एनआरएनए पोर्चुगलको जम्बुजिरा कार्यक्रममा : नेपालीकाे व्यथा, साईग्रेसकाे कथा

एनआरएनए पोर्चुगलको जम्बुजिरा कार्यक्रममा : नेपालीकाे व्यथा, साईग्रेसकाे कथा
www.europenepalikhabar.com 01-01-1970


नवराज दवाडी-

चर्चित कथा बाचक तथा प्रेरक वक्त साइग्रेस पोखरेलले पोर्तुगलको जम्बुजिरामा आफ्नो प्रस्तुती दिएका छन् । एनआरएनए पाेर्तुगलकाे आयाेजनामा जम्बुजिरा स्थित साला दि जम्बुजिरामा पोखरेलले आफ्नै अन्दाजमा केही आफ्ना कथा सुनाए भने धेरै त्यहाँका नेपालीका कथा सुने ।

साला दि जम्बुजिरामा आफ्ना प्रिय कथावाचकको प्रस्तुती हेर्नका लागि उल्लेख्य मात्रामा श्रोता तथा दर्शक निर्धारित समयभन्दा अघिदेखीनै जम्मा भइसकेका थिए । खचाखच भरिएको हलमा कार्यक्रमको शुरुवातमै लोकप्रिय गायक जेवी ओली र दीपु विसीको कर्णप्रिय प्रस्तुती तथा कलाकार तथा मोडल रिया श्रेष्ठको नृत्यले सहभागीहरुमा निकैनै उत्साह थपिसकेको थियो ।

लोकप्रिय कलाकारहरुको प्रस्तुतीमा झुम्दै गर्दा पनि साइग्रेसको प्रस्तुतीको व्यग्रता सहभागीहरु माझ झल्किएको भान भइसकेको थियो । यतिकैमा दर्शदीर्घाबाट हात हल्लाउँदै र सहभागीहरुसंग अंकमाल गर्दै कार्यक्रम हलमा प्रवेश गर्दा हलमा निकैनै रौनकता छाएको थियो ।

मंचमा उक्लिएर थोरै मेरो कथा अनि धेरै तपाइहरुको कथा भन्न आएको छु, भन्दै उनले शूरुमै विदेशीने आम नेपालीको कथा भने ।

बल्ल बल्ल घर धितो राखी, काजपत्र बनाउन सत्र चक्कर काटी

विदेश छिर्ने सपना संग, परिवार छोड्ने दुख साटी

विदेश त जसरी नि जान्छु भन्दै घरमा पिरीपिरी,

जाबाे भिजिट भिषाको लागि पनि १४/१५ लाख तिरी

बल्ल बल्ल युरोप अप्लाइ गरेँ,

पैसा बुझाइसके पछि बल्ल थाहा भयो, लागत भन्दा लाखौँ बढीमा परेँ ।


भन्दै, कविताबाट शुरु गरेका उनले, शुरुमै त्यँहा पुगेका सहभागीको कथा बोले । “ओहो कस्तो मेरै कथा भने जस्तो लाग्यो”, सहभागीले भने । त्यसपछि एकछिन अगाडी मात्र दोहोरी गीतको ‘फर्माइस’ गर्नेहरु पनि टुसुक्क कुर्सीमा बसे र हात बाँधेर पोखरेलको प्रस्तुतीमा मन्त्रमुग्ध हुन थाले ।

हो, जस्तोसुकै दर्शक र श्रोतालाई पनि टपक्क बाँधेर राख्ने कला छ साइग्रेससंग । त्यसैले पो घण्टौँसम्म आफ्नो प्रिय कथाकारको प्रस्तुतीको लागि प्रतिक्षारत रहेछन् ।

त्यसपछि पोखरेलले आफ्नो कथामा पोर्तुगललाई जोडे । कथा साइग्रेसले भने, व्यथा पोर्तुगलबासी नेपालीको भने । पोर्तुगलमा पाइला राखेको पहिलो दिन देखी आम नेपालीले भोग्ने यथार्तलाई आफ्नै शैलीमा प्रस्तुत गरे । प्रत्येक हरफहरुमा सहभागीहरुले आफुलाई पाए ।


पोर्तुगल झरे लगत्तै फिनान्स भर्नु पर्दो रहेछ,

सोसल बनाउन पनि कन्ट्रयाक्त गर्नु पर्दो रहेछ ।

मै बनाइदिउँला नि त भाइ भन्दै एउटा चिन्या दाईले लाइदियो

फोगटको कन्ट्रयाक्टलाई पनि त्यही दाईले १००० युरो खाइदियो


******************


रातो पासपोर्ट भन्दा भन्दै अर्को तनावमा फसियो, यता आफ्नो भाको हरियो पासपोर्टको म्यादै सकिएछ ।

उता पेरिस छिरे दुतावासमा बल्ल पुग्छरे, यता ६ हजारको पासपोर्ट फस्याछ ।

५० हजार नेपाली भाको देशमा पनि एउटा पासपोर्ट बनाउन अर्काको देश धाउनु पर्ने ? जाबो एउटा मामुली पासपोर्ट बनाउन पनि सोर्स फोर्स लाउनु पर्ने ?

भन्दै पोर्तुगलमा आम नेपालीले भोग्ने गरेको व्यथालाई आफ्नै शैलीमा शुरु गरेका उनले काम कन्ट्रयाक्ट, ट्याक्स, कार्ड बनाउन भोगेको सास्ती देखी अहिले विकराल बन्दै गएको राहदानी बनाउन पाइरहेको हण्डर र घर नपाउने समस्यालाई पनि टपक्क टिपे लयात्मक शैलीमा सहभागीहरुकै कथा भने ।

यी अहिले पोर्तुगलमा रहेका धेरै नेपालीहरुले दिनदिनै भोगीरहेका समस्याहरु हुन् । यी समस्याहरुबाट आजित भएकाहरुलाई कोही त आए मेरा व्यथा सुन्न भन्नेझै लाग्यो होला । त्यसैले यी कथामा उनीहरुले आफुलाई पाएनन् मात्र मौका पाउँदा प्रश्न पनि राखे ।

साइग्रेससंगै पुगेका एनआरएनए पोर्तुगलका पदाधिकारीहरुलाई पनि आफ्नो समस्या सुनाउने उपयुक्त थलो यो पनि हो भने ठानेँ र कथाले भने जस्तै हाम्रो पनि अहिले राहादनी लगाएतको समस्या विकाराल छ, यस्को समस्या समाधानको लागि पहल गरिदिनुस न है भन्दै अनुरोध गरे ।

साइग्रेसले पनि तपाइहरुको व्यथाले साँच्चै मलाई पनि पोल्यो । यो व्यथालाई कथा बनाएर मात्र भन्दिन, सम्बन्धित निकायसम्म पुर्याउन म मेरो तर्फबाट सकेको भुमिका खेल्छु, तपाइहरुकै यही व्यथालाई कथा बनाएर लिएर आउँछु, सम्बन्धित निकायले सुन्नेछ र गम्भिर भएर समस्या समाधान गर्न तर्फ अग्रसर हुनेछ भनेर केही आशा पनि जगाए ।

त्यसपछि पोखरेलले आफ्ना केही चर्चित भिडियो कथा, केही प्रेरणादायी कथा सुनाए । मानिस जस्तोसुकै परिस्थितीमा पनि आफुलाई सकारात्मक राख्न सक्नुपर्छ भन्ने बाँकी कथाका सारहरुले सहभागीहरुका केही सकारात्मक उर्जा थप्न मद्दत गरेको हुन सक्छ ।

सास फेर्नुमात्र जीवन होइन, जस्तोसुकै नकारत्मक वा सकारात्मक परिस्थितीमा पनि कलात्मक ढंगले जीउनु जिवन हो । त्यसैले समस्या र चुनौती, समाधान र अवसरकै लागि तपाइको पछि लागेका हुनसक्छन्, के थाहा त्यसले तपाइको जिन्दगीका अन्य अवयवहरुको ढोका खोल्न सक्छन् । त्यसैलै समस्याहरुसंग डराएर होईन डटेर अगाडी बढ्नुस जिन्दगीमा निराशाले कहिल्य डेरा जमाउने छैन, उनका कथाहरुको सार थियो ।

कार्यक्रममा प्रमुख अतिथि र अतिथिका रूपमा एनआरएनए युरोप क्षेत्र उपसंयोजक तिलक गैरे, आइसिसी सदस्य भिमसेन थापा, जनजाति महासंघका अध्यक्ष हेम गुरुङ, जनसम्पर्क समितिका महामन्त्री विनोद मरासिनी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

एनआरएनए पोर्तुगलका अध्यक्ष रविन अधिकारीको अध्यक्षता र महासचिव राजकुमार थापाले अत्यन्त आकर्षक र रोचक रूपमा संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य सदस्य तोयानाथ कडेंलले गरेका थिए । सो अवसरमा अध्यक्ष अधिकारीले सहभागीहरुलाई अहिले देखिएको राहादानी समस्यालाई हल गर्न आफु र सिंगो एनआरएनए लागि परेको बताए । उनले फ्रान्स स्थित नेपाली दुतावास, तथा नेपाल स्थित पराराष्ट्र मन्त्रालय, अन्य विभिन्न सरोकारवाला निकायहरुसंग यस विषयमा विगत केही समयदेखी निरन्तर छलफल भइरहको र यो समस्याको समाधान छिट्टै निस्कनेमा आशावादी देखिए । अब पुनः एनआरएनएको वैठकमा यो समस्याका सम्बन्धमा नयाँ तरिकाबाट समाधानको लागि पहल गर्ने विषयमा निर्णय गरेर जाने पनि बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित