिन्छ ।

तामाङ समुदायमा बाह्र वर्ष चक्र प्रणालीलाई ल्होकोर च्युनी भनी सम्बोधन गरिन्छ । वर्ष–वर्षलाई प्रतिनिधित्व गर्ने १२ जीवजन्तुका नाम कसरी रहन पुगे भन्नेबारे पनि रोचक अनु श्रुतिहरू भेटिन्छन् । नयाँ बाली लगाउनु अगाडिको महिनामा मनाउने पर्व हुँदा कतिपयको भने कृषि वा कृषकसँग सम्बद्ध उत्सवका रूपमा सोनाम ल्होछार नामकरण गरिएको हुन सक्ने जिकिर रहेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित