पोर्चुगल टेक्नै नपाइ फिर्ता भए नवनियुक्त राजदूत नेपाल, ११ देशका राजदूतले यसरी गुमाए जागिर

पोर्चुगल टेक्नै  नपाइ फिर्ता भए नवनियुक्त राजदूत नेपाल, ११ देशका राजदूतले यसरी गुमाए जागिर
पोर्चुगलका लागि नियुक्ति पाएर फिर्ता भएका नेपाली राजदूत शनिल नेपाल
www.europenepalikhabar.com २०८१ जेठ २४ गते बिहीबार, 6-06-2024


युरोपनेपाली खबर, लिस्बन । सरकारले पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपाल सहित ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले  फिर्ता बोलाएका राजदूतहरूमा भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका रहेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नेपाली कांग्रेससमेत संलग्न पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन २०८० माघ २६ गते पोर्चुगलका लागि शनिल नेपाल र क्यानाडाका लागि भरतराज पौडेललाई राजदूतमा नियुक्त गरेको थियो ।

क्यानाडाका लागि राजदूत बनेका पौडेलले अहिले उक्त जिम्मेवारी सम्हालिरहेका छन् । उनले राजदूतमा नियुक्त भएलगत्तै क्यानाडा पुगेर काम थाले ।

उनले ओटावामा आयोजित कार्यक्रममा गत वैशाख २० गते त्यहाँस्थित गभर्नर जनरल तथा क्यानडाका कमान्डर–इन–चिफ म्यारी जे. मे सिमोनलाई ओहदाको प्रमाणपत्र पनि बुझाइसकेका छन् ।

पौड्यालले त्यसक्रममा सिमोनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश पनि सुनाए।

तर उनै पौडेलसँग एकैदिन नेपाली राजदूतमा नियुक्त शनिल नेपालले एक पटक पनि पोर्चुगल टेक्न पाएनन् ।

पोर्चुगलमा दूतावास खोल्ने गरी पहिलो आवासीय राजदूतको जिम्मेवारी पाएका उनलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता बोलाउने निर्णय गरेको छ ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले क्यानाडाका लागि पौडेल र पोर्चुगलका लागि नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेका थिए ।

गैरआवासीय नेपाली संघका लागि  पोर्चुगलबाट आइसिसी सदस्य  राजकुमार थापाले राजदूत नेपाललाई आफूहरुले पोर्चुगलमा देख्न र भेट्न नपाएको बताए । उनका अनुसार राजदूत नेपालको एग्रिमो स्वीकृत भएर पनि पोर्चुगल नआइ, कार्यभार नसमाली राजदूत पद गएको जानकारी पाएको बताए ।

‘थापाका अनुसार राजदूतमा नियुक्त भएको जानकारी पाएको तर आज फेरि उहाँ राजदूतबाट फिर्ता भएको खबर थाहा पाइयो, उनले भने, ‘राजदूत नेपालबाट पोर्चुगल आउने अपेक्षामा थियौँ । तर, उहाँ आउने कुरा उतै बिलायो। न उहाँ आउनु भयो, न दूतावास नै स्थापना हुन सकेको छ, झन् अन्योल भयो ।’

आइसिसी सदस्य थापाका अनुसार पोर्चुगलमा हजारौँ नेपाली राहदानी हराएर र म्याद सकिएर नवीकरण गर्न नपाएर तनावमा छन् । आवासीय दूतावास खोल्ने सरकारको निर्णयले यहाँका नेपालीहरुमा एककिसिमको उत्साह र राहत मिल्ने अपेक्षा गरिएको थियो । लामो समयदेखि पोर्चुगल बस्दै आएका नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष समेत रहेका थापाले भने यहाँको बैधानिक कागजपत्रको पर्खाइमा रहेका नेपालीहरु पासपोर्ट नभएर आहत भइरहेको बेला राजदूताबास स्थापनाको कामले मुर्त रुप नलिंदा सेवाग्राहीहरुमा झन् निराशा थपिएको छ ।

‘यहाँ लगभग ५ हजारभन्दा धेरै नेपाली कतिपयको राहदानी हराउँदा वा म्याद सकिंदा नवीकरण गर्न नपाएर तनावमा छन्’, थापा भने, ‘राजदूत नेपालबाट यहाँ केही समयका लागि मात्रै आएर बसिदिएको भए पनि ठूलो राहत हुन्थ्यो । तर उहाँले पाइलासमेत टेक्न नपाइ सरकारले फिर्ता बोलाएको खबर आज सुनियो ।’

राजदूत नेपाल तत्कालीन कांग्रेससहितको गठबन्धन सरकारको पालामा कांग्रेस नेता डा. शेखर कोइरालाको कोटाबाट नियुक्त भएका थिए । उनलाई कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठनमा आबद्ध भएकै आधारमा राजदूतमा सिफारिस भएको भन्दै सांसदहरूले त्यसबेला आलोचना पनि गरेका थिए ।

पोर्चुगलका लागि राजदूतमा सिफारिस भएपछि गत मंसिरमा २२ मा भएको सुनुवाइका क्रममा नेपालले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई नेपाल ल्याउन पहल गर्ने बताएका थिए ।

संसदीय सुनुवाइका क्रममा सांसदहरूको जिज्ञासामा उनले रोनाल्डोलाई नेपाल ल्याएर सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तनबारे सन्देश दिने गरी फुटबल खेलाउने बताएका थिए ।

‘रोनाल्डोलाई भित्र्याउन चाहेको छु, मनमा योजना छ । सगरमाथाको बेसक्याम्पमा लगेर जलवायु परिवर्तनमा काम गर्ने योजना छ,’ उनले त्यसबेला भनेका थिए ।

राजदूतमा सिफारिस भएपछि संसदीय सुनुवाइका क्रममा रोनाल्डो नै नेपाल ल्याएर फुटबल खेलाउने प्रशिक्षण गराउने कार्य योजना सुनाएका नेपालले पोर्चुगल नै नटेकी राजदूत पद गुमाउँदा निराश भएको बुझिएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित