पोर्चुगल स्थानीय चुनाव सम्पन्न, सत्तारुढ PSD पहिलो, PS दोश्रो, यस्तो छ राष्ट्रव्यापी परिणाम

पोर्चुगल स्थानीय चुनाव सम्पन्न, सत्तारुढ PSD पहिलो, PS दोश्रो, यस्तो छ राष्ट्रव्यापी परिणाम
www.europenepalikhabar.com २०८२ असोज २७ गते सोमबार, 13-10-2025


पोर्चुगल — आइतबार १२ अक्टोबरमा सम्पन्न पोर्चुगलको स्थानीय चुनावमा देशको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तनका सङ्केतहरू देखिएका छन् । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (PSD) ले सबैभन्दा धेरै नगरपालिकाहरूमा जित हासिल गर्दै पहिलो स्थानमा रहेको छ, तर समाजवादी पार्टी (PS) ले कडा टक्कर दिँदै दोस्रो स्थान सुरक्षित गरेको छ ।

अति-दक्षिणपन्थी पार्टी सेगाले आश गरेजति मेयर पद नजिते पनि आफ्नो मत प्रतिशतमा भने उल्लेख्य वृद्धि गरेको छ ।

चुनावमा मतदाताहरूको उदासीनता भने स्पष्ट देखियो । करिब ४० प्रतिशत भन्दा बढी मतदाताहरू मतदान प्रक्रियामा सहभागी भएनन्, र केवल ५९.२६ प्रतिशतले मात्र आफ्नो स्थानीय प्रतिनिधि छनोट गर्न मतदान गरे ।

यस्तो छ राष्ट्रव्यापी परिणामको झलक

आइतबारको चुनावी रातपछि आएको नतिजाले देशको स्थानीय तहमा नयाँ राजनीतिक समीकरण देखाएको छ :

सोसल डेमोक्र्याटिक पार्टी (PSD) : सत्तारुढ दल PSD ले देशभर कुल १३६ सिटी हलमा जित हासिल गर्दै सबैभन्दा ठूलो दल बन्यो । यसले लिस्बन र पोर्तो जस्ता प्रमुख शहरहरूमा आफ्नो जित सुरक्षित गर्‍यो ।

समाजवादी पार्टी (PS) : PS ले १२६ मेयर पद जितेर दोस्रो स्थानमा रह्यो । यद्यपि सन् २०२१ को तुलनामा केही सिटी हल गुमाए पनि, PS ले दशकौंदेखि PSD को गढ मानिएका क्षेत्रहरूमा जित निकालेर आफूलाई बलियो प्रतिस्पर्धीको रूपमा स्थापित गरेको छ ।

स्वतन्त्र समूहहरू : विभिन्न स्वतन्त्र समूहहरूले देशभर २० वटा सिटी हलमा जित हासिल गर्दै राम्रो प्रदर्शन गरे ।

कम्युनिष्ट पार्टी (CDU गठबन्धन) : पोर्चुगिज कम्युनिष्ट पार्टी र “ओस भर्डेस” को गठबन्धन CDU का लागि यो चुनाव अहिलेसम्मकै सबैभन्दा खराब रह्यो । यसले दुई जिल्लाको राजधानी गुमायो र केवल १२ सिटी हलमा सीमित भयो ।

सेगा (Chega) : ठूलो जितको अपेक्षा गरेको चेगाले देशभर केवल ३ वटा सिटी हलमा जित्यो : अल्बुफेरा, साओ भिसेन्टे (मडेइरा), र एन्ट्रोन्कामेन्टो (सान्तारम) । तर, राष्ट्रिय चुनावको तुलनामा यसको मत घट्यो । राष्ट्रिय चुनावमा करिब १.४ मिलियन मत पाएको सेगाले स्थानीय चुनावमा लगभग ६ लाख मत मात्र पायो ।

प्रमुख शहरहरू : लिस्बन र पोर्तो

देशका दुई सबैभन्दा ठूला शहरहरूमा PSD ले आफ्नो प्रभुत्व कायम राख्यो :

लिस्बन : राजधानी लिस्बनमा PSD का कार्लोस मोएडास ले PS की उम्मेदवार एलेक्जेन्ड्रा लेइटाओलाई पराजित गर्दै मेयरमा पुनः निर्वाचित भए ।

पोर्तो : दोस्रो ठूलो शहर पोर्टोमा पनि PSD का पेड्रो डुआर्टे ले पूर्व स्वास्थ्यमन्त्री तथा PS का उम्मेदवार म्यानुएल पिजारोलाई हराउँदै जित हासिल गरे ।

क्षेत्रगत विस्तृत नतिजा :

अल्गार्वे : राष्ट्रिय चुनावमा गरेको प्रदर्शनका आधारमा चेगाले अल्गार्वे क्षेत्रमा ठूलो जित निकाल्ने अनुमानविपरीत नतिजा आयो ।

– PS ११ मेयर पद जितेर यस क्षेत्रको सबैभन्दा ठूलो दल बन्यो ।

– सेगाले अल्बुफेरामा मात्र एक मेयर जित्यो तर भोट संख्यामा ठूलो फड्को मार्यो । २०२१ मा ११ हजार ३ सय ३२ मत पाएकोमा यसपटक ४३ हजार ४ सय ७०मतसहित क्षेत्रीय दोस्रो शक्ति बन्यो ।

– PSD ले भिला डो बिस्पो र क्यास्ट्रो मारिममा गरी दुई मेयर जित्यो ।

– सिल्भेस नगरपालिकामा CDU गठबन्धनले आफ्नो जित कायम राख्यो ।

– अल्जेजुरमा भने म्यानुएल मारेरियोस नेतृत्वको स्वतन्त्र आन्दोलनले जित्यो ।

– क्षेत्रीय राजधानी फारोमा PS का एन्टोनियो पिना मेयर निर्वाचित भए, तर नगर सभामा भने PSD गठबन्धनले बहुमत ल्यायो ।

अलेन्तेजो :

 बेजा : जिल्ला राजधानी बेजामा PSD का नुनो फेरो मेयर बने, जसले २०२१ मा PS ले जितेको सीट खोस्न सफल भयो ।

एभोरा : यहाँ PS का जोसे जोरिन्हो ले जित निकाले । २०२१ मा यो सीट जितेको CDU लाई PS ले पराजित गर्‍यो ।

सेतुबल : एक स्वतन्त्र उम्मेदवार मारिया मीरा मेयरमा निर्वाचित भइन् । उनले विगतमा CDU बाट पनि मेयरको पद सम्हालिसकेकी थिइन् ।

पोर्टलेग्रे : यहाँ PSD र CDS-PP को गठबन्धनकी उम्मेदवार फर्मेलिन्डा कार्भाल्हो विजयी भइन् ।

मध्य  क्षेत्र पोर्चुगल :

 भिसिउ : चुनावको सबैभन्दा ठूलो आश्चर्य भिसिउमा देखियो, जहाँ सन् १९७६ देखि लगातार जित्दै आएको PSD पहिलोपटक पराजित भयो । PS का जोआओ अजेभेडो ले ऐतिहासिक जित निकाले ।

कोइम्ब्रा : PS की आना अब्रुनहोसा ले जित हासिल गरिन्, जसले २०२१ मा PSD ले जितेको जनादेशलाई उल्टाइदियो 

लेइरिया : PS का गोन्कालो लोपेस ५४.११ प्रतिशत मतका साथ विजयी भए ।

 कास्टेलो ब्रान्को : PS ले लियोपोल्डो रोड्रिग्स लाई पुनः निर्वाचित गर्‍यो । यहाँ Iniciativa Liberal (IL) तेस्रो शक्ति बन्यो ।

सान्तारेम र आभिएरो : यी दुवै शहरमा PSD ले आफ्नो जित कायम राख्यो ।

उत्तरी क्षेत्र पोर्चुगल :

 ब्रागा : यहाँ PSD गठबन्धनका जोआओ बारोस ले ०.२६ प्रतिशतको झिनो मतान्तरले PS लाई हराए ।

ब्रागान्का : PS की इसाबेल फेरेरा ५०.३१ प्रतिशत मतका साथ विजयी भइन् ।

 भिला रियल र भियाना डो कास्टेलो : यी दुवै नगरपालिकाहरूमा PS ले जित हासिल गर्‍यो ।

अजोर्स र मडेइरा (स्वायत्त क्षेत्र) :

अजोर्सको पोन्टा डेलगाडा र मडेइराको फन्चल, दुवै प्रमुख शहरहरूमा PSD ले जित हासिल गर्‍यो ।

यो चुनावले पोर्चुगलको स्थानीय राजनीतिमा नयाँ शक्ति सन्तुलनको सङ्केत गरेको छ । PSD राष्ट्रिय स्तरमा सबैभन्दा ठूलो शक्ति भए पनि PS ले कडा प्रतिस्पर्धा दिएको छ । सेगाले अपेक्षित सफलता नपाए पनि आफ्नो प्रभाव बढाउँदै लगेको छ भने CDU को परम्परागत शक्ति क्षीण हुँदै गएको देखिन्छ । स्वतन्त्र उम्मेदवारहरूको सफलताले नागरिकहरूले स्थापित दलहरूप्रति विकल्प खोजिरहेको देखाउँछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित