विभिन्न देशका लागि राजदूत सिफारिस हुँदा पोर्चुगलको किन भएन ?

विभिन्न देशका लागि राजदूत सिफारिस हुँदा पोर्चुगलको किन भएन ?
www.europenepalikhabar.com २०८१ असार ८ गते शनिबार, 22-06-2024


नेपाल सरकारले शुक्रबार भारतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीसहित ८ देशका लागि राजदूत सिफारिस गरेको छ । राजदूत सिफारिस गरिएका ८ मध्ये एमालेबाट ५, जनता समाजवादी पार्टीका दुई र माओवादीका एक जना छन् ।

भारत, अमेरिका, दक्षिण कोरिया, डेनमार्क र मलेसिया एमालेको भागमा, जसपालाई साउदी अरब र स्पेन र बेलायत माओवादीको भागमा परेको छ । तर बेलायत बाहेक युरोप महादेशमा सबैभन्दा धेरै नेपाली भएको नयाँ राजदूतावास पोर्चुगलमा भने कसैलाई सिफारिस गरिएको छैन । यसको मुख्य कारण यस्तो रहेको बुझिएको छ ।

मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकारलाई राजदूतमा सिफारिस गरेको हो ।

मुसलमान र राजकर्णिकार जसपाबाट तथा पन्त माओवादीबाट सिफारिस भएका हुन् । अन्य ५ जना एमालेको कोटाबाट राजदूतमा सिफारिस भएका एक मन्त्रीले जनाए । हाल ११ मुलुकमा राजदूत खाली छन् । अझै इजरायल, कतार र पोर्चुलमा राजदूत सिफारिस गर्न बाँकी छ ।

राजनीतिक भागबन्डाअनुसार दुई वटा राजदूतको कोटा पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अझै नाम टुंगो लगाउन सकेको छैन । नाम टुंगो लगाउन रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्ले, सांसदहरू सोविता गौतम र शिशिर खनालको कार्यादलले अध्ययन गरिरहेको जनाइएको छ । ‘पारदर्शी ढंगले नाम छनोट गर्नका लागि एउटा मापदण्ड बनाएका छौँ । त्यसअनुसार राजदूत बन्न आवेदन दिनुपर्ने र कसैले सिफारिस गर्न सक्ने व्यवस्था गरेका छौँ,’ वाग्लेले भने, ‘छिट्टै नाम टुंगो लगाएर सरकारसमक्ष सिफारिस गर्नेछौँ ।’

सरकारले ११ मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको एक महिनाभित्रै आठ मुलुकमा नयाँ राजदूत सिफारिस गरेको हो । बाँकी ३ मध्ये एक जना माओवादीले लिने सहमति भएको नेताहरूले जनाएका छन् । शुक्रबारको मन्त्रिपरिषद्ले निर्णय गरी भारतका लागि सिफारिस गरिएका रेग्मी यसअघि बेलायतका लागि राजदूत भइसकेका थिए । केपी शर्मा ओलीको तत्कालीन नेकपा सरकारले बेलायतका लागि राजदूत नियुक्त गरेका रेग्मीलाई त्यसपछि बनेको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । फेरि एमाले सरकारमा आएपछि रेग्मीलाई भारतका लागि मौका दिइएको हो ।

अमेरिकाका लागि सिफारिस भएका पूर्वसचिव घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव हुन् । उनले विगतमा कोलकातास्थित महावाणिज्यदूतका रूपमा काम पनि गरेका थिए । दक्षिण कोरियाका लागि सिफारिस प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका पालामा मानव अधिकार मामिलाका सल्लाहकार थिए । डेनमार्कका लागि राजदूत सिफारिस तुलाधरले महिला तथा बालअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी छन् । मलेसियाका लागि सिफारिसमा परेका तिमिल्सिना गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष हुन् । उनीसँग लामो समयदेखि गैरसरकारी संस्थामा काम गरेको अनुभव छ ।

बेलायतका लागि सिफारिस भएका पन्त तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका विकास मामिला सल्लाहकार थिए । अहिले उनी माओवादीको कोटाबाट प्रधानमन्त्री पुष्पकमल दाहालकै जोडबलमा राजदूत सिफारिस भएका हुन् । जसपा कोटाबाट राजदूतमा सिफारिस भएका राजकर्णिकार राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् । साउदी अरबका लागि सिफारिस भएका मुसलमान कपिलवस्तुका जसपा नेता हुन् । मन्त्रिपरिषद्बाट सिफारिस भएका राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि संसद्मा पठाइनेछ । संसदीय सुनुवाइ पूरा भएपछि सम्बन्धित मुलुकमा एग्रिमो (स्वीकृति) को लागि पठाइन्छ र एग्रिमो आएपछि राजदूतमा नियुक्त गरिन्छ । राजदूतको कार्यकाल ४ वर्षको हुन्छ ।

नेपालका अहिले ३० वटा राजदूतावास र संयुक्त राष्ट्र संघका लागि ३ वटा स्थायी नियोगहरू छन् । यस्तै, ७ ओटा महावाणिज्य दूतावास छन् । राजदूत नियुक्त निर्देशिकाअनुसार ५० प्रतिशत कूटनीतिक सेवा र ५० प्रतिशत राजनीतिकतर्फबाट सरकारले राजदूत नियुक्ति गर्ने मापदण्ड बनाइएको छ । सरकारले गत जेठ २४ मा ११ मुलुकका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री दाहालले आफ्नो जेठ २७ को भारत भ्रमणको तीन दिनअघि नै राजदूत फिर्ता बोलाउने निर्णय गरेका थिए । दाहालले कांग्रेससँग गठबन्धनमा रहेको बेलामा आफू नै प्रधानमन्त्री छँदाको मन्त्रिपरिषद्ले सिफारिस गरेका भारतसहितका ११ मुलुकका राजदूतलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाएका हुन् । सरकारले परराष्ट्र मन्त्रालयको सिफारिसलाई स्वीकृत गरेर शुक्रबार ८ मुलुकका लागि राजदूत सिफारिसको प्रक्रिया अघि बढाएको हो । तर यसअघि प्रधानमन्त्री दाहालले परराष्ट्रको सहमतिबिना नै ठाडो प्रस्तावमा ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेका थिए ।

दाहालले गठबन्धन दलको सबैभन्दा ठूलो एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि राजदूत फिर्ता बोलाउने निर्णय गरेका थिए । सरकारले फिर्ता गरेका राजदूतमध्ये अमेरिका, बेलायत, भारत, दक्षिण कोरिया, पोर्चुगल, इजरायल, साउदी अरब, मलेसिया, डेनमार्क, कतार र स्पेनका राजदूत कांग्रेस–माओवादीसहितको गठबन्धन सरकारद्वारा नियुक्त गरिएका थिए । पोर्चुगलका लागि नयाँ राजदूत सनिल नेपाल नियुक्त गर्दा भने दाहाल नै प्रधानमन्त्री थिए । सरकारले राजनीतिक नियुक्तबाट राजदूत भएका चीन, रुस, अस्ट्रेलिया र श्रीलंका राजदूतहरूलाई भने बोलाएको छैन । माओवादीबाट राजदूतका लागि सिफारिस गरिएका चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ र श्रीलंका लागि नेपालका राजदूत वासुदेव मिश्र हुन् । रुसमा नेपाली राजदूत मिलन तुलाधर छन् । अस्ट्रेलियामा कैलाश पोखरेल राजदूत छन् । रुस र अस्ट्रेलियाका राजदूत एसको कोटाबाट नियुक्त भएका हुन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित