बेल्जियममा नेपालीको पीडा : ढुकुटीले पसिनाको कमाइ डुब्यो, घरबार बर्बाद बन्यो

बेल्जियममा नेपालीको पीडा : ढुकुटीले पसिनाको कमाइ डुब्यो, घरबार बर्बाद बन्यो
www.europenepalikhabar.com २०८१ असार ४ गते मंगलबार, 18-06-2024


युरोप । बैंक र लकरहरुको ब्यबस्था नहुँदा नगदको प्रबाहमा कठिनाई हुने समयमा नेपालका गाँउ बस्तिमा ढुकुटी, सापटी र अर्मा पर्मा जस्ता ब्यबस्था चल्तिमा थिए, जसलाई समाजले र कानुनले स्विकार गरेको थियो । नेपाली समाजले आज पनि जटिल अवस्थामा आर्थिक एबम व्याबहारिक समस्याबाट पार पाउन ढुकुटी र सापटी प्रयोग गर्ने गरेका छन् ।

राज्यको कर प्रणाली भित्र नपर्ने भएकोले यसलाई गैर कानुनी मानिन्छ , बेल्जियम लगायतका कति देशमा त यस बिरुद्ध निकै कडा कानुनहरु पनि छन । मनि लन्ड्रिङ्ग र कर बाहिरको आर्थिक गतिबिधिलाई गैर कानुनी मानेको बेल्जियममा ब्याजको लोभमा दिएको सापटी र ढुकुटीमा नेपाली समुदायको करीब पचास लाख युरो डुबेको छ ।

घर परिवार र आफ्नो स्वास्थ्य भन्दा पैसालाई महत्व दिएर अति लोभ पाल्नाले केही ब्यक्तिहरु डिप्रेसनको सिकार भएकाछन, केहीको जीबननै तलमाथि हुने अवस्था छ । पछिल्लो समयमा भएका केही मृत्‍युका घटनामा ढुकुटीले निम्त्याएको तनाबलाई कारक मानिएको छ ।

धेरै नेपालीहरुका घरमा पसिनाको कमाई सित्तै गुमेकोमा परिवारमा अशान्ती छ, एकअर्कालाई छलेर खेलेको ढुकुटी डुबे पछि श्रीमान श्रीमती बिचको सम्बन्धमा खाडल परेको छ ।

एक थरिलाई पैसा गुमेको चिन्ता छ,अर्को थरिलाई परीबन्दमा परेर थाप्लोमा आइलागेको ऋण कसरी तिर्ने सास्ती छ, भने केही ठगहरु पहिला अर्काको पैसामा मस्ती गरेर अहिले जे गरे गर भनेर मस्तिमा बसेका छन् ।

समग्रमा केही ब्यक्तिको लोभ र ठग्ने नियतले सिङ्गो समुदायमा अशान्ती फैलिएको छ ।

नेपालीहरुको बस्ति रहेका शहरहरु एन्टवेरपेन, ब्रुगे, लुभेनमा गरी करीब २५ वटा ठगिका केश बेल्जियम प्रहरीमा पुगेका छन् ।

घर किन्नका लागि जम्मा गरेको पैसा, छोराछोरिको विवाह ब्रतबन्धमा आगन्तुकहरुले उपहार स्वरुप दिएको पैसा, गहना धरौटी राखेर निकालेको पैसा, आफुले २ प्रतिशत ब्याज तिर्ने गरी ऋण लिएर पाच प्रतिशत ब्याजमा दिएको लगायतका पैसा डुबे पछि धेरै मानिस थेग्न नसकिने मानसिक पिडामा छन, जसले कुनै बेला पनि अप्रिय घटना हुन सक्छ ।

लामो समय सम्म गरेको बचत अर्काले खाइ दिएपछि नेपाली दुताबास ब्रसेल्स, एनआरएनए बेल्जियम, नेपाल पत्रकार महासंघ बेल्जियम लगायतका संघ संस्थालाई निबेदन दिएर फसेको रकम उठाइदिन पीडितहरुले आग्रह गरेकाछन । ढुकुटी र नगद लेनदेन कानुन भन्दा बाहिरको कारोबार भएकोले यि संस्थाहरुले पीडितलाई शान्त्वना दिने र समस्या समाधनका लागि सहजिकरण गर्न पहल गरे पनि कुनै उपाय निस्किएको छैन ।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाका अनुसार पीडित र पिडक दुबै पक्षलाई राखेर केही सहमति गराएको र केही रकम फिर्ता पनि गरिएको छ । तर हिनाममिना भएको रकम निकै ठुलो भएको, एक जनाको रकम हिनामिनामा दुई जना भन्दा बढी ब्यक्ती संलग्न भएको, कुनै कुनै केसमा सावा भन्दा ब्याज धेरै तिरिसकेको तर ब्याजमा लगाएको ब्यक्तिले अझै ब्याजमा स्याज जोडेर रकम दाबी गर्ने गरेकोले समस्यामा जटिलता थपिएको छ ।

गत बर्ष एन्तवेरपेन बस्ने एक जना महिलाले ढुकुटी खेलाएको र ब्याजमा लिएको करीब २० लाख युरो हिनामिना भए पछि एक पछि अर्को केशहरु सार्वजनिक भएका थिए । उक्त महिलाबाट पीडित भएकाहरुले उनलाई हातपात गरे पछि प्रहरी केश भएको र अहिले पनि प्रहरीमा केस चल्दैछ ।

बेल्जियममा भएका ठुलो रकम हिनामिनामा पीडित र पिडक धेरै जसो महिलाहरु नै छन । कति महिलाहरुले त ब्याजको लोभमा सुनका गहना पनि दिएका छन् ।

कुनै बैधानिक आम्दानी नभएको मान्छेले ६० हजार, ८० हजार युरो सम्मको ढुकुटि खेलाएको, त्यस समुहमा ५/६ वटा नक्कली नाममा आँफै ढुकुटी खाएर पैसा नेपालमा घर जग्गा किन्न खर्च गरेको, कतिपयले बेल्जियमबाट नेदरल्यान्ड सम्म गएर क्यासिनो खेलेर हार्ने गरेको, आफ्नो लागि बिलासी सरसामानमा फजुल खर्च गर्ने गरेको कारण र कतिपयको चाँही नियत नै ठग्ने भएकोले यो समस्या आएको देखिन्छ ।

गत बर्ष एनआरएनए बेल्जियम र पत्रकार महासंघ बेल्जियममा निबेदन परेपछि तत्कालिन एनआरएनए अध्यक्ष खड्क बहादुर केसी लगायतको प्रयासमा भएको छलफलमा पीडितहरु कानुनि प्रोसेसमा गए त्यसको खर्च एनआरएनए बेल्जियमले ब्यहोर्ने र सामाजिक रुपमा पनि छलफल गरेर समाधानको उपाय निकाल्ने निर्णय भएको थियो ।

एनआरएनए बेल्जियमको नयाँ कार्यसमिती बने पछि बर्तमान अध्यक्ष सापकोटाले निरन्तर समस्या समाधानको पहल गरेको बताउनु भएको छ ।  नेपाली दुतावास बेल्जियमले नेपाल सरकारको बैधानिक निकायले ढुकुटि जस्तो गैर कानुनि लेनदेनलाई कानुनि रुपमा सहयोग गर्न नमिल्ने बताएको छ ।

पैसा हिनामिना गरेकाहरुले समाधानका लागि बार्ता गरौं भन्दा नमान्ने र घर गए प्राइभेसी हनन भएको र धम्की दिएको भनेर पुलिस बोलाउने गरेको पीडितहरुले बताएका छन् ।

घर घरमा अशान्ती, सामाजिक सम्बन्धमा दरार र दुस्मनी , मानसिक रोग र मृत्‍युको कारण सम्म बनेको ढुकुटि र ब्याजमा पैसा लगाउने परीपाटीलाई निरुत्साहित गर्नु हाम्रो समाजका लागि अति आबस्यक भएको छ ।

समाजको नेत्रित्वकर्ताहरु र बेल्जियमको कानुन ब्यबस्था बुझेको नयाँ पुस्ताले यस खाले बिकृतिलाई निर्मुल पार्न चेतना फैलाउन अभियान संचालन गर्न अब ढिला गर्न हुँदैन ।

- चारदिशा 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित