कुन राशिका लागि पुस महिना(१६ डिसेम्बरदेखि १५ जनवरीसम्म)मा कस्तो योग छ ?

कुन राशिका लागि पुस महिना(१६ डिसेम्बरदेखि १५ जनवरीसम्म)मा कस्तो योग छ ?
www.europenepalikhabar.com २०८१ पुष १ गते सोमबार, 16-12-2024


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

मेष राशि हुनेहरूका लागि सूर्य भाग्य भावमा, बुध २१ गतेसम्म कष्ट भावमा र २१ गतेबाट भाग्य भावमा, शुक्र १४ गतेसम्म कर्म भावमा र १५ गतेबाट लाभ भावमा, बृहस्पति र शनि क्रमशः धन भावमा र आए भावमा, मंगल सुख भावमा, राहु खर्च भावमा र केतु प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् ।

 शुक्र, वृहस्पति तथा शनिको अनुकूलताले सङ्घर्षका बाबजुद राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि राज्यबाट पद प्राप्तिको योग रहेको छ । प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा मान सम्मान पाइने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले साथ दिने हुनाले अध्यात्म तथा धर्मसँग सम्बन्धित व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । स्कुल,कलेज,बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् ।

तर पनि घर गृहस्थीमा व्यावहारिक कुरा नमिल्दा केही असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा ढिलासुस्ती तथा रुपैयाँ पैसा फस्न सक्छ ध्यान दिनुहोला । राशि स्वामी मङ्गलको प्रतिकुलताको कारणले यात्रा गर्दा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । घाउ,खटिरा तथा चोटपटकको योग रहेको छ ख्याल गर्नुहोला ।  

महिनाभरै शिवजीको दर्शन, मंगलबार गणेश भगवान्को दर्शन तथा भक्ति भावका साथ पूजा गर्नाले ग्रहहरूको नकारात्मक प्रभावबाट बच्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

वृष राशि हुनेहरूका लागि सूर्य कष्ट भावमा, बुध २१ गतेसम्म व्यापार भावमा र २२ गतेबाट कष्ट भावमा, शुक्र १४ गतेसम्म भाग्य भावमा र १५ गतेबाट कर्म भावमा, बृहस्पति र शनि क्रमशः राशिमा र कर्म भावमा, मंगल पराक्रम भावमा, राहु लाभ भावमा र  केतु विद्या भावमा गोचर गरिरहेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरूको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दिदी बहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुन सक्छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ । पराक्रम भावमा गोचर गर्ने कमजोर मंगलले दाजुभाइ बिच सम्बन्धमा दरार पैदा गराउने तथा विद्या भावमा गोचर गर्ने केतुको नकारात्मक प्रभावले अध्ययनमा बाधा तथा अवरोध हुने योग रहेको छ ।

तापनि बुध,शुक्र तथा अरू ग्रहको अनुकूल प्रभावले व्यापार व्यवसाय फस्टाएर जानेछ । नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । पत्रकार, उद्योगी व्यापारी, खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । महिलाहरूले फेन्सी तथा कस्मेटिक व्यवसायमा लगानी गर्दा आम्दानीमा बढोत्तरी हुने योग रहेको छ । राशिमा गोचर गर्ने वृहस्पति र कर्म भावमा गोचर गर्ने शनिको अनुकूल प्रभावले कर्म क्षेत्रमा वर्चस्व कायम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । दैनिक उपभोग्य सामाग्री तथा स्वास्थ्य सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रबाट लाभ लिन सकिनेछ । शैक्षिक वा कर्म प्राप्तिको लागी लामो दूरीको यात्राको योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मिथुन राशि हुनेहरूका लागी सूर्य व्यापार भावमा, बुध २१ गतेसम्म प्रतिस्पर्धा भावमा र २२ गतेबाट व्यापार भावमा, शुक्र १४ गतेसम्म कष्ट भावमा र १५ गतेबाट भाग्य भावमा, बृहस्पति र शनि क्रमशः खर्च भावमा र भाग्य भावमा, मंगल धन भावमा, राहु कर्म भावमा र  सुख भावमा गोचर गरिरहेका छन् ।

 व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा वैमनस्यता पैदा हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । धन भावमा मङ्गलको गोचरले धन सम्पत्ति फस्ने तथा उठ्नु पर्ने रकम नउठ्नाले काममा  समस्या आउन सक्छ । सुख भावमा केतुको गोचर अनुकूल नहुनाले पैतृक सम्पत्तिमा विवाद तथा घरजग्गाको कारोबारमा मन्दी आउने तथा सवारी साधनको कारोबारमा घटोत्तरीको योग रहेको छ । खर्च भावमा वृहस्पतिको गोचरले लामो दूरीको यात्राको तय हुने भए पनि समय खर्चालु रहेको छ ।

 तर पनि महिनाको उत्तरार्द्धको समय शुभ रहकोले अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आंशिक लाभ हुनेछ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । धार्मिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

महिना भरि नै गणेश भगवान्को दर्शन, देवी बंगलामूखीको पूजा तथा दर्शन र बटुक  भैरवको दर्शन गर्नाले दैनिकी सहज रूपमा बित्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

कर्कट राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा, बुध २१ गतेसम्म विद्या भावमा र २२ गतेबाट प्रतिस्पर्धा भावमा, शुक्र १४ गतेसम्म व्यापार भावमा र १५ गतेबाट कष्ट भावमा, बृहस्पति र शनि क्रमशः लाभ भावमा र कष्ट भावमा, मंगल राशिमा, राहु भाग्य भावमा र  केतु प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् ।

 माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना कर्कट राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । सूर्य, वृहस्पति, तथा केतुको कुनुकुल गोचरका कारण साहसी काम गरेर अरूको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायालयबाट हुने निर्णयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ । पैतृक सम्पत्ति र प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन  सकिनेछ । पढाइ लेखाइमा अरूलाई पछाडि छोड्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु हुँदा काम गर्न जोस जाँगर बढेर आउनेछ । नयाँ कार्ययोजना बनाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । राजनीतिकर्मी, समाजसेवी, पत्रकार, खेलाडी, विद्यार्थी तथा मेडिकल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुका लागी समय उत्तम रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दूरीको यात्राको तय हुनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ ।

तर पनि कष्ट भावमा शनिको गोचर र महिनाभरै शनिको अढैया दशाको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला ।

 यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

सिंह राशि हुनेहरूका लागी सूर्य विद्या भावमा, बुध २१ गतेसम्म सुख भावमा र २२ गतेबाट विद्या भावमा, शुक्र १४ गतेसम्म प्रतिस्पर्धा भावमा र १५ गतेबाट व्यापार भावमा, बृहस्पति र शनि क्रमशः राज्य भावमा र व्यापार भावमा, मंगल खर्च भावमा, राहु कष्ट भावमा र  केतु धन भावमा गोचर गरिरहेका छन् । 

खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरू समयमा सकाउन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाइ लेखाइमा अरू भन्दा पछि परिनेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । समयमा काम नसकिने तथा बौद्धिक व्यक्तित्व सँग सैद्धान्तिक राय बाझिनेछ । खर्च भावमा कमजोर मंगलको गोचरको कारण वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा उल्झन आउने तथा रुपैयाँ पैसा फस्न सक्छ । घाउ तथा चोटपटक लाग्न सक्छ ध्यान दिनुहोला । नियम संगत काम नगर्दा जेलनेल सम्मको यात्रा हुन सक्छ ख्याल गर्नुहोला । दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । राहु तथा केतुको गोचर अनुकूल नहुनाले धन सम्पत्ति फस्ने तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

तापनि बुध,शुक्र र वृहस्पतिको अनुकूल गोचरमा कारण राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो योग बनेको छ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि समयले साथ दिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भूमि तथा पैतृक धन प्रयोग गरि मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्न र निर्माण सामाग्रीसँग सम्बन्धित सामानको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । मातापिता तथा अग्रजबाट आशीर्वाद प्राप्त हुनेछ । व्यापार भावमा शनिको गोचर ठेक्कापट्टा, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 

कन्या राशि हुनेहरूका लागी सूर्य सुख भावमा, बुध २१ गतेसम्म पराक्रम भावमा र २२ गतेबाट सुख भावमा, शुक्र १४ गतेसम्म सन्तान भावमा र १५ गतेबाट प्रतिस्पर्धा भावमा, बृहस्पति र शनि क्रमशः भाग्य भावमा र प्रतिस्पर्धा भावमा, मंगल आए भावमा, राहु व्यापार भावमा र  केतु राशिमा भावमा गोचर गरिरहेका छन् ।

सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । छाती सम्बन्धी तथा श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राशिमा केतुको गोचर र व्यापार भावमा राहुको गोचर प्रतिकुल हुनाले मन बिचलित हुने र जीवन साथीसँग मनमुटाब बढ्नेछ । साझेदारी व्यापारमा झैझगडा तथा प्रतिशोधपूर्ण व्यवहार हुनेछ ।

तर पनि शनि, वृहस्पति, बुध र शुक्रको अनुकूल गोचरका कारण राज्य संयन्त्रको नजिक जस्तै निजामती, फौजी तथा संस्थान र प्राइभेट कम्पनीहरूका काम गर्नेहरूका लागि समयले साथ दिनेछ । खेलाडी तथा पराक्रमी क्रियाकलापमा समय लगानी गर्नेहरूले प्रशस्त धन तथा सम्पत्ति सङ्ग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । ठेक्कापट्टा, कन्स्ट्रक्सन, निर्माण सामाग्री, औषधीजन्य सामान तथा अटोपार्टस्को व्यापारबाट मनग्गे लाभ लिन  सकिनेछ । शुक्रको शुभ प्रभावले घरजग्गा तथा तथा सवारी साधन प्राप्ति हुनेछ भने वंश वृद्धिको योग रहेको छ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ ।  शेयर बजार, बैक तथा वित्तीय क्षेत्रबाट लाभ लिन सकिनेछ ।  

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

तुला राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा, बुध २१ गतेसम्म धन भावमा र २२ गतेबाट पराक्रम भावमा, शुक्र १४ गतेसम्म सुख भावमा र १५ गतेबाट विद्या भावमा, बृहस्पति र शनि क्रमशः कष्ट भावमा र सन्तान भावमा, मंगल राज्य भावमा,राहु प्रतिस्पर्धा भावमा र  केतु खर्च भावमा गोचर गरिरहेका छन् ।

राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलाप भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । जीवन शैलीमा सुधार हुनुको साथै समयको महत्त्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरूलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लामो दूरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको गर्न सकिनेछ ।

तर पनि अष्टम भावमा गोचर गर्ने वृहस्पतिको प्रतिकुल प्रभावले ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । शनिको प्रभावले अध्ययनमा उतारचढाव आउनेछ । सन्तानसँग वैचारिक मतभेद हुनेछ । पेट, जण्डिस तथा कलेजोसँग सम्बन्धित रोगीहरूका लागी समय मध्यम रहेको छ ।  

वृहस्पतिको लागी बगलामुखी देवी तथा भगवतीको पूजा तथा आराधना गर्नुपर्दछ । शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको नकारात्मक फलबाट मुक्त भइनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

 वृश्चिक राशि हुनेहरूका लागी सूर्य धन भावमा, बुध २१ गतेसम्म राशिमा र २२ गतेबाट धन भावमा, शुक्र १४ गतेसम्म पराक्रम भावमा र १५ गतेबाट सुख भावमा, बृहस्पति र शनि क्रमशः व्यापार भावमा र सुख भावमा, मंगल भाग्य भावमा, राहु सन्तान भावमा र  केतु आए भावमा गोचर गरिरहेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरूलाई क्यास गर्न नसक्दा उपलब्धि हातबाट फुत्किनेछ । धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । अढैया शनिको प्रभाव महिनाभर नै रहने हुनाले जन्म कुण्डलीमा शनि कमजोर छ भने उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । राहुको प्रतिकुल प्रभावका कारण पेट सम्बन्धी समस्या आउने तथा सन्तानसँग टाढिनू पर्दा मन खिन्न हुनेछ । भाग्य भावमा मंगलको गोरचको कारण सवारी दुर्घटना, घाउ, चोटको योग बन्नेछ, ध्यान दिनुहोला ।

तर पनि वृहस्पति, शुक्र , बुध र केतुको अनुकूल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा विशेष उपलब्धि हासिल हुनेछ । होटल तथा रेस्टुरेन्टको क्षेत्रबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागि समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीमा सन्तोष जनक नाफा हुनेछ ।

मंगलको प्रतिकुल गोचरबाट बच्नको लागी गणेश भगवान्को पूजा तथा आराधना गर्नुपर्दछ । शनिको अढैया प्रभावबाट बच्नको लागी शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको नकारात्मक फलबाट मुक्त भइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धनु राशि हुनेहरूका लागी सूर्य राशिमा, बुध २१ गतेसम्म खर्च भावमा र २२ गतेबाट राशिमा, शुक्र १४ गतेसम्म धन भावमा र १५ गतेबाट पराक्रम भावमा, बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र पराक्रम भावमा, मंगल कष्ट भावमा, राहु सुख भावमा र  केतु राज्य भावमा गोचर गरिरहेका छन् ।

धनु राशि हुनेहरूका लागी खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कष्ट भावमा मंगलको प्रतिकुल गोचरका कारण कामहरू समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा विशेष गरी उक्त रक्तचाप, टाउको दुखाई, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । पेट सम्बन्धी समस्या नआउला भन्न सकिन्न । घरजग्गा सम्बन्धी तथा पैतृक सम्पत्तिमा विवाद हुनेछ । 

तर पनि बुध, शनि र शुक्रको अनुकूल प्रभावले ठेक्कापट्टा, प्राकृतिक स्रोत साधन, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री तथा टेक्निकल सामानको पार्टपुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । विदेशी सामानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ । परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय उत्तम रहेको छ । 

आफ्नो इष्टदेवको नियमित पूजापाठ गर्नाले र प्रत्येक बिहीबार बंगलामुखि देवीको दर्शन गर्नाले ग्रह गोचरको नकारात्मक फलबाट बच्न सकिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

मकर राशि हुनेहरूका लागी सूर्य खर्च भावमा, बुध २१ गतेसम्म आए भावमा र २२ गतेबाट खर्च भावमा, शुक्र १४ गतेसम्म राशिमा र १५ गतेबाट धन भावमा, वृहस्पति र शनि क्रमशः विद्या भावमा र धन भावमा, मंगल व्यापार भावमा, राहु पराक्रम  भावमा र  केतु भाग्य भावमा गोचर गरिरहेका छन् ।

समय मिश्रित रहेकोले खर्चालु यात्रा हुन सक्छ ध्यान दिनुहोला । कार्य क्षेत्रमा आलोचना सहितको जन समर्थन प्राप्त हुनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरूका लागी कठिनाइ तथा असजिलो परिस्थितिको सामना गर्नु पर्ने योग रहेको छ । आँखा, हड्डी तथा मुटु सम्बन्धी पुराना बिरामी हरूले ख्याल गर्नुहोला । आफन्त, घर परिवार तथा साथीभाइसँग सैद्धान्तिक विषयमा मतभेद बढ्नेछ भने मान्यजनहरूको सुझावलाई हुबहु लागु गरेर अगाडी बढे फाइदा हुने देखिन्छ । महिना भरिनै शनिको अन्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ ।  

तर पनि विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । शिक्षा तथा कामको लागि लामो दूरीको विदेश यात्राको तय हुनेछ । लेखन कला तथा  साहित्यको क्षेत्रमा समग्र लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । प्रयत्न गर्दा आम्दानी बढ्ने तथा लगानीका क्षेत्रहरू भेटिनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ । बिलासी वस्तुको प्रयोग गर्न पाइने तथा भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ । तरल पदार्थ तथा सौन्दर्यको सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ । 

यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कुम्भ राशि हुनेहरूका लागी सूर्य आए भावमा, बुध २१ गतेसम्म कर्म भावमा र २२ गतेबाट आए आए भावमा, शुक्र १४ गतेसम्म खर्च र १५ गतेबाट राशिमा, वृहस्पति र शनि क्रमशः सुख भावमा र राशिमा, मंगल प्रतिस्पर्धा भावमा, राहु धन  भावमा र  केतु कष्ट भावमा गोचर गरिरहेका छन् ।

धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने लामो दूरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पैतृक धन तथा भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ । विपरीत लिङ्ग तथा साथी सङ्गतले फाइदा हुने तथा बिलासी सामान प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । राजनीतिकर्मी तथा समाजसेवामा समय लगानी गर्नेहरूले राज्यबाट लाभ तथा सम्मान पाउने समय रहेको छ । नोकरीमा पदोन्नति तथा व्यापार व्यवसायमा बढोत्तरी हुने गतिलो सम्भावना रहेको छ । लामो समयदेखि थाती रहेका काम तथा मुद्दाहरू किनारा लाग्नेछन् । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरेर प्रशस्त धन तथा सम्पत्ति कमाउन सकिनेछ । घरजग्गा तथा  सवारी साधनको कारोबारबाट आम्दानी बढाउन सकिनेछ । शेयर बजारमा गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई स्वादिष्ट भोजन गर्ने अवसर जुर्नेछ । 

तर पनि शनिको मध्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । धन भावमा राहुको गोचर र कष्ट भावमा केतुको गोचर प्रतिकुल हुनेछ । धन सम्पत्ति फस्ने र दुर्घटना हुने योग रहेकोले ध्यान दिनुहोला ।

यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मीन राशि हुनेहरूका लागी सूर्य राज्य भावमा, बुध २१ गतेसम्म भाग्य भावमा र २२ गतेबाट राज्य भावमा, शुक्र १४ गतेसम्म आए भावमा र १५ गतेबाट खर्च भावमा, वृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा, मंगल विद्या भावमा, राहु राशिमा  भावमा र  केतु व्यापार भावमा गोचर गरिरहेका छन् । 

प्रशासनिक तथा सरकारी क्षेत्रमा तपाईँकै वर्चस्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरू समाजका पक्षमा हुनेछन् । योजनाहरू चुस्तरुपमा अगाडी बढ्नेछन् भने चुनौतीका पर्खालहरू आफै ढल्नेछन् । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाइने हुँदा मन प्रसन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरूले आफ्नो प्रतिस्पर्धी हरूलाई हराउन अलि बढी मेहनत गर्नुपर्नेछ । माया प्रेममा कहिले नजिक त कहिले टाढा हुने अवस्था रहे पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आए भावमा र खर्च भावमा गोचर गर्ने शुक्रले व्यापार व्यवसायमा मनग्गे नाफा कमाउन सकिनेछ भने विलासिताका सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ । गोचरमा बुधको प्रभाव राम्रो हुनाले लेखन कला तथा वाणीमा सुधार गर्दै उन्नतिका पाइला अगाडी बढाउन सकिनेछ ।

 शनिको आद्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । व्यापार भावमा केतुको प्रभावले व्यापारमा सामान्य मन्दी आउनेछ । श्रीमान् श्रीमती बिच घरायसी कुरा नमिल्दा सामान्य मनमुटाब  सिर्जना नहोला भन्न सकिन्न । यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित