संखुवासभामा बाढीपैरो : सयौं घरपरिवार विस्थापित, केही घाइते, जताततै सडक भत्कियो

संखुवासभामा बाढीपैरो : सयौं घरपरिवार विस्थापित, केही घाइते, जताततै सडक भत्कियो
www.europenepalikhabar.com २०८१ जेठ ३१ गते बिहीबार, 13-06-2024


संखुवासभा —संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ३ घर बगाएको छ । करिब १ सय २५ भन्दा बढी घर विस्थापित भएका छन् । 

पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् ।

खाँदबारी ५ र ६ नम्बर वडामा आएको बाढीले कम्तीमा १ सय १० परिवार विस्थापित भएका छन् । खेतबारीमा ठूल्ठूला ढुंगा थुप्रिएर बगरमा परिणत भएका छन् । डुङ्डुगे आकाशे सिंचाई र हिंगुवा कुलो सिंचाईमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् । धुपू बाह्रबीसे जोड्ने माल्टाखोला माथिको पक्की पुल जोखिममा परेको छ । खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । पीडितहरु राहतको भन्दा पनि दिर्घकालीन समस्या समाधानको पर्खाईमा बसेका छन् ।

वर्षा धेरै भएकाले नदी किनारा, भीरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ । उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ । बाढीले कम्तीमा ३ करोडको धनमाल क्षति भएको अनुमान गरिएको छ । क्षतिको तथ्यांक भने गाउँस्तरमा संकलन भइरहेको छ ।

यसैगरी सङ्खुवासभाकाे सिलिचाेङ गाउँपालिका ३ खुङ्वामा पहिराेमा परि स्थानीय उत्तर बहादुर कुलुङ र दिल बहादुर कुलुङ घाईते भएका छन् । गाउँ नजिकै पहिराेले भत्काएकाे बाटाे मर्मत गर्ने क्रममा माथीबाट पहिराे खसेर घाईते भएकाे वडा सदस्य टिकाराम कुलुङले जानकारी दिनुभयाे । घईते दुवैलाई थप उपचारकाे लागि धरान लगिएकाे उहाँले जानकारी दिनुभयाे ।

यसैगरी बुधबार राती संखुवासभाकाे चिचिला गाउपालिका २ मा चट्याङ लागेर एक जनाकाे मृत्यू भएकाे छ । चट्याङ लागेर ४१ बर्षीय सावित्रा गुरूङकाे मृत्यू भएकाे हाे ।बुधबार  राति नै चिचिला ४ काे खालिङ गाउँमा परेकाे चट्याङले एक वटा गाेरू समेत मरेकाे छ ।

नदीमा पानीको बहाव बढेपछि अरुणको फेरी बन्द

भोजपुरको उत्तरी क्षेत्र र संखुवासभा जोड्ने अरुण नदीको सतीघाटमा सञ्चालित फेरी बन्द गरिएको छ । मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो ।

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सीधा जोड्ने षडानन्द नगरपालिका-६ र खाँदबारी नगरपालिका-९ सतीघाटमा पुल नबन्दा अरुण नदीमा फेरी राखिएको छ । षडानन्द नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म फेरी सञ्चालन नहुने जनाएको छ ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी बनेको छ । फेरीले एकैपटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ ।

अरुणमा सञ्चालनमा रहेको फेरीले आवतजावतमा सुविधा हुँदै आएको बताउँदै षडानन्दका मेयर सुरेन्द्रकुमार उदासले वर्षात्‌मा खोलामा पानीको बहाव बढेकाले फेरी बन्द गर्न लागिएको बताए । फेरीबाट दैनिक एक सय बढी साना ठूला सवारीसाधन तार्ने गरिएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित