भरत प्रधान
लिस्बन : पोर्चुगलमा संचालित घुम्ती सेवा शिविरबाट ३ हजारभन्दा बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट झन्डै ३ हजार ३ सय नेपालीले राहदानीलगायतका कागजात प्रमाणीकरणलसम्बन्धी (कन्सुलर) सेवा लिएको जनाइएको छ ।
घुम्ती सेवाबाट २ हजार ४ सय ५१ वटा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गरिएको टोलीले जनाएको छ । शिविरबाट ६ सय ७८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), २ सय २९ वटा अन्य कागजात प्रमाणीकरण र राहदानी वितरण गरी झन्डै ३३ सय सेवाग्राहीलाई सेवा प्रदान गरिएको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए ।
शिविरबाट ७७ हजार ३ सय ९० युरो अर्थात् १ करोड ९ लाख ११ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको राजदूत भट्टराईले बताए । राहदानीको पर्खाइमा रहेका र प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका पोर्चुगलवासी नेपालीको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको उनले बताए ।
‘दूतावासको साधन र स्रोतले भ्याएसम्म पोर्चुगलवासी नेपालीलाई विशेष प्राथमिकता दिएर सेवा दिन प्रयत्नशील छौं,’ राजदूत भट्टराईले भने, ‘यस वर्ष २०२४ मा मात्रै पोर्चुगलमा ४ पटक घुम्ती शिविर संचालन गर्यौं । पेरिसबाटै पनि छिटोछरितो सेवा दिन लागिपरेका छौं ।’ आगामी दिनमा पनि आवश्यकताअनुसार पोर्चुगलमा टोली खटाएर सेवा प्रवाह गरिने उनले बताए ।
१० दिनसम्म संचालन भएको शिविरबाट राहदानी वितरण र कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरिएको थियोे । घुम्ती सेवामा दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, तृतीय सचिव दिपेन्द्रप्रसाद साह र दूतावासका स्थानीय कर्मचारी खटिएका थिए । टोलीले डिसेम्बर १२ देखि २१ तारिकसम्म लिस्बनबाट कन्सुलर सेवा प्रदान गरेको थियो ।
घुम्ती सेवालाई यहाँ क्रियाशील नेपाली संघ संस्थाले समन्वय र सहजीकरण गरेका थिए । घुम्ती शिविरमार्फत लिस्बनबाटै सेवा पाउँदा राहदानीको पर्खाइमा रहेका र प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका नेपालीलाई राहत मिलेको छ ।
FOUNDER/CHIEF EDITOR :