प्रहरीद्वारा हाइपर फन्ड ठगीमा ६३ जनाविरुद्ध मुद्दा दायर, मुख्य योजनाकार पोर्चुगल र बेलायत भएकोले इन्टरपोलको सहयोगमा पक्राउ गरिने

प्रहरीद्वारा हाइपर फन्ड ठगीमा ६३  जनाविरुद्ध मुद्दा दायर, मुख्य योजनाकार पोर्चुगल र बेलायत भएकोले इन्टरपोलको सहयोगमा पक्राउ गरिने
www.europenepalikhabar.com २०८१ असार २३ गते आइतबार, 7-07-2024


नयाँ पत्रिकाबाट, काठमाडौ । नेटवर्किङ शैलीको हाइपर फन्ड ठगीमा प्रहरीले ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पक्राउ परेका दुई र अन्य ६१ जनालाई फरार प्रतिवादी बनाई सात करोड ७१ लाख रुपैयाँ ठगीको अभियोगसहित सोमबार जिल्ला अदालत, ललितपुरमा मुद्दा दायर भएको हो । करोडौँ ठगी भए पनि ५७ जनाको मात्र जाहेरी परेकाले उनीहरूकै जाहेरीका आधारमा बिगो कायम गरी मुद्दा दायर गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ ।

पक्राउ गरी मुद्दा दायर गरिएकाहरू ललितपुरकी ज्ञानु घिमिरे र लमजुङका कृष्णकान्त भण्डारी हुन् । सिआइबीले दुई साता लामो अनुसन्धान गरी संगठित अपराध र ठगी मुद्दा दायर गरेको हो । 

अस्ट्रेलियाको ब्लक चेन टेक्नोलोजीको नाममा लगानीको तीन गुणा नाफा हुने भन्दै पैसा हाल्न लगाएर ठगी भएको अनुसन्धानमा खुलेको छ । ठगीमा पर्नेहरू र ठग्ने गिरोहका नाइके पनि धेरै विदेशमा रहेको सिआइबीका प्रहरी निरीक्षक जयन्ती थापाले बताइन् ।

ठगीमा २२ जनाको मुख्य संलग्नता देखिएको र अन्यको बैंक खाता मात्र प्रयोग भएको अभियोग–पत्रमा उल्लेख छ । सिआइबीका अनुसार पक्राउ परेका घिमिरे र भण्डारीसहित निर्मलप्रसाद घिमिरे, योगेन्द्रमिलन छन्त्याल, कुमार गुरुङ, चन्द्रकुमार लिम्बू (तुम्बाहाम्फे), अमृत पण्डित, मनिता अधिकारी, फर्सुराम गौतम, दीपक बस्नेत, देवीकुमार पोखरेल(रोसन) ठगीका मुख्य व्यक्ति हुन् । त्यस्तै, मनोहरी थापा, सबु भन्ने साबित्रा भट्टराई, लालकुमार न्यौपाने, हिराबहादुर रन्तिजा, विशाल थापा, भानु पुनमगर, गोविन्द सेढाई, रामचन्द्र थापा, यमुना छन्त्याल, जसमान लिम्बू र कमला गुरुङले हाइपर फन्डमा लगानी गर्न प्रेरित गरी ठगीमा मुख्य रूपमै संलग्न रहेको सिआइबीले जनाएको छ । 

मुख्य योजनाकार समूहका धेरै विदेशमा छन् । योगेन्द्र छन्त्याल पोर्चुगल, कुमार गुरुङ बेलायत, दीपक बस्नेत न्युजिल्यान्ड, गोविन्द सेढाई बेलायतमा रहेको खुलेको छ । कम्पनीको सम्पत्ति २० बिलियन डलर रहेको र कम्पनी डुबे पनि सबैको पैसा फिर्ता दिने भन्दै पैसा हाल्न लगाइएको थियो । एक वेबसाइट खोलेर त्यसमा आफ्नो ब्यालेन्स हेर्न मिल्ने बनाइएको र पछि वेबसाइट नै खुल्न छाडेपछि पीडितहरू ठगिएको थाहा पाएर प्रहरीमा पुगेका थिए । जति धेरै सदस्य बनायो, त्यति नाफा हुने भन्दै पिरामिड शैलीमा उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ । ठगीमा संलग्नमध्ये केही गैरआवासीय नेपाली संघमा आबद्ध अगुवाहरूसमेत छन् ।

विदेशमा रहेका नाइकेहरूलाई इन्टरपोलमार्फत समेत पक्राउ गरी ल्याउने सिआइबीका एक अधिकारीले बताए । साथै, मुख्य नाइकेहरूको सम्पत्ति शुद्धीकरणको कसुरमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । त्यस्तै, ठगीमा संलग्न देवीकुमार पोखरेल(रोसन), रेनुमाया गुरुङ, देवेन्द्र गौतम, मोदनाथ बेल्बासे, मिङ्मार शेर्पा, सुरेन्द्र अधिकारी, हिरा पुन, यम पुन, लालकुमार न्यौपाने, धनमाया चौहानलगायत व्यक्तिको ठेगाना खुलेको भन्दै पक्राउ परेसँगै मुद्दा चलाइने सिआइबीले जनाएको छ । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित