उपसभामुख इन्दिरामाथि गम्भीर आरोप, अब के हुन्छ ?

उपसभामुख इन्दिरामाथि गम्भीर आरोप, अब के हुन्छ ?
www.europenepalikhabar.com २०८१ साउन ३ गते बिहीबार, 18-07-2024


युरोप । युवाहरूलाई विदेश पठाउने धन्दामा उपसभामुख इन्दिरा रानामगर सक्रिय रहेको खुलेको छ।

संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुख रानामगर युवाहरूलाई अमेरिका पठाउने कार्यमा जोडिएपछि विवादमा तानिएकी छिन्।

विशेष स्रोतका अनुसार ‘बिचौलियाको भूमिका’मा रही चिनेजानेका वा मोटो रकम असुली गरी केही युवाहरूको लागि अमेरिकी भिसा माग्दै काठमाडौँस्थित अमेरिकी दूतावासलाई उपसभामुखको तर्फबाट पत्र पठाइएको थियो।

सन् २०२३ फेब्रुअरी २६ मा उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको नाम लेखेर न्युयोर्कमा आयोजित गैरसरकारी संस्था ‘सिएसडब्यू–६७’को कार्यक्रमका जान लागेको भन्दै भिसा मागेकी थिइन्।

तर, अमेरिकी दूतावासले उनको अनुरोधलाई अस्वीकार गर्‍यो अर्थात् टेरेन। दूतावासले रानामगरसहित सबैको भिसा ‘रिजेक्ट’ गरेको थियो।

उपसभामुखको लेटरप्याड प्रयोगगरी ‘०००७२६’ नम्बरको कुटनैतिक पासपोर्टवाहक इन्दिरा रानामगर, उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङका लागि भिसा मागिएको थियो।

घटना अघिल्लो वर्षको भएपनि अमेरिकी दूतावासलाई लेखेको त्यो पत्र अहिले छताछुल्ल भएको छ।

स्रोतका अनुसार केही युवाबाट उपसभामुखनिकट राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेताले रकम समेत असुली गरेका छन्।

उपसभामुखकाे रबैयालाई गम्भीर रुपमा लिनुपर्ने नेपाली कांग्रेसका एक सांसद्ले बताएका छन्।

‘उपसभामुख जस्तो दिमा बसेको मान्छे आफ्नो पदीय हैसियत बिर्सिएर कतिपय युवालाई अवैध रुपमा अमेरिका पठाउने धन्दामा लाग्नु दुःखद् हो,’ ती सांसद्ले भने।

उपसभामुखको यो कार्यप्रति उच्च तहमा चर्चा चुलिएको छ। यसबारे केही तथ्य कतिपय सांसद्हरूको हातमा परेको र छिट्टै सार्वजनिक गर्ने तयारी रहेको बताइन्छ।

राज्यबाट भीआइपी सुविधा पाउने कुनै पनि व्यक्ति विदेश जानुपरे भिसालगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ।

उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ। तर, उपसभामुख रानामगरले भने सिधै आफै पत्र लेखेर भिसा ‍मागेकी दाबी गरिएको छ।

यसअघि पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निमन्त्रणामा २ मार्चमा लण्डन जानैलाग्दा उपसभामुख रानामगरको भ्रमण भिसा अस्वीकृति भएको थियो।

स्रोतका अनुसार सभामुख देवराज घिमिरे र संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले उपसभामुखको विषयलाई नोटिशमा लिइसकेको बुझिएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित